वीरगञ्ज। वीरगञ्जका सुनचाँदी व्यवसायमा आवद्ध संजय सर्राफ बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। विभिन्न व्यवसायिक प्रयोजनका लागि लिएको रकम फिर्ता गर्न असफल भइ उनले रकम नभएको खाताको चेक दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
पर्सा प्रहरीले दिएको जानकारी अनुसार, वीरगञ्ज महानगरपालिका वडा नं ६ स्थित महावीर गल्लीमा रहेको बालाजी ज्वेलर्सका सञ्चालक रामरतन सर्राफका छोरा संजय सर्राफले करोडौं रुपैयाँको कारोबार गरेका थिए। तर, लामो समयसम्म उक्त रकम फिर्ता नगरी, झुक्याएर रकम नभएको बैंक खाताको चेक दिएका थिए।
एक पीडित व्यवसायीका अनुसार, जब समयमा रकम खातामा जम्मा नभएर चेक बाउन्स भयो, त्यसपछि उजुरी दिएर संजय सर्राफलाई पक्राउ गरिएको हो। सर्राफ हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा १२–१५ दिनदेखि राखिएका छन्।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (प्रनाउ) दीपक भारतीले यस विषयमा पुष्टि गर्दै भने, “संजय सर्राफलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो, र कति रकमको लेनदेन भएको हो भन्ने विषयमा हाल अनुसन्धान भइरहेको छ।”
अहिले पर्सा प्रहरीले उक्त घटनाको थप अनुसन्धान गरिरहेको छ। यात्रा डेली