Loktantra Khabar National Weekly
Ad

फर्जी सहकारी खडा गरी करोडौँ अपचलन

लोकतन्त्र खबर
१४ आश्विन २०८१

सिरहाको कल्याणपुर नगरपालिकामा सञ्चालित विभिन्न फर्जी सहकारीको कार्यालयमा प्रहरीले छापा मारेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी टोलीले आइतबार फर्जी सहकारीको कार्यालयमा छापा मारेको छ ।

कल्याणपुरको एक घरमा राजाराम सव मनि ट्रान्सफर, माँ जानकी कृषि सहकारी संस्था र माँ जानकी ग्लोबल बचत तथा ऋण सहकारी संस्था सञ्चालित छन् । यस क्षेत्रका दर्जनभन्दा बढी गाउँका करिब दुई सय बचतकर्ताको करिब ६ करोड रुपैयाँभन्दा बढी बचत अपचलन भएको पाइएको छ । सो सहकारीमध्ये माँ जानकी ग्लोबल बचत तथा ऋण सहकारी संस्था नगरपालिकामा दर्ता रहे पनि नवीकरण नरहेको तथा अधिकांश कारोबार माँ जानकी कृषि सहकारी संस्थाबाट भएको र सो सहकारी नै फर्जी रहेको रहस्य पाइएको छ ।

फर्जी र बिना नवीकरणको सहकारीमार्फत म्यानपावर व्यावसायी बुवा बिल्टु साहको अगुवाइमा छोरा राजाराम साहले सयौं विपन्न र निरक्षरहरुलाई ठगी गरेको भन्दै पीडितहरुले दिएको जाहेरीको आधारमा प्रहरीले छापामारी गरिएको छ । आइतबार प्रहरी निरीक्षक धिरज पटेलको कमाण्डमा गएको प्रहरी टोलीले सहकारीको कार्यालयबाट सम्बन्धित कागजातहरु समेत नियन्त्रणमा लिएको छ ।

हकारीको कार्यालयबाट बरामद भएका कागजात र पीडितहरुले उपलब्ध गराएको प्रमाणहरुको अध्ययन तथा घटना अनुसन्धान भइरहेको मिर्चैयाका प्रहरीका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले बताए ।

प्रतिक्रिया दिनुहोस्: