पछिल्लो समय मानवीयता हराउँदै गएको छ । महिला आफ्नै घरपरिवार, नातागोता, इष्टमित्रबाट सुरक्षित छैनन् ।
भेदभाव, दुर्व्यवहार, घरेलु हिंसाका घटना बढ्दै गएका छन् । मानव यान्त्रिक उपकरणमा लिप्त भएको छ ।
आर्थिक अभाव, सामाजिक लाञ्छना, सामाजिक कुरीतिलगायतका विविध कारणले पनि मानसिक समस्या बढेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा आत्महत्या हुने मुलुकमा नेपाल सातौं स्थानमा छ । विश्वभर प्रतिवर्ष ७ लाख व्यक्तिले आत्महत्या गर्छन्, त्यसमध्ये ७७ प्रतिशत मध्यम आय भएका मुलुकका छन् ।
आत्महत्या गर्ने प्रत्येक ४ जनामा एक जनालाई मानसिक स्वास्थ्य समस्या भएको हुन्छ ।
नेपाल प्रहरीका अनुसार आत्महत्या गर्नेमा पुरुष बढी छन् । एक दिनमा कम्तीमा १६ जनाले आत्महत्या गर्ने तथ्यांक छ ।
आत्महत्या गर्नेमा जातिगत आधारमा सबैभन्दा बढी आदिवासी जनजाति ३९ प्रतिशत, ब्राह्मण–क्षत्रीे ३१.१, दलित २०.५, मधेशी समुदायका ९.३ र पिछडिएको समुदाय शून्य दशमलव १ प्रतिशत छन् ।
प्रदेशगत आधारमा २०७८/७९ मा कोशीमा सबैभन्दा धेरै १ हजार ४ सय ८७ जनाले आत्महत्या गरेका थिए । यस्तै, वाग्मतीमा १ हजार ४ सय २७, लुम्बिनीमा १ हजार २ सय ९७ जना, सुदूरपश्चिममा ५ सय ७९ र कर्णालीमा २ सय ९० जनाले आत्महत्या गरेको तथ्यांक छ ।
२०८०/८१ मा कोशीमा १ हजार ५ सय ४२ जनाले आत्महत्या गरेका छन्, जुन सबैभन्दा धेरै हो ।
आत्महत्याबाट बढी प्रभावित विपन्न र मध्यम वर्ग ८५ प्रतिशत छन् । आत्महत्याको प्रयास गरेका व्यक्तिलाई समाजमा घृणा र बेवास्ता गर्नेको संख्या २८ प्रतिशत छ ।
के कारणले आत्महत्याको प्रयास भयो, कारणको जरासम्म नपुगी समाधान गर्नुको साटो उल्टै थप मानसिक पीडा वा चोट दिने काम भइरहेको छ । समाजको नकारात्मक हेराइले गर्दा आत्महत्या गर्न थप टेवा पुर्याउँछ ।
मानसिक तनाव, गरिबी, बेरोजगारी वा आर्थिक भार, प्रेममा असफलता, घरेलु हिंसा, विभेद, दुर्व्यसनी, पारिवारिक द्वन्द्व नै आत्महत्याका मुख्य कारण रहेका छन् ।
आत्महत्याको जोखिममा रहेका वर्गको पहिचान गरी आवश्यकताका आधारमा सरल निःशुल्क स्वास्थ्य परामर्श र सकारात्मक मनोभावनाको विकास गर्न जरुरी छ । वडा तहसम्म मनोचिकित्सक, मनोपरामर्शदाताको प्रोफाइल तयार गरी मानसिक स्वास्थ्य समस्या तथा आत्महत्याको न्यूनीकरणका लागि सरोकारवालालक्षित समुदायसँग अन्तरक्रिया, गोष्ठी, कार्यशाला सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
सचेतनामूलक र नियन्त्रणमुखी कार्यक्रम माध्यमिक तहका विद्यालयमा सञ्चालन गर्नुपर्छ । कार्यालयमा तनाव व्यवस्थापन र बजारमा विषादीहरूको बिक्रीवितरणलाई नियन्त्रित गर्नु आवश्यक छ । घरदैलो कार्यक्रम, मनोरोगीको पहिचान, उपचार तथा परामर्श उत्तिकै जरुरी छ ।
आत्महत्या रोकथामका लागि राज्यबाटै राष्ट्रिय नीति, योजना, सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ । विद्यालय तहदेखि विश्वविद्यालयसम्म आत्महत्या न्यूनीकरणका लागि पाठ्यक्रम समावेश गरिनु अर्को पक्ष हो ।
यस्तै, आत्महत्या न्यूनीकरणका लागि पालिकाहरूले स्वास्थ्य सेवा प्रदायक मनोचिकित्सक परामर्शदाता, शैक्षिक संस्था, सुरक्षा निकाय र नागरिक समाजसँग सहकार्य गर्नुपर्ने आजको टड्कारो आवश्यकता हो । कान्तिपुर