बैंक तथा इ-वालेट कर्मचारी हुँ भन्दै ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
फेसबुक, ह्वाट्सएप, इमो, भाइबर जस्ता एपको प्रयोग गरी वालेट लगायत विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक तथा इ-वालेटको खातामा पहुँच पुर्याएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
२२ जना पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका छन्।
पक्राउ पर्नेमा रौतहट माधवनारायण नगरपालिका-२ घर भई काठमाडौं कोटेश्वर बस्ने २१ वर्षीय शूभम साह र रौतहट गौर नगरपालिका-३ घर भई कोटेश्वर बस्ने २३ वर्षीय सत्यमकुमार सहनी छन्।
उनीहरूले आफूहरू इ-वालेट तथा बैंकका कर्मचारी हौं भनेर पीडितबाट ओटिपी समेत मागेर मोबाइल बैंकिङमा पहुँच पुर्याएका थिए।
त्यसरी पहुँच पुर्याएर पसल, रेष्टुरेन्ट, लज, डान्सबार लगायतको मोबाइल बैंकिङमा पीडितको मोबाइल बैंकिङबाट भुक्तानी गर्ने गरेको खुलेको हो।
कतिपयलाई शुभमले अनलाइन गेम ९० जनालाई शेयर गरेबापत १५ हजार रुपैयाँ पाइने भनेर फेस स्क्यान गर्ने बहानामा फोटो खिच्ने र सक्कल नागरिकताको फोटो समेत खिचेर मोबाइल इसेवा खाता खोलेको खुलेको छ।
फेसबुकको मार्केट प्लेसमा सामान बिक्री गर्ने भनी आकर्षक तस्बिरहरू राखेर समेत ठगेको खुलेको छ। अनलाइनमार्फत नै रकम माग गरी सामान उपलब्ध नगराइ पीडितलाई ब्लक गर्ने गरेको पनि अनुसन्धानमा देखिएको छ।
उनीहरूसँग १३ जनाको इ-सेवा वालेट युजर आइडी र पासवर्ड समेत प्रहरीले फेला पारेको छ।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। थप पीडितहरू प्रहरीको सम्पर्कमा आउनेक्रम रहेको पनि प्रहरीले जनाएको छ। सेतोपाटी