Loktantra Khabar National Weekly
Ad

लेबनानमा हिजबुल्लाहका शीर्ष कमान्डर मारिएको इजरायलको दाबी

लोकतन्त्र खबर
१६ श्रावण २०८१

लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा गरिएको आक्रमणमा चरमपन्थी संगठन हिजबुल्लाहका शीर्ष कमान्डर मारिएको इजरायलले दाबी गरेको छ । लेबनानी सशस्त्र बलको गढ रहेको दहियाहमा भएको आक्रमणमा परी कम्तीमा एक जनाको मृत्यु भएको तथा कैयौँ घाइते भएको बताइएको हो ।

इजरायली सेनाले गुप्तचर सूचनाको आधारमा हिजबुल्लाहका शीर्ष कमान्डर फौद शुकरमाथि लडाकु विमानबाट आक्रमण गरेको बताएको छ । इजरायली अधिकारीहरूले इजरायली नियन्त्रित गोलान हाइट्समा शनिबार भएको आक्रमणमा फौद जिम्मेवार रहेको आरोप लगाएका छन्।

शनिबार भएको सो आक्रमणमा १२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश बालबालिका थिए । हिजबुल्लाहले इजरायलको दाबीको खण्डन गरेको थियो ।

लेबनानी प्रधानमन्त्री नजिब मिकातीले इजरायलको यो आक्रमणको निन्दा गरेका छन् । उनले यो अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन भएको भन्दै यसलाई आपराधिक कार्य भनेका छन् । आक्रमणपछि इजरायलका रक्षामन्त्री योभ गालान्टले सामाजिक सञ्जालमा हिजबुल्लाहले सबै सीमा नाघेको बताए ।

यता आक्रमणमा फौदको मृत्यु भएको हो वा होइन भन्ने अझै स्पष्ट भने भएको छैन । बेरुतका सुरक्षा स्रोतहरूका अनुसार आक्रमणको समयमा फौद भवनमा उपस्थित थिएनन्। यसबारे हिजबुल्लाहले अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन। यात्रा डेली

 

 

प्रतिक्रिया दिनुहोस्: