
सिरहाबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेका छन् ।
सिरहा प्रहरीले आइतबार दिउँसो धनगढीमाई नगरपालिका–८ स्थित कसहाबाट तीन युवकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–७ का २२ वर्षीय अंकेश महतो, वडा नं. ८ का २४ वर्षीय लालु राय आमात, वडा नं. ९ का २१ वर्षीय पवन साह सुनवार रहेको जनाइएको छ ।
उनीहरू बस्दै आएको कोठाबाट ४.९० मिलिग्राम ब्राउन सुगर र २० ग्राम गाँजा बरामद भएको थियो । त्यस्तै उनीहरूले प्रयोग गर्ने गरेको एक थान मोटरसाइकल र तीन थान मोबाइल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सिरहा प्रहरीका प्रहरी निरीक्षक दीपक कुमार सिंहका अनुसार उनीहरू कोठामा लागूऔषध राखेर बिक्री वितरण गर्दै आएको सूचना प्राप्त भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: