Loktantra Khabar National Weekly
Ad

वीरगञ्ज: सुन तस्करीको हब बन्दै, रक्सौलमा २ किलो सुनसहित ४ जना पक्राउ

लोकतन्त्र खबर
३१ असार २०८१

वीरगञ्ज । नेपाल-भारतको मुख्य नाका वीरगञ्ज फेरि सुन तस्करीको हब बन्दै गएको रहस्य उदाङ्गो भएको छ। गैरकानुनी तवरले तस्करहरूले नेपाललाई प्रयोग गर्दै सुन तस्करी गर्नु नयाँ कुरा होइन, तर हालसालै सुन तस्करहरूले वीरगञ्जलाई भारतीय विभिन्न सहरहरूमा सुन तस्करी गर्ने ट्रान्जिट पोइन्ट बनाएका छन्।

भारतको राजस्व खुफिया निर्देशनालय (DRI) पटना शाखाले शनिबार २ किलो अवैध सुनसहित ४ जनालाई नियन्त्रणमा लिएको छ। DRI का अनुसार, वीरगञ्जको मुख्य भन्सार हुँदै रक्सौल प्रवेश गर्ने UP 50 CS 0050 नम्बरको स्कार्पियो गाडीबाट २ किलो सुन बरामद गरिएको हो। उक्त गाडीबाट १ महिला र ३ पुरुषलाई पक्राउ गरिएको जानकारी प्राप्त भएको छ।

विशेष सूचनाको आधारमा पटना शाखाबाट खटिएको DRI टोलीले उक्त गाडीलाई रोकी खानतलासी गर्दा सुन बरामद भएको हो। अनुसन्धानका क्रममा तस्करहरूले दुबईबाट काठमाडौं हुँदै वीरगञ्जको नाका पार गरेर रक्सौल, बिहारको बाटो प्रयोग गरी दिल्लीसम्म सुन तस्करीको नेटवर्क फैलाएको जानकारी प्राप्त भएको छ। विशेष सुराकीका आधारमा DRI ले उक्त सुन तस्करीको प्रयास विफल पार्दै तस्करहरूलाई नियन्त्रणमा लिएको हो।

यो घटनाले वीरगञ्जलाई सुन तस्करीको केन्द्रबिन्दु बनाएको पुष्टि गर्दै, सुरक्षाकर्मीहरूलाई थप सतर्क रहन आवश्यक भएको देखाएको छ। यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: