इसीसी टी–२० विश्वकप अन्तर्गत सुपर एटको आफ्नो पहिलो खेलमा साविक विजेता इङ्ल्यान्डले आयोजक वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ।
सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इङ्ल्यान्डले १७ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो।
इङ्ल्यान्डका लागि फिल साल्टले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतले अविजित ८७ रनको योगदान गरे। यसैगरी जोनी बेयरिस्टोले अविजित ४८, कप्तान जोस बट्लरले २५ र मोइन अलीले १३ रन बनाए।
साल्टले तेस्रो विकेटका लागि बेयरिस्टोसँग अविजित ९७ र पहिलो विकेटका लागि बट्लरसँग ६७ रनको साझेदारी गरे। वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र रोस्टन चेजले समान एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८० रनको योगफल तयार पार्यो।
वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, निकोलस पुरन र कप्तान रोभमन पावेलले समान ३६ शेर्फेन रदरफोर्डले र ब्रन्डन किंगले २३ रन बनाए।
दोस्रो विकेटका लागि चार्ल्स र पुरनले ५४ रनको साझेदारी गरे। इङ्ल्यान्डका लागि जोफ्रा आर्चर, आदिल राशिद, मोइन अली र लियम लिभिङ्गस्टोनले समान एक विकेट लिए।
जितसँगै समूह २ मा रहेको इङ्ल्यान्ड २ अंकसहित शीर्ष स्थानमा रहेको छ। यही समूहमा रहेको दक्षिण अफ्रिका समान अंकसहित दोस्रो स्थानमा छ। पराजित वेस्ट इन्डिज र अमेरिका अंकविहीन छन्।
प्रतियोगिता अन्तरगत आज साँझ समूह १ का भारत र अफगानिस्तान आमने सामने हुनेछन्। यात्रा डेली

