काठमाडौं जेठ ३१, इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ । आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन ।
इजरायलले मंगलबार लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए । उनी इजरायल र हिजबुल्लाहबीच भएको आक्रमणबाट मारिएका हालसम्मका सबैभन्दा उच्च कमाण्डर भएको बीबीसीले जनाएको छ । त्यिसको प्रतिउत्तर स्वरुप इजरायलमाथि आक्रमण गरेको हिजबुल्लाहले जनाएको छ ।
हिजबुल्लाहले इजरायलका सैन्य इलाका र सैन्य बाहन बनाउने फ्याक्ट्रीलाई निशाना बनाइएको जनाएको छ । आक्रमणका कारण इजरायलका विभिन्न स्थानमा आगलागी भएको छ । आकाशमा अग्नि नियन्त्रक विमानहरु उडेको देखिन्छ ।
बीबीसीका अनुसार लेबनानको भूमिबाट इजरायलमा बुधबार रकेटको वर्षा भएको थियो । यो आक्रमणलाई गत वर्ष अक्टुबरदेखि इजरायल र हमासबीच गाजामा युद्ध सुरु भएपछि लेबनानको तर्फबाट इजरायलमा भएको यो सबैभन्दा ठूलो आक्रमण भनिएको छ । लेबनानले आक्रमण गरेपछि खतराको संकेत स्वरुप साइरन बजाइएको थियो ।

