Loktantra Khabar National Weekly
Ad

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत नलिने

लोकतन्त्र खबर
२३ जेष्ठ २०८१

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत नलिने भएका छन्।

आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखिएपछि यादवले प्रदेशसभा बैठक सार्ने तयारी गरेका हुन्।

जसपा नेपालका मधेस प्रदेशका सांसद मनिष सुमनले प्रदेश सभाको बैठक जेठ २८ गतेको लागि सार्ने तयारी भइरहेको जानकारी दिए।

‘त्यही विषयमा हामी अहिले जसपा संसदीय दलको बैठक बसिरहेका छौँ,’ सुमनले नेपालखबरसँग भने, ‘म अहिले पनि बैठकमै छु। यही जेठ २८ गते विश्वासको मत लिनेगरी आजको बैठक स्थगित गर्ने निर्णय हुँदैछ।’

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले समर्थन फिर्ता लिएपछि यादवले आज मधेस प्रदेस सभाबाट पाँचौँपटक विश्वासको मत लिने तयारी गरेका थिए।

सरकारका रहेका कुनै पनि दलले समर्थन फिर्ता लिएको अवस्थामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि सहयात्री दलले यादवको साथ छाडेपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो।

२०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले यसअघि २०७९ माघ ४ गते, २०८० जेठ ३० गते, २०८१ फागुन ६ गते र २०८१ वैशाख ४ गते विश्वासको मत लिएका थिए।

तर यसपटक उनलाई जसपाबाहेक नेपाली कांग्रेसले मात्र विश्वासको मत दिने सम्भावना छ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा नयाँ सरकार गठननको लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेश सभामा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन्। तर, मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कि नदिने लोसपाले अझै निर्णय गर्न सकेको छैन।

त्यसैगरी मधेस प्रदेस सभामा नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकरएक प्रदेश सांसद छन्। उनीहरुले पनि कता मतदान गर्छन् खुलेको छैन।

एमाले, माओवादी केन्द्र, जनमतसहितको विपक्षी गठबन्धले जनमत पार्टीलाई मधेसको मुख्यमन्त्री दिने सहमति गरिसकेका छन्। सोहीअनुसार जनमत पार्टीको तर्फबाट सप्तरीबाट निर्वाचित महेशप्रसाद यादव मधेस प्रदेशको अबका मुख्यमन्त्री हुने चर्चा छ।  नेपालखबर

 

प्रतिक्रिया दिनुहोस्: