
शरीरमा हार्मोनको उत्पादन आवश्यकताभन्दा धेरै वा थोरै भएको अवस्थालाई हार्मोनल असन्तुलन अर्थात् हार्मोनल गडबडी भनिन्छ । इन्डोक्राइन ग्रन्थीहरूद्वारा उत्पादित एक रसायन हो हार्मोन । यसमा पिट्युटरी ग्रन्थी, थाइराइड र पाराथाइराइड ग्रन्थी, प्यान्क्रियाज ग्रन्थी, एड्रिनल ग्रन्थी, हाइपोथाइलामस ग्रन्थीहरु पर्छन् ।
यी सबै ग्रन्थीबाट उत्पादन भएको हार्मोन रगतको माध्यमबाट शरीरका अन्य भागमा पुग्छ र यसले शरीरलाई विभिन्न कार्य गर्ने क्रममा आदेश दिन्छ ।
हार्मोनले शरीरमा हुने प्रक्रियाहरु अर्थात् मेटाबोलिजम बलियो बनाउन मद्दत गर्छ । मेटाबोलिजमले शरीरमा कोषिका वृद्धि गर्ने, खानेकुरालाई शक्तिमा रूपान्तरण गर्ने र त्यही शक्तिलाई प्रयोग गरेर कोषिकालाई जीवित राख्ने काम गर्छ । साथै रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, मानिसको शारीरिक वृद्धि विकास, रक्तचाप, प्रजनन् क्षमता, मस्तिष्क वृद्धि विकासमा यसको महत्वपूर्ण भूमिका हुन्छ ।
महिलामा हार्मोनको गडबडी भएमा मुडमा परिवर्तन आउने, झाडापखाला हुने, महिनावारी गडबडी हुने, प्रजनन् क्षमतामा ह्रास आउने, यौन जीवनमा समस्या उत्पन्न हुने, निद्रा नलाग्ने, अचानक तौल घटबढ हुने, अचानक हड्डीहरु भाँच्चिने लगायत समस्या हुनसक्छ । प्रायजसो एस्ट्रोजेन तथा प्रोजेस्टेरोन महिलाको डिम्बाशयबाट उत्पादन हुने हार्मोनको गडबडी हुँदा यस्तो समस्या देखिन्छ ।
पुरुषको हकमा पुरुषहरुमा रहेको टेस्टोस्टेरोन हार्मोनको गडबडीका कारण पुरुषमा नि:सन्तानपन, यौन दुर्बलता हुने, मांसपेशी कमजोरी हुने, कपाल पातलो हुने, छाती दुख्ने, यौन इच्छामा कमी लगायत समस्या देखिने गर्छ । डन्डीफोर आउने र अण्डाकोषमा स-साना पानीको फोका आएको कारणले तौल बढ्ने हुन्छ । यसलाई पोलिसिस्टिक ओभरियन सिन्ड्रोम (पीसीओएस) पनि भनिन्छ । यो पनि सेक्स हार्मोनका कारण सानै उमेरमा देखिने एक समस्या हो ।
थाइराइड हार्मोन कमी भएमा तौल बढ्छ भने हार्मोनको उत्पादन वृद्धि भएमा तौल घट्छ । त्यस्तै थाइराइडले मेटाबोलिज्ममा सहयोग गर्छ भने पाराथाइराइडमा क्याल्सियमलाई सन्तुलित मात्रामा प्रयोग गर्ने काम गर्छ । हार्मोन असन्तुलनका कारण मधुमेह, थाइराइडको समस्या हुनसक्छ ।
यी कारणले हुनसक्छ हार्मोन असन्तुलन
क्रोनिक तनाव
धेरै लामो समयदेखि तनावमा छ भने पनि हार्मोन गडबडीको समस्या हुनसक्छ । तनावको कारण एड्रिनल ग्रन्थीबाट कार्टिसोल र एड्रेनल उत्पन्न हुन्छ । यसले निद्रा नलाग्ने, महिनावारीमा अनियमित हुने र तौल बढ्ने समस्या हुनसक्छ ।
यसको उत्पादन धेरै वा कम भएमा रक्तचाप घटबढ हुने गर्छ ।
पौष्टिक आहारको कमी
शरीरमा पोषक तत्वको कमीले हार्मोन असन्तुलन हुनसक्छ । किनभने यसको कमीले मेटाबोलिज्ममा ह्रास आउने र क्याल्सियमको कमीले हड्डी कमजोर हुनेजस्ता समस्या हुन्छ । त्यस्तै हार्मोन असन्तुलन हुनुमा दैनिक फास्टफुड र जंकफुडको अत्यधिक सेवन पनि एक हो । किनभने यसमा पोषक तत्वको कमी हुन्छ । अत्यधिक मात्रामा चिल्लो, चिनी, नुन, प्रशोधित कार्बोहाइड्रेट हुन्छ, जसले हार्मोनलाई असर गर्न सक्छ ।
औषधिको कारण
चिकित्सकको परामर्शबिना आफूखुसी औषधिको सेवन गर्नाले पनि हार्मोन असन्तुलन हुनसक्छ । जस्तै- हड्डी दुख्ने समस्या हुने बेलामा दुखाइ कम गर्ने औषधि दिइन्छ । त्यसले स्टेरोइड हार्मोनलाई गडबडी गर्छ । त्यही औषधि बिरामीले चिकित्कसकलाई जाँच नगराई बारम्बार सेवन गरेमा शरीरमा हार्मोन गडबडी हुन्छ ।
वंशाणुगत
कतिपय अवस्थामा वंशाणुगत कारणले पनि हार्मोन असन्तुलन हुनसक्छ । जस्तै- कसैको टेस्टोस्टेरोन हार्मोन उत्पादन कम हुने वा नहुने, एस्ट्रोजेन तथा प्रोजेस्टेरोन उत्पादनमा कम हुने वा हुँदै नहुने, प्यान्क्रियाज ग्रन्थीबाट इन्सुलिनको उत्पादन कम हुने वा उत्पादन नहुने हुनसक्छ ।
गर्भनिरोधक चक्की
महिलाले सेवन गर्ने गर्भनिरोधक चक्कीले हार्मोन असन्तुलन हुनसक्छ । यसमा एस्ट्रोजेन तथा प्रोजेस्टेरोन उत्पादनलाई रोक्ने काम गर्छ ।
यसबाहेक महिनावारी हुने बेला, गर्भावस्थामा, ब्रेसफिडिङमा, प्रि-मेनोपज र मेनोपज हुने बेलामा हार्मोनको असन्तुलन हुनसक्छ । अचानक तौल घटबड भएमा, रक्तचाप हुने हुँदा पनि यो समस्या आउनसक्छ । अनलाइन खबर