Loktantra Khabar National Weekly
Ad

भारतमा गेम जोनमा आगो लाग्दा १२ बालबालिकासहित २८ जनाको मृत्यु

लोकतन्त्र खबर
१३ जेष्ठ २०८१

काठमाडौं  जेठ १३, भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ ।

शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार शवहरु डढेकाले मृतक पहिचान गर्न सकिने खालका छैनन् । ती शव पहिचानका लागि डीएनए टेस्ट गराउने तयारी छ ।

प्रत्यक्षदर्शीका अनुसार गर्मी बिदा र सप्ताहान्तका कारण मनोरञ्जनका लागि थुप्रै बालबालिका र उनीहरुका अभिभावक थिए । त्यहाँ केही स्थानमा मर्मत र स्तरोन्नतीको काम भइरहेको थियो । त्यसैले प्लाई र काठका टुक्रा यत्रतत्र छरिएका थिए । त्यही बेला एक्कासी आगो देखिएको थियो । यद्यपि आगलागीको कारण खुलेको छैन ।

गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले घटनाको जाँच गर्न विशेष अनुसन्धान टोली गठन गरिएको जनाएका छन् । टीआरपी गेमजोनका म्यानेजरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार त्यहाँ आगो निभाउने उपकरण पनि नराखिएकाले ठूलो क्षति भएको हो । यो घटनापछि गुजरात सरकारले आगो निभाउने उपकरण नराखेका राज्यभरका सबै गेमजोन बन्द गर्न निर्देशन दिएको छ ।

घटनापछि राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल लगायतले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: