Loktantra Khabar National Weekly
Ad

हत्या आशंकामा खनेर निकालियो गाडिसकेको शव

लोकतन्त्र खबर
३ जेष्ठ २०८१

रूपन्देहीको मर्चवारमा मृत्यु भएको भन्दै परिवारले अन्त्येष्टि गरिसकेको एक महिलाको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट खनेर निकालेको छ।

रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ७ भंगहिया बस्ने साहिदा खातुनको मृत्यु शंकास्पद भएको भन्दै मृतकका दाजुले प्रहरीमा जाहेरी दिएपछि रूपन्देही प्रहरीले फरेन्सिक विज्ञको सहयोगमा कब्रस्थानबाट खनेको जनाएको छ।

सम्मरीमाई गाउँपालिका वडा नं २ मझगावा बस्ने मृतकका दाजु मोहमद रफिक मुसलमानले आफ्नी बहिनीको मृत्यु परिवारको यातनाका कारण भएको भन्दै जेठ २ गते रूपन्देही प्रहरीमा निवेदन दिएका थिए।

उनले प्रहरीमा दिएको निवेदनमा आफ्नी बहिनी साहिदा खातुनलाई कोटहीमाई ७ भंगहिया बस्ने उनका श्रीमान जलालुदिन मुसलमानले विभिन्न तरिकाले यातना, दुःख दिँदै आएकोमा वैशाख २७ गते  रहस्यमय तरिकाले मृत्यु भएको उल्लेख गरेका छन्।

रफिकले मृतकका श्रीमान र उनका परिवारले माइती पक्षलाई समेत जानकारी नदिई  मुस्लिम परम्परा अनुसार सम्मरीमाई ७ भंगैयामा रहेको कव्रस्तानमा लगि सदगद गरेकोले आफूहरूलाई शंका लागेको उल्लेख गरेका छन्।

बहिनीको मृत्यु कालगतिले नभई घर पक्षका भिनाजू तथा परिवारले हत्या गरेको र  उक्त शव उत्खनन्, परीक्षण समेत गरी अनुसन्धान तथा कार्बाही गरी पाऊँ भनी निवेदन दिएपछि उत्खनन् गरिएको रूपन्देही प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरका अनुसार बुधबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीको प्रहरी टोलीले लुम्बिनी प्रादेशिक अस्पतालबाट  फरेन्सिक चिकित्सक डा.विप्लव मानन्धरको अनुगमन र निगरानीमा शव गाडेको स्थानबाट निकालिएको थियो।

उत्खनन् गरिएको शव लुम्बिनी प्रादेशिक अस्पतालमा लगि पोष्टमर्टम गरी परिवारलाई बुझाइएको र घटनाका विषयमा अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: