Loktantra Khabar National Weekly
Ad

रूखमा बाँधेर मानिस जलाएको घटना अनुसन्धानमा खटियो सिआइबी

लोकतन्त्र खबर
२ जेष्ठ २०८१

रूखमा बाँधेर मानिस जलाएको घटना अनुसन्‍धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको छ।

गत शुक्रबार बिहान साढे ८ बजे काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ जिरोकिलोस्थित बिराजे खोल्चा वनमा एक पुरूष मृत फेला परेका थिए। दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पाका ५४ वर्षीय विष्णुप्रसाद सुवेदीको शव फेला परेको थियो।

घटना शंकास्पद भएसँगै सिआइबीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्राविधिक विश्लेषणका लागि टोली खटिएको डिएसपी राजकुमार श्रेष्ठले बताए।

सिआइबीको टोली बोधिचित्त मालाको घटनामा अनुसन्धान गर्न यसअघि नै काभ्रेमा थियो। सोही टोलीले यसमा थप सहयोग गरेको हो।

मृतक सुवेदीको पहिचान मंगलबार मात्रै खुलेको थियो। उनका छोराले दाँतमार्फत् सनाखत गरेसँगै प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

रूखमा बाँधेर आगो लगाएको अवस्थामा फेला परेका सुवेदी ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ टिकाथलीस्थित घरबाट निस्किएका थिए।

उनले घरबाट फोन नलिई हिँडेका थिए। त्यसपछि उनले काभ्रे पुगेर बाटो हिँडिरहेका बटुवाको फोन लिएर घरमा सम्पर्क गरेको डिएसपी श्रेष्‍ठले बताए।

‘बटुवाको फोन लिएर सम्पर्क गरेका रहेछन्,’ उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ।’

तर उनी गत शुक्रबार अर्थात २८ गते मृत फेला परेका थिए। मुख र छातीमा तार लगाएर उनलाई रूखमा बाँधिएको थियो।

मृतकका छोरा सुमनले बुवा सम्पर्कबिहीन भएको भन्दै वैशाख २४ गते काभ्रेमा निवेदन दिएका थिए। मंगलबार सुमनले काभ्रे पुगेर बुवाको सनाखत गरेका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: