Loktantra Khabar National Weekly
Ad

बुटवलका बस्ती डुबानमा

लोकतन्त्र खबर
३० बैशाख २०८१

शनिबार रातीदेखिको वर्षाले बुटवलका  मुख्य बजार अमरपथ सहित विभिन्न क्षेत्र डुबानमा परेको छ।

बुटवलको अमरपथसँगै पश्चिम नेपाल बस व्यवसायी प्रालि, रुपन्देही उद्योग संघ र राष्ट्रिय समाचार समिति कार्यालय पूरै डुबानमा परेका छन्।

बुटवलको माथिल्लो भागबाट जम्मा भएको पानी बग्ने नाली र खोल्सीहरु अतिक्रमण गरी निर्माण गरिएका संरचना र नालीमा फालिएका फोहोरका कारण पानीको वहाब रोकिएर बस्ती डुबानमा परेको स्थानीयको भनाइ छ।

पछिल्ला केही वर्ष यता स्थानीयले नाली र खोल्सी अतिक्रमण गर्दै जाँदा सानो वर्षाले पनि बस्ती डुबान हुने गरेको छ। बुटवलको लक्ष्मीनगर, ज्योतीनगर, गोलपार्क क्षेत्रको पानी बग्ने खोल्सी अतिक्रमणले नासिएका छन्।

बुटवल तिलोत्तमा लगायतका खेतमा सिँचाइका लागि लागि पानी लैजाने सोह्रछत्तिस मौजा सिँचाई प्रणाली थुनिएर नहरको पानी पस्दा बुटवल ११ कालिकानगरमा रहेको न्यू होराइजन स्कुल डुबानमा परेको छ।

स्कुल क्षेत्र जलमग्न भएपछि विद्यालयले सूचना प्रकाशन गरेर आज बिदा दिएको छ।

विद्यालयका अनुसार सोह्रछत्तिस कुलोको पानी पसेर स्कुलको तल्लो तलाका सबै कक्षाकोठाहरु पानी र लेदोले भरिएका छन्।

बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले फूलबारी क्षेत्र, रासस कार्यालय वरिपरी र न्यू होराइजन स्कुल क्षेत्रमा रातिदेखि परेको ठूलो पानीका कारण डुबानमा परेको र अधिकांश ठाउँमा अहिले कम भइसकेको बताए।

रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले कार्यालयको तल्लो तलामा लेदोले भरिएकोले कार्यालय सार्न थालिएको बताए। बुटवल उपमहानगरपालिकाका इन्जिनियर गौतम रौनियारले सोह्रछत्तिस कुलोमा रहेको गेट बन्द भएकाले यति ठूलो समस्या आएको र आफ्नो घर पनि डुबानमा परेको बताएका छन्।

उद्योगी अशोक कुँवरले पनि आफ्नो उद्योगमा भएको डुबानले ठूलो क्षति भएको बताए। कालिकानगरस्थित शुभनारायणी फर्निचर उद्योगमा रहेको करिब ५ लाखको सबै प्लाइउड नोक्सान भएको उनले बताए। कुलोको पानी सबै फर्केर घरपसलमा पुगेको उनको भनाइ छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले बजारका नाली थुनिएको कारण पहिलो पटककै वर्षातमा बजार क्षेत्र डुबानमा परेकोले सचेत रहनुपर्ने बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: