Loktantra Khabar National Weekly
Ad

अपराजित यात्राको कीर्तिमान बनाउँदै लेभरकुजन युरोपा लिगको फाइनलमा

लोकतन्त्र खबर
२८ बैशाख २०८१

काठमाडौं  वैशाख २८, जर्मन क्लब बायर लेभरकुजनले कीर्तिमानी प्रदर्शन गर्दै युरोपा लिगको फाइनलमा स्थान बनाएको छ ।

लेभरकुजनले युरोपमा लगातार ४९ खेलको अपराजित खेलको कीर्तिमान बनाएको हो ।

सेमिफाइनल दोस्रो लेगमा इटालियन क्लब रोमासँग २-२ को बराबरी खेलेपछि समग्रमा ४-२ को जित निकाल्दै लेभरकुजनले फाइनलमा स्थान पक्का गरेको छ ।

घरेलु मैदानमा भएको पहिलो लेग हारेको रोमाले दोस्रो लेगमा सुधारिएको प्रदर्शन गर्दै २-० को अग्रता बनाएको थियो । तर अन्तिम समयमा दुई गोल गर्दै लेभरकुजनले खेल बराबरी गरेको हो ।

लियोन्ड्रो पेरेडेसले दुई पेनाल्टी गोल गर्दै रोमालाई २-० को अग्रता दिलाएका थिए । तर ८२औं मिनेटमा रोमाकै जियानलुका मान्सिनीले आत्मघाती गोल गरे । यस्तै इन्जुरी टाइमको सातौँ मिनेटमा जोसिप स्टानिसिकले गोल गरेपछि लेभरकुजनले खेल बराबरी गरेको थियो ।

यस बराबरीपछि लेभरकुजन सबैखाले प्रतियोगितामा ४९ खेलसम्म अपराजित छ । जसमा ४० खेलमा विजयी भएको छ ।

गत सिजन लेभरकुजन युरोपा लिग सेमिफाइनलमा रोमासँगै पराजित भएको थियो । यस पटक त्यसको बदला समेत लिएको छ ।

लेभरकुजनले सन् १९६३-६३ मा युसोबियोको नेतृत्वमा वेनफिकाले बनाएको ४८ खेलको अपराजित कीर्तिमान तोडेको हो ।

युईएफएका अनुसार युरोपियन प्रतियोगिताहरुको सुरुवात भएयता त्यो नै सबैभन्दा लामो अपराजित यात्रा थियो जुन अहिले लेभरकुजनले तोडेको छ ।

जावी अलोन्सोको टोली लेभरकुजन यस सिजन ट्रेबल नजिक छ । जर्मन बुण्डेसलिगाको उपाधि जितेको लेभरकुजन जर्मन कपको पनि फाइनल पुगेको छ ।

यस्तै युरोपा लिगको उपाधिका लागि लेभरकुजनले २२ मे मा डब्लिनमा हुने फाइनलमा इटालियन क्लब एटलान्टासँग खेल्नेछ ।

एटलान्टाले फ्रेन्च क्लब मार्सेलाई समग्रमा ४-१ ले पराजित गर्दै फाइनल पुगेको हो । पहिलो लेग १-१ को बराबरी खेलेको एटलान्टाले दोस्रो लेगमा मार्सेलाई ३-० ले पराजित गरेको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: