Loktantra Khabar National Weekly
Ad

जनकपुरमा कुकुरको आक्रमणबाट बालिकाको मृत्यु

लोकतन्त्र खबर
२६ बैशाख २०८१

जनकपुरमा कुकुरको आक्रमणमा परी एक जना बालिकाको मृत्यु भएको छ।

कुकुरको झुण्डले आक्रमण गर्दा शहिदनगर नगरपालिकाको यदुकोहा स्थायी घर भएका दिपक साहकी ६ वर्षीया छोरी सन्ध्याको मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार साँझ पुलचोकस्थित डेरा नजिकै घारीमा आँप टिप्न जाँदा ३-४ वटा संख्यामा रहेका कुकुरले आक्रमण गर्दा सन्ध्याको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

उनका अनुसार सन्ध्या दिदीबहिनीहरूसँगै खेल्दा खेल्दै घरबाट आँप टिप्न हिँडेकी थिइन्।

‘सँगै खेलिरहेकाहरू पनि सा-साना बच्चाहरू नै थिए। उनीहरूले कुकुर धपाउन खोजे तर सकेनन्। कुकुरले टोकेर बच्चाको घटनास्थलमै मृत्यु भएको हो,’ उनले भने।

सन्ध्याकी आमाबुवा पुलचोकमा डेरा लिई मजदुरीको काम गर्छन्। उनीहरू काम गर्न गएको बेला बालिकाहरू घरबाट खेल्दै आँप टिप्न जाँदा घटना भएको प्रहरीले जनाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: