गण्डकीमा माओवादीले मन्त्री दिन सकेन, भागबण्डामा अझै किचलो
पोखरा । प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले गण्डकीमा मन्त्रीको नाम दिन नसक्दा गण्डकी मन्त्रीपरिषद् विस्तार रोकिएको छ । चैत २५ गते मुख्यमन्त्रीसँगै शपथ लिएका माओवादी दलका नेता हरिबहादुर चुमान अहिले अर्थमन्त्री छन् ।
सोही समयमा विनाविभागीय मन्त्रीको शपथ लिएका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले भौतिक मन्त्रालय सम्हालेका छन् ।
सोमबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेबाट २ जना मन्त्री थपे । पहिलो क्याबिनेटमा अर्थमन्त्री रहेकी सीता कुमारी सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ भने पहिले कृषिमन्त्री बनेका बेदबहादुर गुरुङ अहिले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेका छन् ।
अहिलेसम्म एमालेबाट मुख्यमन्त्रीसहित ३ जना मन्त्री बनिसकेका छन् भने माओवादीका एक र स्वतन्त्र एक जना मन्त्री बने । ७ सदस्यीय मन्त्रीपरिषदमा अझै २ मन्त्रालय खाली छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कृषि मन्त्रालयमा मन्त्री पठाइएको छैन । माओवादीले बाँकी २ वटै मन्त्रालयमा आफ्नो दाबी गरेको छ ।
‘लिखित सहमति छैन । तर मौखिक सहमति हुँदा माओवादीले ३ मन्त्रालय लिने भन्ने हो,’ प्रमुख सचेतक कुसुम बुढा भन्छिन्, ‘अहिले सङ्ख्यामा यताउति भइरहेको छ । त्यसैले मन्त्री पठाउन सकेनौँ ।’
उनले ३ मन्त्रालयमा आफ्नो अडान कायम रहेको बताइन् । नयाँ कार्यकालपछि बनेका २ वटै सरकारमा माओवादीले २–२ जना मन्त्रीमात्रै पाएको थियो । पहिलो क्याबिनेटमा एमालेका ४, माओवादीका २ र राप्रपाका १ मन्त्री थिए ।
दोस्रो क्याबिनेटमा कांग्रेसका ५ र माओवादीका २ मन्त्री थिए । मुख्यमन्त्रीको दाबी गरिरहेका चुमान मन्त्रीमै फर्किएका छन् । तर उनले आलोपालो सरकार चलाउने सहमति भएको बताउन छोडेका छैनन् ।
२ वटामात्रै मन्त्रालय माओवादीले पाउँदा आन्तरिक व्यवस्थापनमा समस्या देखिने भएको छ । माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटालाई व्यवस्थापन गर्नुपर्ने एउटा अवस्था छ भने पार्टीभित्रका अन्य नेताहरूको ‘सेटलमेण्ट’ अर्को चुनौती छ ।
‘फणिन्द्रजीलाई मन्त्री बनाउने कुरा हो । हामी त्यो पूरा गर्छौं,’ बुढा अघि भन्छिन्, ‘अस्ति पनि जानुस् भनेकै हो । उहाँले पर्खनुस् भन्नुभएको छ ।’
देवकोटाले सर्वोच्चमा कांग्रेसले हालेको रिटको आदेश कुरेका छन् । त्यसबाहेक माओवादीभित्र सांसदैपिच्छे मन्त्रीको दाबी छ । प्रमुख सचेतक बुढा आफैँ मन्त्रीको दौडमा छिन् भने म्याग्दीका हरि भण्डारी, नवलपुरकी दमयान्ती रुचाल पनि दौडधुप गरिरहेका छन् ।
गण्डकीमा माओवादीका ८ सांसद छन् । त्यसमध्ये कृष्ण धिताल सभामुख बनिसकेका छन् ।
मुख्यमन्त्री खगराज अधिकारी सर्वोच्चमा परेको रिटको अन्तिम आदेश नआउँदासम्म अब सरकार विस्तार गर्ने योजनामा छैनन् । उनले माओवादीलाई ३ मन्त्रालय दिन नसकिने बताउँदै आएका छन् । ‘३ मन्त्रालय दिन सकिन्नँ । २ वटा दिएकै हो, उहाँहरू मान्नुभएको छैन,’ अधिकारीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘३ मन्त्रालय माओवादीलाई दिएर मिलाउन सकिँदैन ।’
पछिल्लो शपथ ग्रहणमा उनले तत्कालका लागि काम गर्न मन्त्री पुगेको प्रतिक्रिया दिएका थिए । ‘अहिलेलाई पूर्णता पायो । ७ वटा मन्त्रालय हो, ५ मन्त्री भइसके । २ वटा मैले लिनैप¥यो,’ उनले पत्रकारहरुसँग भने, ‘माओवादी पनि तयार नै हुनुहुन्छ । अहिले यतिले नै काम गर्न सकिन्छ । सबै साथीहरू मुख्यमन्त्री हुन लायक छन् ।’
अधिकारीलाई गुट चलाएको आरोप एमालेभित्र छ । उनले थपेका २ मन्त्री पुरानै अनुहार हुन् भने उनका विश्वास पात्र पनि । ‘विश्वासको मत लिनुअघि मिलाएर लैजान्छु भन्नुभएको थियो । बैठकहरूमा टिमलाई जोड्ने कुरा गर्नुभएको हो,’ एक सांसदले भने, ‘अहिले पुरानै पारा देखाउनुभयो । फरक समूहलाई देख्नै सक्नुभएन ।’ रातोपाटी संवाददाता
सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर:
४१२५-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल
सूचीकरण नम्बर:
४१२१-२०८०/२०८१
© २०७९ श्री राष्ट्रिय लोकतन्त्र राष्ट्रिय दैनिकमा सर्वाधिकार सुरक्षित
Site By: Binay Bajagain 
