Loktantra Khabar National Weekly
Ad

हुण्डी कारोबारी युवक १३ लाख नगदसहित पक्राउ

लोकतन्त्र खबर
२६ बैशाख २०८१

हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले नगद १३ लाख १५ हजार रुपैयाँसहित वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज–२२ जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेल रहेका छन् । हुण्डी कारोबारी युवक १३ लाख नगदसहित पक्राउ पक्राउ परेका पटेल र उनको साथबाट बरामद भएको नगद । वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो ३ बजेतिर वीरगञ्ज–१४ गण्डकचोकबाट पटेललाई नियन्त्रणमा लिएको थियो ।

वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा पटेलले पिठ्युमा बोकेको झोलाभित्र लुकाई ल्याएको स्रोत नखुलेको १ हजार दरको ८ सय ८९ थान र ५ सय दरको ८ सय ५० थान, १ सय दरको १० थान गरी कुल १३ लाख १५ हजार रुपैयाँ बरामद भएको छ । उनको झोलाबाट विभिन्न बैंकको खाली चेकहरु ७ थानसमेत बरामद भएको छ ।

पटेललाई नियन्त्रणमा लिई उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: