
लन्डन — नेपाली राष्ट्रिय फुटबल टोलीले सोमबार अल्डरसटस्थित ईबीबी रंगशालामा सोमबार दिउँसो भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड ‘सी’ टिमसँग २–० गोलले पराजय भोगेको छ ।
वर्षाका कारण पहिलो हाफमा नेपालको कमजोर प्रस्तुतिका कारण इंग्ल्यान्ड ‘सी’ले दुई गोल गरे पनि दोस्रो हाफमा नेपालले निकै दबाबमा राखेर खेलेको थियो । कप्तान तथा गोलकिपर किरण लिम्बूको उत्कृष्ट प्रदर्शनका कारण नेपालले खेलमा दबाब बढाएको थियो । उनी म्यान अफ द म्याच पनि घोषित भए ।
८ हजार क्षमताको भरिभराउ रंगशालामा झन्डै ९० प्रतिशत नेपाली दर्शकले खेल अवधिभर हुटिङ गर्दै खेलाडीलाई हौसला प्रदान गरेका थिए । खेल हेर्न बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसहित लन्डनस्थित दूतावासका कर्मचारी र नेपाली समुदायका अभियन्ताको बाक्लो उपस्थिति थियो । खेलाडीलाई अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिम, इंग्ल्यान्ड एफए पदाधिकारी, राजदूत आचार्य, समाजसेवी व्यवसायी रवीन्द्रजंग लामिछानेलगायतले पदक प्रदान गरे ।
खेल हेर्न घण्टौं ड्राइभ गरी स्कटल्यान्ड, वेल्स, मिडल्यान्डलगायतका स्थानबाट नेपाली अल्डरसट भेला भएका थिए । अल्डरसट टाउन फुटबल क्लबले एफए र नेपाली समुदायको सहयोगमा मैत्रीपूर्ण खेल आयोजना गरेको हो । नेपालले गोल गर्न नसके पनि पहिलोपल्ट बेलायती भूमिमा खेल्न पाउनुलाई प्रमुख उपलब्धि मानेको छ । मैत्रीपूर्ण खेलको उद्घाटन कार्यक्रममा गायिका आनी छोइङले नेपालको राष्ट्रिय गान प्रस्तुत गरेकी थिइन् । कान्तिपुर