Loktantra Khabar National Weekly
Ad

ठेकेदारको जंगल आगोबाट बचाउने प्रयासमा जलेका दुई दम्पती

लोकतन्त्र खबर
२४ बैशाख २०८१

बझाङको छबिसपाथिभेरा गाउँपालिका–६ का ल्वाडा गाउँ र पुजारी गाउँमा शोक छाएको छ।

शोकको कारण हो– यी दुई गाउँका दुई दम्पती भारतको उत्तराखण्डस्थित एक जंगलमा लागेको डढेलोमा पर्नु र उनीहरूको मृत्यु हुनु।

ल्वाडा गाउँका ३० वर्षीय ज्ञानु चलाउने र उनकी २९ वर्षीया श्रीमती वासुदेवी तथा पुजारी गाउँका ३५ वर्षीय दीपक पुजारा र उनकी श्रीमती ३४ वर्षीया तारादेवीको मृत्यु भएको हो।

घटना यही वैशाख २० गतेको हो। उनीहरू भारतको उत्तराखण्डस्थित पात्ली भनिने जंगलमा सल्लाको खोटो संकलनको काम गर्थे। यसरी काम गरेको एक दशकभन्दा बढी भएको थियो।

उनीहरू चारै जना काममा व्यस्त थिए। अलिक नजिकैको जंगलमा आगो लागेको थियो। उनीहरूले त्यो आगो आफ्नो डेरा र खोटो संकलन गर्ने ठाउँमा पुगे धेरै क्षति हुने अनुमान गरे।

डेरा पनि जंगलमै थियो।

स्थानीय एक ठेकेदारले खोटो संकलन गर्न जंगल ठेक्कामा लिएका थिए।

चारै जना जंगलमा पुगेर आगो निभाउने प्रयास गरे। आगोनजिक पुग्दानपुग्दै वरिपरिबाट लप्काले छोप्यो। आगोको राप र धुवाँले गर्दा कसैले पनि भाग्ने बाटो पहिल्याउन सकेनन्।

चार जनामध्ये तीन जना शरीर जल्दै गरेको अवस्थामा जंगलबाट हुत्तिँदै अर्धचेत अवस्थामा सडकनजिकको गाउँमा पुगे। उनीहरूलाई आगोले छोपेको ठाउँ र सडकबीच सय मिटर जति दूरी थियो।

उनीहरू ‘बचाऊ बचाऊ’ भन्दै चिच्याउँदै थिए। गाउँलेहरूले भेट्दा शरीरका सबै लुगा जलेका थिए। उनीहरूले एम्बुलेन्समा राखेर तुरून्तै अस्पताल पुर्‍याए।

अस्पताल नपुग्दै तारादेवीको प्राण गयो। पुर्‍याएको एकैछिनमा ज्ञानु पनि बिते। वासुदेवीको करिब दुई दिन उपचार भयो तर सफल भएन, २२ गते उनको पनि प्राण गयो।

दीपक भाग्न सकेनन्, ठाउँको ठाउँ बिते।

घटनाबारे भारतकै बैंगलुरुमा बस्ने आफन्तले ज्ञानुका काका पुरनलाई फोन गरेर जानकारी गराए। त्यतिन्जेलमा घटनाको खबर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भइसकेको थियो।

गाउँबाट केही मानिस शव लिन गएका छन्।

ती दम्पतीहरूका आ-आफ्ना दुई दुई जना छोराछोरी पनि साथमा थिए। घटना हुँदा छोराछोरीहरू जंगलकै डेरामा थिए।

ज्ञानु र वासुदेवीकी १३ वर्षकी एक छोरी गाउँमै थिइन्। दुई जना साथमा थिए, एक जना १४ वर्षका र अर्का २ वर्षका।

दीपक र तारादेवीका १२ वर्ष र १३ वर्ष उमेरका दुई छोरा साथमै थिए।

स्कुल जाने उमेरका तीन जनालाई ठेकेदारले भारतकै विद्यालयमा पढाउन सहयोग गरेका थिए।

आगलागीमा परेका दम्पतीहरू हरेक वर्ष चैतदेखि कात्तिकसम्म त्यहाँ खटो संकलनको काम गर्थे। कहिलेकाहीँ आफ्नो गाउँ आउँथे।

ज्ञानुका काका पुरनले भने, ‘उनीहरूले काम गरेको धेरै वर्ष भएको थियो।। मजदुरीकै पैसाले यहाँ (नेपालमा) घर पनि बनाएका थिए।’

उनका अनुसार ज्ञानुलाई घर बनाउँदा केही ऋण लागेको थियो। ऋण तिर्न पैसा कमाउने उद्देश्य थियो। घर नआएको एक वर्षभन्दा धेरै भएको थियो।

उनले भने, ‘दुई दम्पतीका पाँच बच्चाबच्ची टुहुरा भए। बच्चाबच्चीको पालनपोषणको चिन्ता भएको छ। दुधे बच्चाले आमा खोजिरहेको छ।’

पुरनका अनुसार पुजारी गाउँका दीपक र तारादेवीको एकल परिवार थियो। उनीहरूका छोरा कसले जिम्मा लिने भन्ने चिन्ता भएको छ।

उत्तराखण्डका यस्ता जंगलमा जोखिमपूर्ण मजदुरी गरेर जीविकोपार्जन गर्ने नेपाली दम्पती धेरै छन्। गरिबीका कारण उनीहरू जस्तोसुकै जोखिमको काम गर्न पनि तयार हुन्छन्।

‘गाउँबाट मान्छेहरू कमाउन भारत गएका छन्। गाउँहरू रित्ता छन्,’ पुरन भन्छन्, ‘परिवारै उठेर जान्छन्। कोही केदारनाथमा घाँस काट्छन्, कोही यार्चा टिप्न लेकतिर जान्छन्, कोही खोटो निकाल्ने काममा जान्छन्।’

भारतमा जोखिमको काम गर्ने क्रममा विभिन्न कारणले मृत्यु भएको खबर गाउँमा फाटफुट आइरहन्छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: