Loktantra Khabar National Weekly
Ad

वीरगन्जमा प्रहरीले चलायो गोली, गोठाटारमा लाल मोहम्मदको हत्यामा संलग्न आरोपी पक्राउ

लोकतन्त्र खबर
१७ बैशाख २०८१

वीरगन्जमा प्रहरीले गोली चलाएको छ।

गएराति ११ बजे वीरगन्ज महानगरपालिका-१६ भुटनदेवीमा प्रहरी चेकिङ चलिरहँदा एक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका एक व्यक्ति भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो।

प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक बब्लु पासवान भनिने गणेश पासवान पक्राउ परेको पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए।

‘प्रहरीको चेकिङ हुँदै थियो, उनको साथमा हतियार देखेपछि प्रहरीले रोक्न खोज्यो,’ एसपी ढुंगेलले भने, ‘भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।’

उनको खुट्टामा गोली लागेको थियो। गोली लागेर घाइते भएका पासवानलाई नारायणी अस्पताल पुर्‍याइएको थियो। अहिले डिस्चार्ज गरेर प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको एसपी ढुंगेलले जानकारी दिए।

उनको साथबाट प्रहरीले पेस्तोल र लागुऔषध बरामद गरेको छ।

प्रहरीले भारतबाट केही आपराधिक पृष्ठभूमिका व्यक्तिहरू हतियारसहित नेपाल छिर्दै छन् भन्ने सूचना पाएको थियो। सोही आधारमा चेकिङ कडा पारिएको थियो।

पासवान बिआर ०५ एएल ६१३९ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका थिए। प्रहरीलाई देखेर मोटरसाइकल फर्काउन खोजेपछि प्रहरीले गोली चलाएको थियो।

एसपी ढुंगेलका अनुसार पासवान २०७९ असोजमा काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मदको हत्या प्रकरणमा संलग्न भनिएको व्यक्ति हुन्।

असोज ३ गते साँझ लाल मोहम्मदमाथि कागेश्वरी मनोहरा नगरपालिका- ८ गोठाटारमा उनकै घरबाहिर गोली प्रहार भएको थियो।गोली लागेर घाइते भएका मोहम्मदको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार क्रममा मृत्यु भएको थियो।

उक्त घटनामा बब्लुले हतियार व्यवस्थापन गरेको भनिएको छ।

पर्साका एसपी ढुंगेलले  बब्लुको साथबाट बरामद भएको पेस्तोल र लागु औषधबारे अनुसन्धान भएपछि काठमाडौं पठाइने जानकारी दिए।

‘लागुऔषध र हतियारको मुद्दा हाम्रोमा हेर्छौं, अरू विषयमा प्रक्रिया अनुसार पठाउँछौं,’ उनले भने। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: