Loktantra Khabar National Weekly
Ad

डेढ करोडसम्मका मोटरबोट बनाउँदै ‘बोटेबोरा’, चलिरहेका छन् १७ वटा

लोकतन्त्र खबर
१२ बैशाख २०८१

सञ्चालक भन्छन्- कानुन नभएर विदेश पठाउन समस्या भयो

कुनै समय ‘वाटर एड्भेन्चर’ मा र्‍याफ्टिङ लोकप्रिय थियो।

पानीमा गरिने साहसिक गतिविधिमध्ये विदेशीहरूले अत्यधिक रूचाएको र्‍याफ्टिङ बिस्तारै आन्तरिक पर्यटकको पनि रोजाइमा पर्दै गयो। पछिल्लो समय भने वाटर एड्भेन्चरमा अन्य गतिविधि पनि थपिँदै छन्।

यस्तैमध्ये एक हो मोटरबोट।

बिबी (विष्णुबहादुर) ढकाल बोटेबोरा प्रालिमार्फत विभिन्न नदी र तालमा मोटरबोट (इञ्जिनबाट चल्ने डुंगा) चलाइरहेका छन्।

उनले मोटरबोट चलाउन थालेको पाँच वर्ष भयो।

‘पानीमा खेल्न र रमाउन चाहनेका लागि मोटरबोट एउटा लक्जरी एड्भेन्चर हो,’ बिबीले भने, ‘मोटरबोटको सिटमा बसेर पानीको छालसँग दौडिनुको मजा छुट्टै हुन्छ।’

कम्पनीले अहिले १७ वटा मोटरबोट चलाइरहेको छ। चितवनको भरतताल र नारायणीमा पाँच-पाँच वटा चल्छन्। बाँकी देवघाट, नेपालगञ्जको वाटरपार्क, तल्लो मर्स्याङ्दी जलाशय र सुर्खेतको बुलबुले तालमा छन्। मध्य मर्स्याङ्दीमा पनि चलाउने तयारी भइरहेको छ।

बिबीका अनुसार यस्तो मोटरबोट नेपाल शिप एन्ड बोट बिल्डिङ कम्पनीले बनाउँछ। यो कम्पनीमा बिबीसँगै सुमन खत्री र अभिषेक कार्की संलग्न छन्। मोटरबोट बनाउन चाहिने सामग्री भारत र चीनबाट ल्याइन्छ। यी सामान नवलपुरमा रहेको कारखानामा जोडजाड (एसेम्बल) गरेर मोटरबोट बनाइन्छ।

‘नेपालमा मोटरबोट बनाउने एक मात्र कम्पनी हो यो,’ बिबीले भने, ‘हामीले तयार गरेका मोटरबोट अरू कम्पनीले पनि किनेर चलाएका छन्।’

नदी र ताल अवलोकन गरी तिनको गहिराइ र पानीको मात्रा अनुसार मोटरबोट तयार हुन्छ। पहिले बिबीको समूहले अध्ययनबिनै मोटरबोट बनाएको थियो। तर नदीको गहिराइ र पानीको मात्रासँग मिल्न नसक्दा बोटमा समस्या देखियो। त्यसैले अचेल माग आएको ठाउँबारे पहिले अध्ययन गरेर मात्र बनाउने उनले बताए।

कम्पनीले अहिलेसम्म सय वटाभन्दा बढी मोटरबोट बनाएको छ।

मोटरबोट चलेका ठाउँहरूमा स्वदेशी र विदेशी पर्यटकको आकर्षण बढेको उनी बताउँछन्।

‘ताजा पानी विदेशी पर्यटकको रोजाइमा पर्छ। समुद्रमा पानी जहाज चढ्नेहरू पनि यहाँको फ्रेस वाटरमा रमाउँछन्,’ उनले भने।

वाटर एड्भेन्चरमा पर्यटक तान्ने र मनोरञ्जन दिने अवधारणा बिबीकै हो।

लमजुङमा जन्मे-हुर्केका उनी पानीसँग नजिक हुन रूचाउँथे। घर नजिकैको खोलामा पौडी खेल्थे। कागजको डुंगा बनाएर खोलामा लगेर खसाल्थे। यी काममा उनी बहुत रमाउँथे।

उनले आफ्नो व्यावसायिक भविष्य पनि पानीमा होला भन्ने चाहिँ सोचेका थिएनन्।

पढाइका लागि काठमाडौं आएपछि उनले पर्यटन क्षेत्र र यसको सम्भावनाबारे बुझ्ने अवसर पाएका हुन्।

सुरूमा काठमाडौंमा उनले रेस्टुरेन्टको भान्सा बनाउने कम्पनीमा काम पाएका थिए। साना-ठूला होटल र रेस्टुरेन्टका भान्सा बनाउने र चिटिक्क सिँगार्ने काम हुन्थ्यो।

यसरी करिब सात वर्ष काम गरेपछि उनले आफै रेस्टुरेन्ट चलाउने सोचे। अनुभव नभए पनि पार लगाएरै छाड्छु भन्ने अठोट गरे। ऋण खोजेर रेस्टुरेन्ट खोले। त्यस बेला २२ वर्षे बिबीको जोशले मात्र काम गरेन। रेस्टुरेन्ट चलेन, छाडिदिए। यसपछि केही समय सूचना प्रविधि क्षेत्रमा लागे।

त्यसमा पनि खास चित्त नबुझेपछि उनले पर्यटन क्षेत्रमा काम गर्न डिकेड इन्टरनेसनल नामको कम्पनी खोले।

‘त्यो बेला नै विदेश घुम्न जाने नेपालीको संख्या बढ्दै थियो। विदेश घुम्न जानुको एउटा उद्देश्य समुद्रको किनारमा रमाउने हुन्छ,’ बिबीले भने, ‘नेपालमा समुद्र नभए पनि नदी र तालमा मनोरञ्जनका लागि लक्जरियस एड्भेन्चर दिन सकिन्छ भन्ने सोचेँ।’

उनको ध्यान मोटरबोटमा गयो। यो कहाँ बन्छ र कसरी ल्याउने भन्ने चाहिँ थाहा थिएन। उनले नेपालमै यसको सम्भावनाबारे खोजबिन गरे। सेना र प्रहरीको विपद् व्यवस्थापन टिमलाई भेटे। उद्धार कार्यबारे जानकारी पाए।

त्यही क्रममा नेपाली सेनाले गर्ने उद्धार कार्यका लागि मोटरबोट आपूर्ति गर्ने मौका बिबीले पाए। २०६५ सालमा चीनबाट मोटरबोट ल्याएर उनले सेनालाई बेचे। यसरी काम गर्दै जाँदा उनलाई यस्तो मोटरबोट नेपालमै बनाउन पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो।

‘मोटरबोटको इञ्जिन बेलाबेला मर्मत गर्नुपर्थ्यो। त्यो झमेला बेहोरिरहनुभन्दा नेपालमै बनाउन पाए हुन्थ्यो भन्ने सोचेर खोजबिन गर्न थालेँ,’ उनले भने।

बिबी थुप्रै कम्पनीमा पुगे। तर नेपालमा काठका डुंगा धेरै चल्ने भएकाले मोटरबोटको बजार कमजोर रहेको थाहा पाए। ठूला र नाम चलेका कम्पनीले समेत यसमा भविष्य छैन भनिदिए।

तैपनि बिबी पछि हटेनन्।

डिकेड इन्टरनेसनलका एक जना कर्मचारीलाई ‘मरिन इञ्जिनियरिङ’ पढ्न चीन पठाए। यता मेकानिकल इञ्जिनियरहरूसँग सहकार्य गरे। भारत र चीनबाट सामान ल्याएर केही मोटरबोट तयार गरे। तर तिनमा प्राविधिक त्रुटि देखियो।

‘हामी समुद्रमा चल्ने बोटमा केन्द्रित भयौं। हाम्रो टिम सानो थियो। अध्ययन र विकास गर्ने टिम नहुँदा सुरूमा बनाएका बोट टिकेनन्। लगानी खेर गयो,’ उनले भने।

त्यसपछि मोटरबोट उत्पादन र सञ्चालनबारे जानकारी लिन उनी आफै विदेश गए। भारत, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया र न्युजिल्यान्डसम्म पुगेर कम्पनीहरू अवलोकन गरे।

‘न्युजिल्यान्डमा नदीमा मोटरबोट चलेको देखेँ। अनि थाहा भयो, समुद्रमा चल्ने बोट नदीमा नचल्ने रहेछ,’ उनले भने।

फर्केर उनले साथी सुमन र अभिषेकलाई सहकार्यको प्रस्ताव गरे। तीन जना मिलेर नेपाल शिप एन्ड बोट बिल्डिङ कम्पनी खोले।

बिबीको कम्पनी डिकेड इन्टरनेसनलले विदेशबाट बोट र उद्धारमा चलाइने बोटमा प्रयोग हुने इञ्जिन ल्याउँथ्यो। त्यही बेला जापानी कम्पनी सुजुकीले डिकेडलाई आफ्नो इञ्जिनको आधिकारिक बिक्रेता बनायो। यसपछि डिकेडमार्फत इञ्जिन ल्याउने र शिप एन्ड बोट बिल्डिङले बोट बनाउने गरी काम अघि बढ्यो।

उनीहरूले बनाएको मोटरबोट कोशी, नारायणी लगायत नदीमा चल्न थाले। फाटफुट बिक्री भए पनि अपेक्षा अनुसार व्यवसाय विस्तार भएन। बिबीले छुट्टै कम्पनी खोलेर आफैं बोट चलाउने योजना बनाए।

२०७७ सालमा उनले ‘बोटेबोरा प्रालि’ खोले।

‘बोट चलाउने मान्छेलाई बोटे भन्ने चलन छ। बोरा भनेको फ्रान्सको सबभन्दा राम्रो आइल्यान्ड हो। यी दुई नामको सम्मिश्रणबाट बोटेबोरा नाम राखेँ,’ बिबीले भने, ‘हामीले पहिलो पटक नारायणीमा मोटरबोट चलाएका थियौं।’

यसरी उनी तीन कम्पनीमार्फत् इञ्जिन ल्याउने, मोटरबोट बनाउने र चलाउने काम गरिरहेका छन्। सबै कम्पनीमा गरी हाल ७० जनाले रोजगारी पाएका छन्। शिप एन्ड बोट बिल्डिङले फनपार्क, स्कुल र बाल उद्यानका लागि पनि सामग्री उत्पादन गर्छ।

बिबीका अनुसार मोटरबोट तीन प्रकारका हुन्छन्; इञ्जिन बाहिर भएको, इञ्जिन भित्र भएको र जेट इञ्जिन भएको।

उनीहरूले बनाएको मोटरबोटको मूल्य इञ्जिन र सिट क्षमताअनुसार साढे चार लाखदेखि साढे एक करोड रूपैयाँसम्म पर्छ।

मोटरबोटको सिटक्षमता अनुसार नाम पनि दिइएको छ। चार जनादेखि ६ जना बोक्नेको नाम ‘माइलो’ हो। एघार-बाह्र सिटको ‘फिस टेल’ र २१ सिटको ‘अग्नि’ हो। अग्नि तीव्र गतिको हुन्छ। त्यस्तै सबभन्दा ठूलो, ३० सिटको मोटरबोटको नाम ‘कर्णाली’ हो।

यी बोट चलाउन हाल बोटेबोरासँग १८ जना क्याप्टेन छन्।

यस्तो बोट चलाउनेले तालिम पाएको र प्रमाणीकरण भएको हुनुपर्छ। बिबीले तालिम दिन एकेडेमी खोलेका छन्। बेलायतबाट उद्धारको तालिम लिएर आएका बिबी मुख्य प्रशिक्षकमध्ये एक हुन्।

उनी कम्पनीमा लगानी बढाउने योजनामा छन्। तर मोटरबोट चलाउने सम्बन्धी कानुन नहुँदा पूर्ण क्षमतामा काम गर्न नसकेको उनले बताए।

‘हाम्रा मोटरबोटको माग विदेशबाट पनि आइरहेको छ तर निर्यातको कानुन छैन। कानुन भए देशबाहिर पनि बजार पाइन्थ्यो,’ बिबीले भने, ‘विश्वमा मोटरबोट लक्जरी एड्भेन्चर हो। यसमा सयर गर्न पर्यटकको लर्को लाग्छ। नेपालमा पनि ठूलो सम्भावना छ।’ सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: