
मनोज यादव—-
सर्लाही,बैशाख १०
मधेस प्रदेश अन्तर्गत सर्लाही जिल्लामा रहेका पुरातात्त्विक, धार्मिक र पर्यटकीय महत्त्वका स्थलहरू ओझेलमा परेका छन् ।
जिल्लामा रहेका करिब दुई दर्जन यस्ता स्थलहरु सम्बन्धित स्थानीय तहको बेवास्ताका कारण ओझेलमा परेका हुन।
आन्तरिक र बाह्य पर्यटकको साथै नेपालको इतिहास प्रति चासो राख्ने मानिसहरुकोलागि खुल्ला संग्रहालयको रुपमा समेत रहेका यस्ता स्थलहरुको संरक्षणमा स्थानीय तहको ध्यान पुग्न सकेको छैन ।
जिल्लामा विविध महत्त्व बोकेका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरु मध्ये हरिपुर नगरपालिका वडा न-४ फरहदवास्थित हरैया बस्तीमा रहेको जंगमुक्तेश्वर तथा हिरण्य गर्भेश्वर महादेवको जोर लिंगसहितको रजवा मन्दिर पनि ओझेलमा पर्दै गएको छ ।
राणा शासनका तत्कालीन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले देहत्याग गरेको यस स्थानमा वीर शमशेरले बनाएको मन्दिर प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।विशेष पर्व र पुजामा समेत दर्शनार्थीहरु उक्त मन्दिरमा कमै पुग्ने गरेका छन् ।
यस मन्दिरले नेपालको एक महत्त्वपूर्ण इतिहास बोकेको भएपनि संघ,प्रदेश र स्थानीय तहको बेवास्ताका कारण ओझेलमा परेको हो।
साबिकको जिल्ला विकास समिति सर्लाहीले जिल्लाको प्रमुख पर्यटकीय स्थलको विकास तथा प्रचारप्रसारका लागि बर्सेनी बजेट विनियोजन गर्ने गरेको थियो ।
तर संघीयतासँगै बनेका स्थानीय तहले भने आफ्ना क्षेत्रका पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनमा चासो नदेखाएको गैर निवासी पुर्व प्राधानाध्यापक एवं नागरिक अगुवा रजनीकान्त झा ले बताए ।
जिल्लाको सदरमुकाम मलंगवादेखि १३ किलोमिटरको दुरीमा पर्ने ढंग्रा खोलाको पुलदेखि लगभग १ किलोमिटर पश्चिममा यो मन्दिर अवस्थित छ।अनौठो शैलीमा निर्माण गरिएको यस मन्दिरको परिसरमा पश्चिमतर्फ द्वार रहेको एउटा धर्मशाला समेत रहेको छ।
काठमाडौबाट सिकारको लागि तराई झर्दा जंगबहादुर हरैया बस्तीलाई आधार शिविरको रुपमा प्रयोग गर्ने गर्दथे। त्यतिबेला हरैयाको निकटवर्ती इलाका बरहथवा,हरिवन,मुर्तिया,घुर्कौली, लालबन्दी, राजघाट तथा शंकरपुर जस्ता गाउँहरु घना जंगलले घेरिएका थिए।जंगलमा साकाहारी र मांसहारी जनावरहरुको संख्या अधिक थियो।
जंगबहादुर सिकार खेल्नको लागि चुरे पर्वतीय क्षेत्रमा पर्ने पथ्थरकोटको घना जंगलमा पुगेको बेला सेतो बाघले उनीमाथि हमला गरेपछि गम्भीर रुपमा घाइते भएका उनलाई आधार सिविर हरैया ल्याइयो र त्यही उनले देहत्याग गरे।
जंगबहादुरले देहत्याग गरेपछि सर्लाही र रौतहट जिल्लालाई छुट्याउने बागमती नदीको किनारमा राजकीय सम्मानका साथ उनको दाहसंस्कार गरिएको थियो।राजकीय सम्मानका साथ दाहसंस्कार गरिएकोले त्यस ठाउँको नाम राजघाट रहन गयो।
तत्कालीन राणा प्रधानमन्त्री वीरशम्शेरको शासनकालमा जंगबहादुरले प्राण त्याग गरेको स्थानमा उक्त मन्दिर र धर्मशालाको निर्माणकार्य गरिएको थियो।
जोरलिंङ्ग सहितको महादेवको उक्त मन्दिरको चारै कुनामा विष्णु,लक्ष्मी ,गणेश र भैरवको प्रतिमा स्थापना गरि मन्दिरको अगाडी बेलको रुख रोपेर त्यसको पुर्वतर्फ ईनार खनाइ ईनारको पश्चिमतर्फ धर्मशालाको निर्माण गरि होम,पुजापाठ पछि जोरलिंङ्गको जंगमुक्तेश्वर हिरण्य गर्भेश्वर महादेव भनेर नामांकण गरियो।
त्यसपछि दैनिक पूजापाठको लागि काठमाण्डौबाट एक व्यक्तिलाई झिकाएर पुजारीको रुपमा नियुक्ती गरि मन्दिरको सरसफाइको लागि सुसारे समेत राखियो।
उक्त मन्दिर तथा धर्मशाला रातो रंगको ईट्टालाई चाकु,मास र सुर्कीले जोडिएको छ भने मन्दिरको भित्ता चुन र सुर्कीको घोलले प्लास्टर गरिएको छ।यस मन्दिर र धर्मशालाको बास्तुकला राणाकालीन भवनसँग मिल्दोजुल्दो देखिन्छ ।
मन्दिरको माथिल्लो स्थानमा जडान गरिएको सुनको गजुर डाँकाहरुले लुटेर लगेकोले अहिले पित्तलको गजुर राखिको हरिपुर नगरपालिका वडा न-४ हरैयाका वडाअध्यक्ष संजय प्रसाद साहले बताए ।
उनले जिर्ण अवस्थामा रहेको यस मन्दिरलाई वडा स्तरबाट ५ लाख रकम छुट्याएर मन्दिर र कम्पाउण्ड वालको जिर्नोद्धार र रंग रोगन गरि संरक्षणको प्रयास गरेको बताए ।
वडा स्तरको बजेटबाट नपुग्ने भएकोले प्रदेश र स्थानीय सरकारले यसको संरक्षण र विकासको लागि पहल गर्नुपर्ने बताए ।
अहिले मन्दिर अगाडीको धर्मशाला सशस्त्र प्रहरीले आश्रय स्थलको रुपमा प्रयोग गरिरहेका छन् ।
भग्नावशेष अवस्थामा पुगिसकेको यस मन्दिरको चारैतर्फ रहेको मुल्यवान मुर्तिहरु चोरी भइसकेका छन् ।
मन्दिर आसपासको क्षेत्रमा किसानहरले खनजोत गर्दा अहिले पनि पुराना भाँडा,चुडा लगायतका बस्तुहरु फेला पर्ने गरेको स्थानीय सुरेन्द्र महतो बताउँछन् । उनले सो बेला बनाइएको ईनार पुरीसकेको बताए ।
भग्नावशेषमा परिणत हुन लागेको उक्त स्थानको यथासिघ्र संरक्षण तथा सम्बर्द्धन गर्न खाँचो रहेको छ। यस स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने आधारहरु प्रसस्त रुपमा रहेका छन् ।
स्थानीय तहसहित प्रदेश सरकार, पर्यटन मन्त्रालय र पुरातत्व विभागले पनि ओझेलमा परेको ऐतिहासिक जंगमुक्तेश्वर तथा हिरण्य गर्भेश्वर महादेव मन्दिरको संरक्षण र प्रचारमा जोड दिन जरुरी छ ।