Loktantra Khabar National Weekly
Ad

राजमार्गमा ट्राफिकले घुस लिएको विषय छानविन गर्न निर्देशन

लोकतन्त्र खबर
३ बैशाख २०८१

राजमार्ग क्षेत्रमा खटिएका ट्राफिक प्रहरीले यातायात व्यवसायीबाट लिने घुस रकमको विषयमा छानविन गर्न कर्णाली प्रदेश ट्राफिक कार्यालयलाई निर्देशन आएको छ।

नेपालगञ्ज–सुर्खेत रत्न राजमार्गमा दिनहुँ चल्ने गाडीहरूबाट ट्राफिक प्रहरीले गैरकानुनी रूपमा निश्चित रकम लिइरहेको विषय सञ्चारमाध्यममा आएपछि यसको छानविन गर्न प्रदेश ट्राफिकलाई निर्देशनसहितको पत्र आएको हो।

गत साता बुधबार सेतोपाटीमा ‘राजमार्गमा ट्राफिक घुस!’ शीर्षकमा लेख प्रकाशित भएको थियो। राजमार्गमा चल्ने गाडीले ट्राफिकलाई घुस दिएको विषय उक्त लेखमा लेखिएको थियो।

उक्त लेख प्रकाशित भएपछि यसबारेमा स्पष्ट छानविन गरी प्रतिवेदन ल्याउन पत्र पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) लालमणि आचार्यले बताए।

उनका अनुसार गत बुधबार नै प्रदेश ट्राफिकलाई पत्र पठाइसकिएको थियो।

प्रदेश प्रहरी कार्यालयबाट पनि यसको छानविनका लागि प्रहरी अधिकारी तोकिएको डिआइजी आचार्यले बताए।

‘मिडियामा आइसकेको कुरा हो, यसको बारेमा स्पष्ट छानविन गरेर गलत गर्नेलाई कारबाही गर्नु उचित हुन्छ, हामीले यो काम थालिसकेका छौं,’ उनले भने, ‘हामीले प्रदेशबाट पनि अधिकारी तोकेका छौं, उहाँहरूको रिपोर्टिङ र प्रदेश ट्राफिकले दिने प्रतिवेदनका आधारमा हामी अघि बढ्छौं।’

कर्णाली प्रदेश ट्राफिक कार्यालयका एक अधिकृतले कार्यालयलाई आएको पत्रका आधारमा अध्ययन सुरू गरिसकेको बताए।

‘पत्र प्राप्त भएपछि हामीले काम पनि थालिसकेका छौं, अब केही दिनमा हामीले प्रतिवेदन दिन्छौं,’ उनले भने। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: