
काठमाडौं चैत २९, एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता शुक्रबारदेखि ओमानमा सुरु हुँदैछ । प्रतियोगिता समूह ए मा नेपाल, हङकङ, मलेसिया, कतार र साउदीअरेविया छन् । समूह बी मा युएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत छन् ।
हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कप टी-२० प्रतियोगिता खेल्न पाउनेछ । एसिया कप टी२० विश्वकपपछि हुने बताईएको छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र प्रिमियर कपको विजेता हुनेछन् ।
टी२० क्रिकेटमा कुनै पनि भर हुँदैन । एउटा ओभरले पूरा खेल मोडिन सक्छ । सबै टोलीका खेलाडी, बलियो र कमजोर पक्ष हेर्दा प्रिमियर कपको उपाधि जित्न सक्ने चार टोली यस प्रकार छन् ।
नेपाल
नेपाल प्रिमियर कपको उपाधि जित्न सक्ने प्रमुख दाबेदार टोली हो । गतवर्ष घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कपको उपाधि नेपालले जित्दै एसिया कपमा पहिलो पटक भारत र पाकिस्तानविरुद्ध खेलेको थियो । ब्याटिङमा गहिराई हुनु, टी२० विशेष खेलाडीको बाहुल्यता, सन्तुलित बलिङ आक्रामण र एकै टोलीले लगातारसँगै खेल्नु नेपालले उपाधि जित्न सक्ने प्रमुख आधार हुन् ।
नेपालले खराब सुरुवात गर्दा पनि बलियो योगफल बनाउन र पुर्याउन सक्ने खुबी छ । नेपालको प्लेइङ ११ हेर्दा ९/१० नम्बरसम्म ब्याटिङबाट जिताउन सक्ने क्षमता भएका खेलाडी छन् । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको अलराउन्ड प्रदर्शन महत्वपूर्ण हुनेछ ।
दीपेन्द्र, कुशल मल्ल र कुशल भुर्तेल टी२० विशेष खेलाडी मानिन्छन् । गुलशन झा र करण केसी क्लिन हिटर तीव्र गतिका बलिङ अलराउन्डर हुन् ।
ओमान
घरेलु टोली ओमान उपाधिको अर्को दाबेदार टोली हो । कुनैपनि टोली घरेलु मैदानमा अतिरिक्त बलियो हुन्छन् । घरेलु मैदान र कन्डिसनको भरपूर्ण फाइदा उठाउँदै ओमान उपाधि जित्न चाहन्छ । अनुभवी खेलाडी टोलीमा बढी हुदा ओमानले कठिन समयमा पनि राम्रो खेल्न सक्छ ।
ओमानले गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको समूह चरण र फाइनल दुबै खेलमा घरेलु टोली नेपाललाई हराएको थियो । त्यसले गर्दा पनि उनीहरुको मनोबल उच्च छ ।
अकिब इलियास, जिशान मकसुद, कश्याप प्रजापति, प्रतिक अथभले र मोहम्मद नसिम खुसी जस्ता ब्याटर टोलीमा छन् । अनुभवी तीव्र गतिका बलर बिलाल खान घातक बन्न सक्ने ओमानका बलिङ हतियार हुन् ।
हङकङ
पछिल्लो समय हङकङले अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता पाउन सकेको छैन । हङकङ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो विरासत फर्काउन चाहन्छ । पछिल्लो संस्करणको टी२० एसिया कप २०२२ हङकङले नै खेलेको थियो ।
अनुभवी ब्याटर बाबर हायत, निजाकत खान, अंशुमन रथ र मार्टिन कोट्जी जस्ता ब्याटर टोलीमा हुँदा कुनैपनि टोलीलाई हराउन सक्ने खुबी देखिन्छ ।
दक्षिण अफ्रिकी मुलका मार्टिन पछिल्लो समय राम्रो लयमा छन् । हङकङको तीव्र गतिको बलिङ आक्रामणमा नास्रुला राना, आयुश शुक्ला र इकबाल छन् । अनुभवी स्पिनर एहसान खानको स्पिन खेल्न पनि सहज हुनेछैन ।
युएई
युएई उपाधि जित्न सक्ने अर्को दाबेदार टोली हो । एसोसिएटकै खतरनाक हिटर मोहम्मद वासिम चलेमा कुनैपनि टोलीलाई युएईले हराउन सक्ने आँट राख्छ ।
बासिल हमिद, अली नासिर र आयन खान जस्ता म्याच विनर अलराउन्डर टोलीमा छन् । मध्यक्रममा आसिफ खानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । अर्कोतर्फ युर्एई र ओमानको कन्डिसन मिल्दछ ।
२०२२ को टी२० विश्वकप छनोटको फाइनलमा आयरल्यान्डलाई हराउँदै ओमानले उपाधि जितेको थियो । वासिमले फाइनलमा युएईविरुद्ध ११२ रनको शतकीय इनिङ खेलेका थिए । अनलाइन खबर