Loktantra Khabar National Weekly
Ad

सरकारले नि:शुल्क शिक्षा लागू गरेपनि परिक्षा शुल्कको नाममा रकम असुल्दै सर्लाहीका सामुदायिक विद्यालय

लोकतन्त्र खबर
४ चैत्र २०८०

मनोज यादव—-
सर्लाही,चैत ४ गते

मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाका सामुदायीक बिधयालयले बार्षिक परिक्षाको मौका छोपेर विद्यार्थीहरुसंग मानोमानी रुपमा रसिद नै नकाटी शुल्क उठाउने गरेको पाईएको छ ।

नेपाल सरकारले माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क गरेपनि यहाँका अधिकांश सामुदायिक विद्यालयहरुले परिक्षाको नाममा विद्यार्थीहरु सँग मनोमानी रुपमा परिक्षा शुल्क लिइरहेका छन् ।

नेपाल सरकारले शिक्षालाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धि एवं गुणस्तरयुक्त बनाउनको लागि अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धमा कानूनी व्यवस्था गरिदिएको छ ।

प्रत्येक वर्ष नयाँ शैक्षिक सत्र सुरु हुँदा सरकारले बालबालिका भर्ना अभियान चलाएर बिपन्न ,दलित परिवारका बालबालिका लाई बिधालय सम्म पुयाउने गरेको छ।

तर यहाँका सामुदायिक बिधालयले भने कक्षा १ देखीनै मनोमानी रुपमा परिक्षा लगायत अन्य शुल्क मागेर हैरान गर्न थालेपछि अति गरिब बिपन्न बालबालिकाहरु बिचमै पढाइ छाड्न बाध्य भइरहेका छन् ।

जिल्लाको चन्द्रनगर गाउँपालिका वडा न-२ बबरगंजमा रहेको श्री दुर्गा खोभारी जनता माध्यमिक विद्यालयले कक्षा १ देखि कक्षा ९ सम्म अध्यनरत बालबालिका सँग बार्षिक परिक्षाको नाममा मनपरि शुल्क लिने गरेको गुनासो आएको छ।

शुल्क लिएको कुरा यसै विद्यालयका शिक्षक पंकज कुमार यादवले स्वयं स्विकारेका छन् ।

नेपाल सरकारले माध्यमिक तहसम्मका विद्यार्थीसँग कुनैपनि शुल्क नलिई नि:शुल्क शिक्षा प्रदान गर्ने ऐन ल्याएपनि शुल्क उठाउनु गलत रहेको समेत स्विकार्दै उनले गाउँपालिकाले विद्यालयलाई कुनै सहयोग नगरेकोले बाध्यता बस् परीक्षा संचालन गर्नको लागि सहयोग बापत विद्यार्थीहरु सँग पैसा उठाएको सुनाए।

सो बिधालयका प्रधानाध्यापक राजदेव रायले परीक्षा समितिको निर्णय बमोजिम परीक्षा शुल्क लिएको बताए ।

हाम्रो विद्यालयको आयश्रोत केही पनि नरहेको र लामो समयदेखि गाउँपालिकाको परिषद् पनि नभएका कारण पालिकाबाट पैसा नआएकोले बालबालिकाको भविष्य अन्यौल नहोस् भनेर परीक्षा समितिको निर्णय बमोजिम परीक्षा संचालन गर्नको लागि केही शुल्क लिएको बताए ।

शुल्क लिए बापत रसिद किन न दिनु भएको भनि प्रश्न गर्दा परीक्षा समितिले नै निर्णय गरेकोले रसिद नदिएको भनि जवाफ फर्काए।

सरकारी विद्यालयमा प्रायःजसो दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने अती विपन्न गरीब अभिभावका छोराछोरी पढ्ने गरेका छन् ।

परिक्षा शुल्क वापत मागिएको रमक दिने पैसा नभएको अवस्थामा साहु महाजनसँग श्रृण(कर्जा) लिएरै भएपनि आफ्ना छोराछोरीको उज्वल भविष्यको लागि अभिभावकहरु विद्यालयलाई पैसा बुझाउँदै आएका छन् ।

शिक्षकहरुले पैसा नल्याए सम्म परिक्षामा सहभागि हुन दिदैनौ भन्ने गरेका कारण टाउकोमा श्रृणको भार बोक्नु परेको मजदुर वर्गका अभिभावकहरुको गुनासो छ।

सरकारले सामुदायीक विधालयमा शुल्क लिन नपाउने बताएपनि जिल्लाका सबै जसो सामुदायीक बिधालयहरुले आ- आफनो तरिकाले बकाईदा विभिन्न बहानामा विद्यार्थीहरु सँग चर्को शुल्क लिने गरेका छन् ।

विद्यार्थीहरुलाई सरकारको नि:शुल्क शिक्षा नितिको बारेमा समेत थाहा नभएको उनीहरुसँगको कुराकानी बाट बुझिन्छ ।

बिधालयहरुले यसरी परिक्षा शुल्कको नाममा मनोमानी रकम अशुल्न थालेपछि यसको मारमा गरिब तथा बिपन्न परिवारका अभिभावक पर्ने गरेका छन् ।

सरकारले सबैको बालबालिका बिधालय जाउन् भन्ने उदेश्यले बिभिन्न खाले प्रचार प्रसार गरेको भएपनि सर्लाहीमा रहेका सरकारी विद्यालयहरुले बिभिन्न बाहानामा अभिभावकहरु सँग रकम असुलेर सरकारी नितीलाई लत्याइ रहेका छन् ।

बबरगंजको श्री दुर्गा खोभारी माविले कक्षा १ देखि ३ सम्मका विद्यार्थीसँग प्रति विद्यार्थी १०० ,कक्षा ४ र ५ का विद्यार्थीसँग १५० ,कक्षा ६ देखि ८ का विद्यार्थीसँग २५० र कक्षा ९ का विद्यार्थीहरु सँग ३०० रुपैयाँ उठाइरहेका छन् ।

उक्त विद्यालयमा ५ सय भन्दा बढी विद्यार्थीहरु अध्यनरत छन् ।

ती सबै विद्यार्थीहरुबाट डेढ लाख भन्दा बढी रकम उठ्छ ।

परीक्षा संचालन गर्न उत्तरपुस्तिका खरिद,प्रश्नपत्र छपाइ ,परिक्षामा खट्ने गार्ड खर्च ,उत्तरपुस्तिका जाँच लगायतका कार्यहरुमा ४० देखि ५० हजार रुपैयाँ खर्च गरिसकेपछि बाँकी रहेको रकमको कुनै हिसाब किताब सार्वजनिक नगरि हिनामिना गर्ने गरेको चन्द्रनगर गाउँपालिका वडा न-३ का अभिभावक सुरेश महतो बताउँछन् ।

महतोका अनुसार यस गाउँपालिकामा रहेका २२ वटै सामुदायिक विद्यालयले यसैगरी विद्यार्थीहरु सँग पैसा उठाएर अनियमितता गर्दै आएका छन् ।

बबरगंजको दुर्गा खोभारी मावि त एउटा उदाहरण मात्र हो । विभिन्न बहानामा विद्यार्थीहरुसँग शुल्क उठाएर आफ्नो खल्ती भर्ने यस्ता विद्यालयहरु जिल्लाभरी रहेका छन् ।

यस तर्फ सम्बन्धीत निकायको ध्यान जानुपर्ने अभिभावकहरुको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्: