सिरहामा एक साता भित्रै तीनजना महिलाको हत्या भएको छ।
तीनवटै हत्यामा महिलाहरुका श्रीमानकै संलग्नता रहेको प्रहरीले जनाएको छ ।
बिहीबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-६ सितापुरकी ४० वर्षीया कुनिया देवी दास र उनका श्रीमान श्रीदेव दासबीच सामान्य विवाद हुँदा श्रीदेवले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका थिए।
सिरहाका प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार खुकुरी प्रहारबाट कुनियाको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमान श्रीदेवलाई प्रहरीले घटना लगत्तै पक्राउ गरेको थियो। घटना विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
गत आइतबार सिरहा नगरपालिका–६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको हत्या भएको थियो। घाँस लिन कमला नदीको बगरतिर गएको बेला श्रीमान रामउदगार साहले उनको हत्या गरेको प्रहरीले जनाएको छ । विवाद हुँदा श्रीमानले हँसियाले हिर्काउँदा निर्मलाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।
त्यसअघि गोलबजार नगरपालिका-६ बस्ने ३५ वर्षीया अनिता साहको समेत शुक्रबार राति ३ बजेतिर हत्या भएको थियो । सुत्ने कोठामै अनुहारमा धारिलो हतियार र टाउकोमा सिलौटा प्रहार गरी अनिताका श्रीमान महेन्द्र साहले हत्या गरेको अनुसन्धानमा खुलेको डिएसपी पाण्डेले बताए।
यस घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेपनी उनीहरुको संलग्नता नदेखिएपछि छोडिएको डिएसपी पाण्डेले बताए।सेतोपाटी