
महोत्तरीमा ऋणीबाट अनुचित रुपमा असुल गरेको ११ करोड बढी रकम मिटरब्याजीहरूले फिर्ता गरेका छन्।
उठिबास गराउनेगरी अनुचित रकम असुल गरेको भन्दै पीडितले दिएको निवेदनमाथि छलफल गरी ११ करोड १५ लाख ४ हजार ९२ रुपैँया फिर्ता गराइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हालसम्म अनुचित लेनदेन सम्बन्धित २ हजार ८ सय ३० वटा निवेदन दर्ता भएको छ ।
तीमध्ये १ हजार ३ सय ३९ वटा निवेदनमाथि छलफल भएको र ७५९ वटा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले बताए ।
उनका अनुसार रकमसँगै मिटरब्याजीहरूले कब्जा गरेका २० बिघा १३ धुर जमिन समेत पीडितले फिर्ता पाएका छन् ।
गत फागुन महिनामा मात्रै १८६ वटा छलफल भई १ सय ५५ वटा मिलापत्र गराइएको डिएसपी गिरीले बताए ।
उनका अनुसार त्यसबाट ४ करोड ९० लाख ११ हजार ३३४ रुपैंया फिर्ता भएको छ ।
त्यस्तै सोही अवधिमा ७ बिघा १३ धुर जमिन समेत पीडितले फिर्ता पाएको प्रहरीले जनाएको छ। बांकी रहेका निवेदनमाथी समेत छलफलको तयारी भइरहेको डिएसपी गिरीले जानकारी दिए। सेतोपाटी