नगरपालिकाले अनुदानमा मकैको बिउ दिँदैन, जहाँ उधारो पाइन्छ, त्यहीँ किन्ने हो : स्थानीय किसान
बारा । जीतपुर सिमरा वडा नं २० की जमुना सापकोटाले यस वर्ष डेढ बिगाहामा ९०८१ जातको मकै लगाएकी छिन् । प्रतिकट्ठा ४ देखि ५ क्विन्टल फल्ने लोभले उनले भारतीय बजार रक्सोलबाट बिउ ल्याएर कार्तिकमा मकै लगाएकी हुन् ।
कृषि प्राविधिकको सिफारिस र सल्लाहबिना भारतीय बजारबाट ल्याएर लगाएको मकैमा अहिले अनेकन् रोग र किरा लागेपछि उनलाई मकै जोगाउनै मुस्किल भएको छ । मकैको पात पहेँलो हुने, बोट ढल्दै जाने, टुप्पोबाट तलतिर पात मर्दै जाने समस्या देखिएपछि पटक–पटक औषधि छर्दा पनि समस्या समाधान नभएको उनको भनाई छ ।
सापकोटाजस्तै जीतपुरसिमरा–२० का अर्का कृषक गोपाल खड्काले यस वर्ष एक/डेढ बिगाहामा मकै खेती गरेका छन् । उनले पनि स्थानीय तहले विगतमा अनुदानमा दिँदै आएको मकैको बिउ यस वर्ष नपाएपछि स्थानीय बजारबाट भारतीय कम्पनीको मकै लगाएका छन् ।
‘नगरपालिकाले अनुदानमा मकैको बिउ दिँदैन, हामीले जहाँ उधारो पाइन्छ, त्यहीँ किन्ने हो,’ खड्काले भने ‘गाउँको पसलमा प्रायः भारतीय मकैका बिउ पाइन्छ । हामीले पनि पसलमा जुन जातको मकै आउँछ त्यही किन्ने गरेको छौँ ।’
जीतपुरसिमरा उपमहानगर भित्रका २४ वटा वडामध्ये आधाभन्दा धेरै वडाहरू ग्रामीण भेगमा पर्दछन् । ती वडाका प्रायः कृषकले सीमावर्ती भारतीय बजारमा पुगेर मल र बिउ ल्याउने गर्दछन् ।
कृषकहरूले आफूखुसी भारतीय बजारबाट ल्याएको बिउ माटो सुहाउँदो छ/छैन, मल, पानीको प्रयोग, विषादी कति मात्रामा प्रयोग गर्ने लगायत विषयमा उनीहरूलाई जानकारी हुँदैन । जसका कारण धेरै फल्ने लोभले महँगो मूल्य तिरेर ल्याएको बिउले खेतीको लागतसमेत डुब्ने गर्दछ ।
‘हाइब्रिड जातको मकै धेरै फल्छ भनेर व्यापारीहरूले किसानहरूलाई प्रभावमा पार्छन् । हामीले पनि बढी फल्ने लोभले कृषि प्राविधिकको सल्लाहबिना भारतीय कम्पनीको विकासे जातको मकै किनेर लगाएका हौँ,’ खड्काले भने । अहिले खेतमा घोगा हाल्दै गरेको मकै किसानले कार्तिक दोस्रो/तेस्रो साता लगाएका हुन्, जुन चैत पहिलो साताभित्र भित्र्याउने गरिन्छ ।
जीतपुरसिमरा–१४ का अर्का कृषक यज्ञप्रसाद तिवारीले यस वर्ष ३३५५ जातको मकै लगाएका छन् । गत वर्ष उनले ९०८१ जातको मकै लगाएका थिए । यी दुवै पायोनियर नामक भारतीय कम्पनीका बिउ हुन् । ‘९०८१ जातको मकैले अलिकति पानी र चिसो सहन्थ्यो, तर ३३५५ जातको मकैले चिसो पटक्कै सहन नसक्ने रहेछ । यो जातको मकैमा अलिकति पानी बढी भएपछि मकै ढल्ने, पात पहेँलो हुने र मर्ने रहेछ । हामीलाई पनि पहिले थाहा भएन, अहिले मकै सबै मरेपछि पछुताउनुबाहेक केही छैन,’ तिवारीले भने, ‘गत वर्ष प्रतिकट्ठा ३ क्विन्टलभन्दा बढी मकै फलेको थियो, यो वर्ष ५ क्विन्टल कट्ठाको चक्करमा लागेर बर्बाद भयो ।’
गाउँमा सबैले यही जातको मकै लगाएको देखेर तिवारीले पनि प्राविधिकको सिफारिस बिना ९०८१ जातको मकैको बिउ प्रतिकिलो एक हजार किनेर लगाएका हुन् । मकैमा सुरुमा लगाएको पानी धेरै भएपछि मकै ह्वातै अग्लो हुने र दोस्रो पटक लगाएको पानीले मकै पुरै ढल्ने, सुक्ने, पात पहेँलो हुने समस्या देखिएको तिवारीको भनाई छ । ‘प्राविधिक ल्याएर देखाए पनि समस्या समाधान भएन,’ उनले भने ।
पछिल्लो समय ग्रामीण भेगका किसानहरूले धेरै उत्पादन लिने लोभले भारतीय कम्पनीका बिउहरू जथाभाबी किनेर लगाउँदा स्थानीय जातहरू लोप हुँदै गएका छन् । विकासे जातको मकै प्रतिकट्ठा ३ देखि ४ क्विन्टल फल्दा स्थानीय जातको मकै प्रतिकट्ठा एक क्विन्टल मात्रै फल्ने स्थानीय कृषकहरूको भनाई छ ।
तर जीतपुरसिमरा–२० का विष्णु आचार्यले यस वर्ष १ बिगाहामा लगाएको मकै ८० प्रतिशत भन्दा धेरै मरेको छ । ‘डढुवा रोग जस्तो लागेको छ । औषधी छर्दा–छर्दा पात मर्ने, बिस्तारै बोटै मर्ने समस्या देखिएको छ,’ आचार्यले भने, ‘पोहोर साल प्रतिकट्ठा साढे ४ क्विन्टल फलाएको थिएँ । यो वर्ष सोचेको जति कहाँबाट आम्दानी हुनु ? अहिले २ क्विन्टल पनि निस्कन गाह्रो छ । यो पालि घाटा हुन्छ ।’
कृषक आचार्यले मकै खेतीमा प्रतिकट्ठा ३ देखि ४ हजार खर्च लागेको बताउँछन् । उनले यो वर्ष एग्री केयर कम्पनीको ३१५५ जातको र निजीभुजी कम्पनीको १२५५ जातको मकै लगाएका थिए । ‘१ बिगाहा जग्गामा गत वर्ष ७१ क्विन्टल मकै भएको थियो, २ लाख ४७ हजारको बेचेँ । यसपालि लागत निस्कन पनि गाह्रो छ,’ आचार्यले भने, ‘हामीले कृषि प्राविधिकको सल्लाहबिना स्थानीय बजारमा बिउ आफूखुसी किनका थियौँ ।’ आचार्यले कार्त्तिक अन्तिम साता लगाएको मकैमा पुस १५ देखि रोग र किरा देखिन थालेपछि ३ पटकसम्म औषधि छरेका थिए ।
जीतपुर सिमरा उपमहानगरका कृषि प्राविधिक धिरज पौडेलले कृषकहरूमा बिउको छनोटमा सबैभन्दा धेरै समस्या देखिएको बताएका छन् । ‘स्थानीय व्यवसायीहरूलाई फाइदा धेरै हुने र पसलमै ल्याएर दिने भएकोले पनि भारतीय जातका मकैका बिउहरू स्थानीय बजारमा धेरै बिक्री भइरहेका छन् । हाम्रो ‘रामपुर कम्पोजिट’ जातको स्थानीय जातका बिउहरू उत्पादन भइरहेको छ तर प्रचारप्रसार छैन,’ पौडेलले भने, ‘हाम्रो अर्को ठुलो समस्या भनेको यूरिया, डीएपी र पोटासमात्रै प्रयोग गरेर खेती गर्ने प्रचलन छ जसले गर्दा माटोमा सबै प्रकारका पोषक तत्त्व नपुग्दा बाली फस्टाउन नसक्ने र नयाँ नयाँ जातका रोगहरू देखिएका छन् ।’
उपमहानगरभित्र यस वर्ष करिब २ सय हेक्टरमा मकै खेती भएको प्राविधिक खड्काले जानकारी दिए । मकैमा फौजी किराको प्रकोप र ढुसी जातका रोगहरू बढी देखिएको पौडेलको भनाई छ ।
‘यसको नियन्त्रणको लागि हामीले ठाउँ–ठाउँका बाली शिविर सञ्चालन गरेर रोग, किरा नियन्त्रण छिटो होस् र कृषकहरूलाई चिन्न सजिलो होस् भन्नका लागि नमुना विषादी पनि वितरण गरेका छौँ,’ उनले भने, ‘चालु आर्थिक वर्षमा हामीले मकैको बिउ वितरण गरेका छैनौँ । कृषकहरूले आफूखुसी किनेर लगाउनुभएको छ ।’
‘सीमावर्ती जिल्लाका कृषकहरूले बालीको छिटो उत्पादन लिने होडले जथाभाबी रासायनिक मल र विषादीहरूको प्रयोग गर्ने गरेका छन् । यसले गर्दा माटोमा अम्लीयपना बढ्दै गएको र रोग किरासँग लड्न सक्ने क्षमता कमजोर हुँदै गएको छ,’ उनले भने ।
यो वर्ष पालिकाभित्र कृषि तथ्याङ्क सङ्कलन गर्न उपमहानगरले कृषि सर्वेक्षण सुरु गरेको छ । सो सर्वेक्षणको नतिजा केही दिनभित्रका आउने उपमहानगरले जनाएको छ । सर्वेक्षणको प्रारम्भिक तथ्याङ्कमा गोबर मल प्रयोग कम भएको माटोमा रोग र किरा बढी देखिएको र माटोको सहन सक्ने क्षमता समेत कम भएको प्राविधिक पौडेलले जानकारी दिए । रातोपाटी