निर्माण व्यवसायकै हितअनुकूल खरिद नियमावली पटकपटक संशोधन हुने तर समयमै आयोजना सम्पन्न नहुने समस्यामा कत्ति पनि सुधार नहुनुले संशय उब्जाएको छ । खरिद नियमावलीको प्रायः संशोधन हेर्दा निर्माण व्यवसायीकै दबाबमा सरकारले पटकपटक नियमावली परिमार्जन गर्दै आएको देखिन्छ । सरकारले पाँच वर्षमा आठौं पटक खरिद नियमावली संशोधन गर्नु यसको ज्वलन्त उदाहरण हो ।
पछिल्लो पटक गत साता मात्र सरकारले खरिद नियमावली ०६४ को १३औं संशोधन गरेको छ । यससँगै अब म्याद सकिएका आयोजनामा आवश्यकताअनुसार म्याद थप गर्न बाटो खुलेको छ । म्याद थपका लागि निर्माण व्यवसायीले नियमावली संशोधन भएको मितिबाट ३० दिनभित्र निवेदन दिन सक्नेछन् । संशोधनमा सम्झौता अवधिभित्र काम सम्पन्न हुन सक्ने अवस्था नदेखिएका आयोजनामा निर्माण व्यवसायीले पेस गरेको कार्यतालिकाबमोजिम म्याद थप गर्न पाइने व्यवस्था छ । तर, संशोधित कार्यतालिका र म्याद थपका कारण थप आर्थिक दाबी गर्न नपाइने व्यवस्था पनि नियमावलीमा छ ।
०७६ यता खरिद नियमावली व्यवसायीको दबाबमा परेर सरकारले संशोधन गर्दै आएको देखिन्छ । केपी शर्मा ओलीको पालामा पाँच, शेरबहादुर देउवाको पालामा दुई र पुष्पकमल दाहालको पालामा एक पटक नियमावली संशोधन गरिएको छ । ०७६ सालमा ओली प्रधानमन्त्री रहेका बेला मात्रै नियमावली चार पटक संशोधन भएको थियो । छैटौं संशोधन ०७६ वैशाख ३०, सातौं संशोधन ०७६ जेठ २३, आठौं संशोधन ०७६ साउन १६ र नवौं संशोधन ०७६ पुस १४ मा भएको हो । पाँचौं पटक ०७७ वैशाख १५ मा १० औं संशोधन गर्दा पनि प्रधानमन्त्री ओली नै थिए । देउवा प्रधानमन्त्री छँदा नियमावली दुई पटक संशोधन भयो ।
देउवाले सरकारको नेतृत्व लिएका बेला ०७८ चैत ३ मा ११औं र ०७९ असार २० मा १२औं संशोधन भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत साता १३औं पटक संशोधन गर्ने निर्णय गरेको हो । यहाँ नीति संशोधन किन गरियो भन्ने प्रश्नभन्दा पनि संशोधित नियमावलीको उपलब्धि के रह्यो, उद्देश्यअनुसार लक्ष्य प्राप्त किन हुन सकेन भन्ने प्रश्नको जवाफ सम्बन्धित सरकारले दिन सक्नुपर्छ । किनकि नियमावली संशोधनकै कारण न कुनै आयोजना समयमै सम्पन्न भए, न त नयाँ आयोजना थपियो । न सरकारको पुँजीगत खर्च बढ्यो, न त धेरै विदेशी लगानी भित्रियो ।
सरकारका यस्ता गतिविधिले सीमित व्यक्ति वा समूहको हित हुने गरी नीति संशोधन गर्ने प्रवृत्ति पछिल्ला वर्ष मौलाउँदै गएको छ । समग्र राष्ट्रको हितका लागि नभई निश्चित समूहको स्वार्थअनुकूल हुँदै आएका यस्ता नीतिगत संशोधनले एकातिर मुलुकको अहित भएको छ भने अर्कोतिर चरम नीतिगत भ्रष्टाचार मौलाउँदै जानु चिन्ताको विषय हो । पछिल्लो पटकको खरिद नियमावलीको संशोधनको उद्देश्य बुझ्न चालु आर्थिक वर्षको सुरुका महिनादेखि निर्माण व्यवसायीको भुक्तानी सम्बन्धमा सरकार र ठेकेदारबीचको विवादलाई सूक्ष्म रूपमा नियाल्नुपर्छ । काम सम्पन्न भएका आयोजनाको पनि भुक्तानी नदिएको भन्दै चालु आर्थिक वर्षभरि नै सरकारले निकै आलोचना खप्न परेको छ । निर्माण व्यवसायीको भुक्तानी नदिएकै कारण सरकारी खर्च बढ्न नसकेको, निर्माण सामग्रीको माग घटेको, निर्माणको काम ठप्प भएको, बैंकमा कर्जा माग नबढेको र समग्रमा आर्थिक गतिविधि नै चलायमान बन्न नसकेको आरोप सरकारलाई लाग्दै आएको छ ।
जायज कारणले समयमा आयोजना सम्पन्न हुन नसकेका आयोजनामा सरकारले म्याद थप गर्नुपर्छ भन्नेमा दुईमत छैन । तर, हरेक सरकारले आफ्नो हितअनुसार नियमावली संशोधन गर्ने तर त्यसको आवश्यकता र औचित्य पुष्टि गर्न नसक्ने प्रवृत्ति कदापि राम्रो होइन । आर्थिक कुशासन, नीतिनिर्माणमा कच्चापन, नीति कार्यान्वयनको अभाव नेपालका पुरानै समस्या हुन् । अर्थतन्त्र सुधारका लागि गर्नैर्पर्ने मध्यमकालीन र संरचनागत समस्या पनि ज्युँका त्युँ छन् । युवा बेरोजगारी, कम उत्पादकत्व, उच्च लागत, धराशायी निर्यात, कमजोर वित्तीय प्रणाली, रेमिट्यान्स र आयातमा आश्रित कर र उत्पादन, अधिक कर्जाजस्ता समस्या छँदै छन् । यी संरचनागत समस्या सम्बोधन गर्न फरक शैली र क्षमताको सरकार तथा अर्थ–राजनीतिक नेतृत्व चाहिन्छ । तर, राजनीतिक नेतृत्वमा मैले जे गरे पनि हुन्छ भन्ने शासकीय अहंकार, नीति–कार्यक्रममा बढ्दै गएको हचुवापनले मुलुकको हित गरेको छैन ।
आयोजनाको अत्यधिक संख्या र सिर्जना भएको दायित्व व्यवस्थापन एउटा संवेदनशील विषय बनेको छ । बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृत्तिले थप समस्या सिर्जना गरेको छ । अनिवार्य दायित्वको परिमाण ठूलो रहेको र अनावश्यक देखिएका संरचना खारेज नगर्ने प्रवृत्ति विद्यमान छ । वैदेशिक सहायताको उपयोग क्षमता कमजोर छ । यस्तो उपयोग विनियोजनको औसत ५० प्रतिशत जति मात्र रहेको छ । सञ्चित कोषलाई सन्तुलित अवस्थामा राख्न र गैरबजेटरी मागलाई निरुत्साहित गर्ने विषय पेचिलो बनेको छ ।
सरकारको आय र व्ययबीच असन्तुलन, पर्याप्त तयारीबिना बजेट प्रस्ताव गर्ने प्रवृत्ति, सरकारी ऋणको मात्रा बढ्दै जानु र भुक्तानी दायित्व उच्च रहनु, अनिवार्य दायित्वको मात्रा बढी रहनु र विकास पूर्वाधारमा लगानीका लागि वित्त दायरा न्यून रहनु नै अहिलेका प्रमुख चुनौती हुन् । यी समस्या समाधान गर्दै वास्तविक क्षेत्रमा आर्थिक क्रियाकलाप विस्तारमार्फत उत्पादन र उपादकत्व वृद्धि गर्नु सरकारको प्रमुख दायित्व हो । यसका लागि सरकारले ठूलो परिमाणमा विकास खर्च बढाउनुपर्छ । यसतर्फ सरकारको ध्यान जाओस् । कान्तिपुर