Loktantra Khabar National Weekly
Ad

प्रहरीको पहरामा पढिरहेका छन् शालीनका साथीहरू

लोकतन्त्र खबर
२१ फाल्गुन २०८०

सुसाइड नोटमा शालीनले लेखेकी थिइन्- एभ्रिबडी आई एम सरी!

आइतबार दिउँसो चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको एकता शिशु निकेतन स्कुल पुग्दा गेटमा प्रहरीहरू तैनाथ थिए।

गेटबाहिर अभिभावकको बाक्लै जमघट थियो। उनीहरू फागुन १२ गते बिहान छात्राबासमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलका बारेमा कुरा गर्दै थिए। आफ्ना सन्तानको विषयमा पनि कुरा गर्दै थिए।

कक्षा ८ मा अध्ययनरत शालीन आफू बस्दै आएको एकता शिशु निकेतन स्कुलको छात्राबासमा डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

शालीनको मृत्यु भएपछि उनको परिवार र आफन्तले हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए। बलात्कार गरेर हत्या गरिएको दाबी गर्दै उनीहरूले स्कुलका प्रधानाध्यापक, सह-प्रधानाध्यापक र होस्टल वार्डेनको नाम किटान गरेर जाहेरी दिएका थिए। त्यसैको आधारमा प्रहरीले उनीहरू तीनै जनालाई पक्राउ गरेर हिरासतमा राखेको छ। जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

काठमाडौंस्थित शिक्षण अस्पतालमा गरिएको पोस्टमर्टमको रिपोर्टले भने शालीनको मृत्यु झुन्डिएर भएको देखाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालले पोस्टमर्टम रिपोर्टमा शालीनको मृत्युको कारण डोरीमा झुन्डिएको बाहेक उल्लेख नभएको जानकारी दिए।

‘शालीनको परिवारले दाबी गरेजस्तो पोस्टमर्टम रिपोर्टमा देखिएन। हामी अनुसन्धानकै चरणमा छौं। विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ रिमालले भने।

घटनाको अनुसन्धान नटुंगिएसम्म स्कुल सञ्चालन नगर्न दबाब आएको थियो। त्यसैले केही दिन स्कुल बन्द भएको थियो। गत शुक्रबारदेखि भने प्रहरीले सुरक्षा दिएर पढाउन थालिएको हो।

स्कुलका प्लस टु संयोजक रमेशप्रसाद शर्माले स्कुलकी छात्राको मृत्युको मात्रै नभएर त्यसपछि भएका गतिविधिको असर पनि विद्यार्थीमा परेको बताए।

‘कक्षा ८ मा ७८ जना विद्यार्थी थिए। आज ७४ जना विद्यालय आएका छन्। संख्यामा त खासै असर छैन। तर बाहिर बेला–बेलामा हुने असहज गतिविधिको असर परेको छ,’ उनले भने, ‘अभिभावकहरू बालबालिकालाई लिएर स्कुल आउने र पर्खिएर लिएर जाने गर्नुभएको छ।’

यो विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ११ सय जना विद्यार्थी अध्ययन गर्छन्।

यो घटनापछि विद्यालयले छात्राबासमा विद्यार्थी राखेको छैन। टाढा घर भएकाहरू कोही विद्यालय आएका छैनन्। कसैले अन्यत्र भाडामा कोठा लिएर बालबालिकालाई विद्यालय ल्याउने, लैजाने गरेका छन्।

पौडेलले यो घटनाको असर विद्यार्थीको मानसिकतामा पर्न नदिन मनोसामाजिक परामर्शदातालाई विद्यालयमा ल्याएर विद्यार्थीहरुलाई परामर्श दिने तयारी गरेको बताए।

स्कुलका शिक्षकहरूका अनुसार मृतक शालीन मध्यम स्तरकी विद्यार्थी थिइन्। अन्य विषयमा भन्दा अंग्रेजीमा राम्रो गर्दै आएकी थिइन्। विद्यालयमा हुने सबैजसो अतिरिक्त क्रियाकलापहरूमा उनी सहभागी हुन्थिन्। नेसनल क्याडेट कर्प्स (एनसिसी) र स्काउटमा पनि उनको राम्रो लगाव थियो।

शालीन चार वर्षकी छँदा उनका आमाबुबा छुट्टिएका थिए। उनीहरू दुवैले दोस्रो बिहे गरिसकेका छन्। रत्ननगर–१५ माधवपुरमा मामाघर रहेकाले शालीन दुई वर्षदेखि चितवनको यो स्कुलमा पढिरहेकी थिइन्। उनका बुबाको घर गोरखा हो।

उनकी मामाघरकी हजुरआमाको बहिनीको घर उनले पढ्ने स्कुल नजिकै छ। स्कुलका शिक्षकहरूका अनुसार हजुरआमाकी बहिनी शालीनका बारेमा बुझ्न आइराख्थिन्।

‘उहाँबाहेक अरू कोही आएको भने जानकारी छैन,’ स्कुलका कर्मचारीले भने, ‘शालीनको स्कुलको र होस्टलको शुल्क पहिले उनकी आमाले बैंकमार्फत पठाउँथिन्। पछिल्ला केही महिना भने बुबाले पठाएका थिए।’

स्कुलका कर्मचारी र शालीनका साथीहरूले बताएअनुसार फागुन १२ गते बिहान सधैंजसो पौने दस बजेतिर खाना खाने घन्टी बज्यो। तेस्रो तलामा रहेको छात्राबासमा रहेका विद्यार्थी खाना खान भुइँतलामा रहेको क्यान्टिनमा झरे। शालीन भने तल झरिनन्। अरू साथीहरू सँगै निस्किएकी उनी कोठा वरपर मात्रै हिँडिराखिन्।

सँगै बस्ने साथी खाना खाएर उक्लिँदा कोठाको ढोकामा चुकुल लागेको थियो। उनले ढोका ढकढकाइन्। भित्रबाट कुनै प्रतिक्रिया आएन। शालीनको नाम लिएर बोलाइन्, कुनै आवाज आएन। अनि तुरून्तै शिक्षकलाई बताइन्।

दोस्रो तलामा कक्षा १० को परीक्षाको तयारी भइरहेको थियो। आडैमा रहेको भवनमा कक्षा १२ को प्रयोगात्मक कक्षा चलिरहेको थियो। छात्राबासको कोठामा चुकुल लागेको, भित्रबाट कुनै प्रतिक्रिया नआएको कुरा स्कुलभरि फैलियो। प्रहरीलाई खबर भयो।

‘चुकुल फुटाएर हेर्दा शालीन झुन्डिएकी थिइन्। मृत्यु भइसकेको थियो,’ चितवनका प्रमुख एसपी भावेष रिमालले भने, ‘जीवितै भए उद्धार गर्न सकिन्छ कि भनेर हतारमा ढोका फोरिएको थियो। तर यही कुरालाई लिएर प्रमाण लुकाउन ढोका खोलिएको भन्ने हल्ला चलाइएको छ।’

रिमालले शनिबार मात्रै चितवनमै एक महिलाले आत्महत्याको प्रयास गरेको थाहा पाएलगत्तै प्रहरीले ढोका फोरेर उद्धार गरी अस्पताल पुर्‍याएर बचाउन सफल भएको बताए।

‘यो घटनामा पनि त्यस्तै हो कि भनेर ढोका फुटाइएको थियो। तर यसलाई गलत तरिकाले व्याख्या गरिँदैछ,’ उनले भने।

पौने १० बजेदेखि सवा १० बजेभित्रको समयमा यो घटना भएको रिमाल बताउँछन्।

स्कुलको सिसिटिभी फुटेजमा पनि अरू साथीहरू खाना खान झरेपछि शालीन केहीबेर भित्र, बाहिर गरेको र एक्लै कोठाभित्र छिरेको देखिएको एसपी रिमालले बताए। चुकुल लगाएर उनले स्काउटको डोरीको पासो लगाएर झुन्डिएको देखिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रीराम भण्डारीका अनुसार शालीनको कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको छ।

त्यसमा ‘एभ्रिबडी आई एम सरी, अहिलेसम्म मैले जति गल्ती गरेँ। ममीबाबालाई सम्झिएको छ भनिदिनु…’ लेखिएको उनले बताए।

नोटमा भएको अक्षर उनका अन्य कापीहरूको अक्षरसँग दाँज्दा मिल्दो देखिएको उनले बताए। त्यसलाई थप परीक्षण गर्न प्रयोगशाला पठाइएको छ।

डिएसपी भण्डारीले छात्राबासमा भएको चाउचाउ चोरीको एउटा प्रसंग पनि सुनाए।

‘छात्राबासमा बस्ने बालिकाहरूले चाउचाउ खाने सल्लाह गरेछन्। बाकसमा रहेको चाउचाउ झिक्न खोज्दा एक बालिकाको बाकसमा चाउचाउ फेला परेनछ। खोज्दै जाँदा त्यो चाउचाउ मृतक शालीनको बाकसमा भेटिएछ,’ डिएसपी भण्डारीले भने, ‘यो कुराको असर उनको मस्तिष्कमा कति पर्‍यो भन्ने त यसै भन्न सकिँदैन। तर बयानमा अरू छात्राहरूले यो कुरा पनि भनेका छन्।’

कक्षा शिक्षक तनु मल्लले शालीनको गतिविधि, व्यवहारले कहिल्यै पनि उनी यो अवस्थामा भेटिन्छिन् भनेर अनुमान नगरेको बताइन्।

गत पुसमा शालीनले तनुलाई आफ्नो परिवारबारे बताएकी थिइन्। शालीनले आफ्नो भाइ जन्मिएको खबर सुनाउँदै यसबारे बताएकी मल्लले बताइन्।

‘मेरो दुईवटा परिवार छ, बुबा र आमाको छुट्टै परिवार छ, आमा दुबईमा बस्नुहुन्छ, मलाई पनि लैजाने भन्नुभएको छ, उतै जान्छु होला भनेकी थिइन्,’ अंग्रेजी विषय पढाउने शिक्षक मल्लले भनिन्, ‘बाबासँग खासै कुरा हुँदैन। अचेल केही महिनाको स्कुलको फी उहाँले पठाउनुभएको सुनेकी छु भनेकी थिइन्।’

गत पुसमै नवलपुरको हात्तीखोरस्थित राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा भएको एनसिसी तालिममा शालीन सहभागी भएकी थिइन्।

त्यो बेला भएको अर्को एउटा प्रसंग स्कुलकी शिक्षक प्रतिमा मिश्रले सुनाइन्।

उक्त तालिममा ११ जिल्लाका १५ स्कुलका सयौं छात्रछात्रा भेला भएका थिए। तालिमका सहभागीलाई हप्तामा एक दिन अभिभावकसँग भेट्ने व्यवस्था मिलाइएको थियो। मिश्रका अनुसार सबै एकआपसमा खुसी साटिरहँदा शालीन भने कुनातिर बसेर रोइरहेकी थिइन्।

शिक्षक मिश्रले शालीनलाई साथीहरू भएको ठाउँमा बोलाउँदा पनि उनी आइनन्। मिश्रले शालीनका साथीहरूलाई यसबारे सोधिन्। साथीहरूले सबैका अभिभावक आउँदा आफ्ना कोही नआएकाले शालीन रोएको बताएका थिए।

‘उनका साथीहरूले भनेपछि मैले थाहा पाएँ र उनलाई अंकमाल गरेँ। तिम्रो नजिकको मान्छे को छ, म फोन लगाइदिन्छु भनेँ। तर उनले मानिनन्,’ मिश्रले भनिन्, ‘अन्तिम दिनको दीक्षान्त कार्यक्रममा उनले थारू संस्कृति प्रदर्शन गर्दा आमाको भूमिका निर्वाह गरेकी थिइन्। म अहिले त्यही सम्झिरहेकी छु।’ सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: