साउदी अरब र जोर्डनमा मात्र नभएर खाडी क्षेत्रका सञ्चारमाध्यमले पनि प्रतियोगिताभर नेपाली टिमले गरेको प्रदर्शनको खुलेर प्रशंसा गरेका छन् । नेपाली टिमको प्रदर्शन छिटोछरितो र प्राविधिक रूपमा अब्बल थियो ।
साउदी अरबको जेद्दामा हालै भएको वाफ वुमेन्स च्याम्पियनसिपमा नेपालको प्रदर्शनले सबैको ध्यान खिच्न सफल भएको छ । पश्चिम एसियाली क्षेत्रको महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा आमन्त्रित टिमका रूपमा पहिलो पटक खेलेर नेपाल फाइनल पुग्यो ।
फाइनलमा नेपालले आफूभन्दा निकै बलियो जोर्डनलाई कडा चुनौती दियो । सर्वाधिक पाँचपटक र लगातार तीनपटक उपाधि जितिसकेको जोर्डनलाई नेपालले निर्धारित समयमा बराबरीमा रोक्यो । टाइब्रेकरमा पराजित भएर उपाधिबेगर फर्कनुपरे पनि नेपाली टिमको सर्वत्र प्रशंसा भयो । वाफ वुमेन्स च्याम्पियनसिपको प्रदर्शनले नेपाली टिम र फुटबलरका लागि प्रचुर सम्भावनाको ढोका खोलेको छ ।
वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनल र लिग चरणमा नेपालको प्रदर्शन अब्बल दर्जाको थियो । सेमिफाइनलमा नेपालले लेबनानलाई हराएको थियो । लिग चरणमा नेपालले प्यालेस्टाइन, सिरिया र इराकमाथि उत्तिकै सजिलो जित निकालेको थियो । पश्चिम एसियाली क्षेत्रको महिला फुटबलमा सबैभन्दा बलियो टिम जोर्डनसँग फाइनलमा उत्रँदा नेपालसँग मुख्य स्ट्राइकर सावित्रा भण्डारी थिइनन् । सेमिफाइनलपछि उनी फ्रान्सेली लिग खेल्न उडिसकेकी थिइन् । फाइनलमा अग्रता नेपालले लिए पनि निर्धारित समय २–२ को बराबरी टुंगियो । त्यसपछि टाइब्रेकरमा नेपाली टिम ५–३ ले पराजित भयो । फिफा वरीयतामा जोर्डन नेपाल (१०५ औं) भन्दा धेरै माथि (७४ औं स्थान) छ । जोर्डनले एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता वुमेन्स एसियन कप दुईपल्ट खेलिसकेको छ । त्यही टिमविरुद्ध नेपालले फाइनलमा बराबरीका चुनौती पेस गर्नु पनि प्रशंसनीय थियो ।
साउदी अरब र जोर्डनमा मात्र नभएर खाडी क्षेत्रका सञ्चारमाध्यमले पनि प्रतियोगिताभर नेपाली टिमले गरेको प्रदर्शनको खुलेर प्रशंसा गरेका छन् । नेपाली टिमको प्रदर्शन छिटोछरितो र प्राविधिक रूपमा अब्बल थियो । प्रतियोगितामा नौ गोल गरेकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता भइन् । नेपालको प्रदर्शन उम्दा हुनुमा खेलाडी र प्रशिक्षकलाई नै श्रेय जान्छ । उनीहरूले छोटो अवधिको तयारीमै राम्रो प्रदर्शन गरे । वाफ वुमेन्स च्याम्पियनसिपमार्फत् अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालको क्षमता उजागर गरेको छ र यसले प्रचुर सम्भावना देखाएको छ । नेपाली महिला खेलाडीले विदेशमा व्यावसायिक फुटबल खेल्ने सम्भावना बढाएको छ । सावित्रा भण्डारी अहिले नै फ्रान्सको माथिल्लो डिभिजनको महिला लिगमा खेल्छिन् । कप्तान एन्जिला सुब्बासँगै छ खेलाडी भारतको माथिल्लो डिभिजनका क्लबका अनुबन्धित छन् । पुरुष विश्वकप आयोजना गर्ने संघारमा रहेको साउदी अरबले आफ्नो भूमिमा आयोजना गरेको यो नै महिलाको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । साउदी अरबमा महिलाको छुट्टै लिग पनि सुरु भइसकेको छ र त्यसले विदेशी खेलाडीलाई अनुबन्ध गरिहेको छ । त्यस लिगले नेपाली खेलाडीलाई अनुबन्ध गर्ने सम्भावना पनि बलियो भनेको छ । नेपाली महिला खेलाडीले राम्रो खेल्न सक्ने हो भने अरू विदेशी व्यावसायिक लिगमा पनि अवसर खुल्नेछ ।
सम्भावनाका बाबजुद नेपालमै भने महिला फुटबलको विकासमा खासै केही भएको छैन र यो लगातार अपहेलित खेलका रूपमा रहेको छ । सन् १९८६ देखि नेपाली महिलाले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेका हुन् र त्यसयता यसको विकासमा कुनै ठोस योजना र कार्यक्रम बनेको छैन । मुलुकभित्र महिला फुटबलको नियमित प्रतियोगिता नै हुँदैन र अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत यसमा पर्याप्त ध्यान दिन सकेको छैन । नेपाली टिमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्दा भने बधाई दिने होड चल्छ तर महिला फुटबलको समुन्नतिमा भने चासो दिइँदैन । एन्फामा नयाँ नेतृत्व आएयता महिला लिग नै हुन सकेको छैन । नयाँ नेतृत्वले सञ्चालन भइरहेको लिगलाई पनि बीचमै टुंग्याएर समाप्त भएको घोषणा गरेको थियो । त्यस अर्थमा नेपाली महिला टिमले साउदी अरबमा गरेको प्रदर्शनको श्रेय एन्फामा नेतृत्व गरिरहेकालाई जाँदै जाँदैन । तर महिला फुटबलका विकासका लागि शृंखलाबद्ध प्रतियोगिता गर्ने, विकासका कार्यक्रम बनाउने र अन्तर्राष्ट्रिय सहभागी बढाउने जिम्मेवारी एन्फाकै हो ।
एन्फाले सन् २०२७ को महिला विश्वकप खेल्ने लक्ष्य राखेको छ । तर यो नारामै सीमित छ । उसले उल्टै महिला फुटबललाई अवमूल्यन गरेको छ । एन्फाको यस्तै उदासीनताले विश्वकप खेल्ने लक्ष्य पूरा हुँदैन । बरु केही जोडबल गर्ने हो भने नेपाली महिला टिम एसियन कपमा छनोट हुने सम्भावना प्रबल रहेको वाफ वुमेन्स च्याम्पियन्सको प्रदर्शनले प्रस्ट्याएको छ । खेलाडीलाई प्रतिस्पर्धाको नियमित अवसर, प्रशिक्षण र प्रोत्साहनका कार्यक्रम एन्फाले ल्याउनुपर्छ र यसमा नेपाल सरकारले पनि यसमा सक्दो सहयोग गर्न सक्नुपर्छ । कान्तिपुर