चितवनको छात्रावासमा एक जना बालिकाको मृत्यु भएपछि शवको पोष्टमर्टम गर्न काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइएको छ।
गत शनिबार बिहान रत्ननगर नगरपालिका-१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो।
उनको शवको पोष्टमर्टमका लागि काठमाडौंस्थित महाराजगञ्ज टिचिङ अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।
‘अस्ति पोष्टमर्टमका लागि शव टिचिङमा लगिएको थियो, रिपोर्ट आइसकेको छैन,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ।’
डिएसपी भण्डारीका अनुसार बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
उनको मृत्यु भएपछि मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए।
उक्त जाहेरीपछि प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।
बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्।
उनीहरूमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमती समेत दिएको छ। सेतोपाटी