Loktantra Khabar National Weekly
Ad

बाहुबलीय होइन, कुशल नेतृत्वको खाँचो

लोकतन्त्र खबर
१७ फाल्गुन २०८०

लोकतन्त्र पुनःस्थापनापछि नेपालले हासिल गरेको आर्थिक विकास सन्तोषजनक छैन तर विकास प्रक्रियाले विगतमा भन्दा बढी गति लिएको छ ।

आवधिक निर्वाचन र शान्तिपूर्ण सत्ता हस्तान्तरणलाई आत्मसात् गर्ने हो भने लोकतन्त्रले जरा गाडेको अनुभूति हुन्छ । लोकतन्त्र स्थापनापश्चात्को ३३ वर्षे अवधिमा संविधानसभाको दुई पटकसहित ७ वटा आमनिर्वाचन भए । निर्वाचन प्रक्रियामा जनसहभागिता उत्साहजनक थिए । स्थापित निर्वाचन प्रणालीका घोर विरोधी राजनीतिक दलहरूसमेत निर्वाचनमा सामेल भए । अर्कातर्फ उक्त अवधिमा ३० पटक सरकार परिवर्तन भयो ।

गणतन्त्र स्थापनापश्चात्को १७ वर्षे कालखण्डमा १३ पटक सरकार परिवर्तन भयो । राजतन्त्रको बिदाइसमेत शान्तिपूर्ण भयो । मुलुकमा राजा, प्रधानमन्त्री सबैले सत्तामा रहने वैधानिकता गुमाउँदा सहज ढंगले सत्ता हस्तान्तरण गर्दै आएका छन् ।

निर्वाचन मिति घोषणा गरिँदा नागरिकमा आशा तथा उत्साहको लहर फैलिने गर्छ । विडम्बना, निर्वाचनको नतिजापछि नयाँ सरकार गठन प्रक्रियासँगै त्यसरी उर्लिएको जनउत्साह शिथिल हुन थाल्छ । विगतमा असफल सावित भएका पुरानै नेतामध्ये एकले पुनः सरकारको नेतृत्व गर्ने निर्णय वा राजनीतिक सहमति हुन्छ । ‘आकर्षक मत्रालय’ को भागबन्डामा लफडा चल्छ । मन्त्रिपरिषद्ले पूर्णता प्राप्त गर्न समय लाग्छ । जब मन्त्रिपरिषद्ले पूर्णता पाउँछ, पुराना चिरपरिचित पात्रहरूकै वर्चस्व हुन्छ । यसले जनमानसमा निराशा फैलिन्छ । सरकारले अख्तियार गर्ने नीति तथा राज्य सञ्चालन विधि उही पुरानै हुन्छन् । निर्वाचन याममा फैलिएको आशाको ज्वालामा तुसारो पर्ने क्रमले निरन्तरता पाउँदै आएको छ ।

बेथिति, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, कानुनी राज्य प्रणालीविपरीतका गतिविधि तथा दण्डहीनताजस्ता कारणले स्थापित नेतृत्वलाई सर्वसाधारणले विश्वास गर्दैनन् । नेतृत्वले लिएको सही निर्णयलाई समेत शंकाको दृष्टिले हेरिन्छ । कुशासनबाट पीडित नागरिक विद्यमान अवस्थाबाट उन्मुक्ति पाउनका निम्ति स्थापित नेतृत्वको विस्थापन अनिवार्य ठान्छन् ।

नेतृत्व परिवर्तनको चर्चा चल्दा इतिहासमै बाँच्न रुचाउने अर्थात् विगतलाई स्वर्णयुग ठान्ने जंगबहादुर राणा तथा राजा महेन्द्रजस्तै बाहुबलीय शासकको आवश्यकता औंल्याउने गर्छन् । कोही भने निरंकुश तर निःस्वार्थ ‘बेनिभोलेन्ट डिक्टेटर’ को वकालत गर्छन् । अतिवादीचाहिँ सेनाले सत्ता सम्हाल्नुपर्ने जिकिर गर्छन् । यस तप्काका अधिकांश मानिस राजसंस्था पुनःस्थापनाले शासन पद्धतिमा क्रम भंग हुने प्रचार गर्छन् ।

इतिहास साक्षी छ, नेपाली हामी माथि उल्लेख गरिएका सबै प्रकारका शासकबाट शासित भइसकेका छौं । नेपाली परिप्रेक्ष्यमा सेनाले सत्ता हत्याउने भन्नु सेनाकै आडमा शासन सञ्चालन गर्ने राजा–महाराजालाई सेनाले विस्थापित गर्ने विकल्प मात्रै हो । कहलिएका बाहुबलीय शासक जंगबहादुरका पालामा नागरिकको हैसियत ‘रैती दुनियाँ’ मै सीमित थियो । रैती दुनियाँको कर्तव्य सरकारलाई तिरो तिर्नुमै सीमित थियो । अधिकारविहीन रैती दुनियाँले तिरेको तिरोमा रजगज गर्दै विलासी जीवन सञ्चालन गर्नु शासक वर्ग तथा तिनको परिवारको अधिकारजस्तो थियो । महाराज जंगबहादुरले स्थापित गरेको तथा तिनकै परिवारले सञ्चालन गरेको १०४ वर्ष लामो शासनकालभरि यही पद्धतिले निरन्तरता पायो ।

‘राष्ट्रनायक’ राजा महेन्द्र विश्वको अन्य कुनै तानाशाह (डिक्टेटर) भन्दा पृथक् थिएनन् । राष्ट्र तिनको सम्पत्ति थियो । नागरिकले सेवकको हैसियत राख्थे । राष्ट्रिय सम्पत्ति विशेष गरी जंगल तथा अमूल्य काठ उनको स्वविवेकमा वितरण हुन्थ्यो र दरबारमा मुआब्जा दाखिल हुन्थ्यो । राजा महेन्द्रले राज्यरोहणलगत्तै ‘विकासको मूल फुटाउने’ घोषणा गरे । राजपरिवारका सदस्यहरू व्यापारिक क्षेत्रमा संलग्न भए । पञ्चायतविरोधीलाई बेपत्ता पार्ने, बिनाकानुनी प्रक्रिया जेल सजाय दिनेजस्ता कार्यलाई निरन्तरता दिइयो । हत्कडी लागेका राजनीतिक बन्दीलाई ‘बन्दीगृह सार्ने’ बहानामा जंगलमा मात्र होइन, जावलाखेलमै गोली ठोकेर हत्या गरियो । हतियार बिसाएर आत्मसमर्पण गर्ने विद्रोहीको पनि ‘अराष्ट्रिय तत्त्व’ को संज्ञा दिँदै निर्मम हत्या गरिएको थियो । सुतेका विद्रोहीको सामूहिक हत्या गरियो । त्यति हुँदाहुँदै पनि राजा वीरेन्द्रले भने पिताले जस्तो राज्यको स्रोत तथा साधन दुरुपयोग गरेनन् । उनी नेपाली संस्करणको निःस्वार्थी तानाशाही शासक (बेनिभोलेनट डिक्टेटर) थिए ।

बाहुबलीय शासकले राष्ट्रको उन्नति गर्ने भए जंगबहादुर राणा तथा महेन्द्रको शासनकालमा देशले धेरै प्रगति गर्नुपर्ने थियो । हेक्का रहोस्, जंगबहादुरले सत्ता हत्याउँदा युरोपमा औद्योगिक क्रान्ति फैलिँदै थियो । त्यही कालखण्डमा विश्वबाट लुकाइएको जापानले युरोपको देखासिकी गर्दै उन्नतिको आधारशिला खडा गर्‍यो । ब्रिटेन तथा फ्रान्स भ्रमण गरेका जंगबहादुरलाई जापानले जस्तै ‘मेजी रिस्टोरेसन’ पश्चात्को आधुनिकीकरण गर्न कसले रोकेको थियो ? ब्रिटिस साम्राज्यका हितैसी श्री ३ महाराजले भारतमा ब्रिटिस शासकले गरेका अभ्यासको अनुकरण गरेर भौतिक, प्रशासनिक तथा शैक्षिक पूर्वाधार निर्माण गर्नेतर्फ मात्रै पनि रुचि देखाएको प्रमाण कतै भेटिँदैन । नागरिकमा चेतनाको लहर फैलिएला भनेर तिनी त्रस्त थिए । तिनी तथा तिनका उत्तराधिकारी शासकले राज्य सञ्चालन प्रणालीलाई अझ निरंकुश तथा संकीर्ण तुल्याए ।

राजावादीहरू राजालाई राष्ट्रिय एकताको प्रतीक भनेर प्रचार गर्छन् । राजा महेन्द्र तथा वीरेन्द्रको शासनकालमा सबैभन्दा बढी गुन्जने नारा ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ थियो । वरीयतामा देशभन्दा माथि राजा थिए । सार्वजनिक भाषणमा ‘राजा सबैको साझा’ दोहोरिने गर्थ्यो । यथार्थमा राजा सबै नेपालीकै शासक थिए । सम्पूर्ण नेपालीलाई राजाले एकै ठानेनन् । तीन दशकभन्दा लामो राजाको सक्रिय नेतृत्व कालखण्डमा नेपालीलाई दुई कित्तामा विभाजन गरियो– पञ्च तथा अराष्ट्रिय तत्त्व । पञ्चायतविरोधी, राजाविरोधी मानिस स्वतः देशद्रोही हुन्थ्यो । पञ्चायतलाई समर्थन नगर्नेहरू राजाको नजरमा विरोधी थिए । कुनै एक तप्काका नागरिकलाई मात्र आफ्नो जनता ठान्ने राजा कसरी राष्ट्रिय एकताको प्रतीक भए ?

राजा महेन्द्र ‘दूरदर्शी’ कहलिएका छन् । तिनले गरेको सबैभन्दा महत्त्वपूर्ण निर्णय थियो– आफ्नै स्रोत, साधन तथा पौरखमा पूर्व–पश्चिम राजमार्ग निर्माण गर्ने । मेची–महाकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको नाम ‘महेन्द्र राजमार्ग’ राखियो । निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न चुरे पर्वत शृंखलाको दक्षिण समतल भूखण्ड (मधेस) मा राजमार्ग निर्माण गर्ने रणनीति अख्तियार गरियो । लगभग १ हजार ३० किलोमिटर लामो उक्त राजमार्गको एक किलोमिटर पक्की सडक पनि राजाको घोषणाअनुरूप आफ्नै पौरखमा निर्माण भएन । ‘अरूले १०० वर्ष लगाएर गरेको कार्य हामीले १० वर्षमा गर्ने’ राजाको महान् वाणीअनुरूप उक्त राजमार्ग निर्माण गरिएको थियो । राजमार्ग निर्माण सक्न चार दशकभन्दा बढी समय लाग्यो । राजा महेन्द्रको जीवनकालमा महेन्द्र राजमार्गको आधा खण्डको निर्माण पनि सकिएको थिएन ।

‘दूरदर्शी राजा’ ले कमसे कम ५/१० वर्षमा अन्तर्राष्ट्रियस्तरको प्राविधिक मानव शक्ति उत्पादन गर्ने इन्जिनियरिङ तथा स्वास्थ्य शिक्षा विद्यालय स्थापना गर्न सक्थे । तिनले राष्ट्रिय स्रोत तथा साधन प्रयोग गरेर राजपरिवार सदस्यका निम्ति मुनाफा आर्जन गर्न काठमाडौंमा होटल सोल्टी र डे ला अन्नपूर्ण तथा पोखरामा फिस्टेल लज निर्माण गरे । नारायणहिटी राजदरबारमा राजपरिवारको आवासका निम्ति निर्माण गरिएको भवन राजाले नेपाल सरकारलाई बिक्री गरे । उक्त नयाँ भवनमा नेपाली कलाको प्रतिबिम्ब त गोरखा दरबारबाट उखेलेर पुनःस्थापना गरिएको गजुर मात्रै हो । नेपाली कलाकृति तथा संस्कृतिको संरक्षक कहलिएका राजाले छोराछोरीका निम्ति निर्माण गरेका महलहरूमा नेपालीपन कतै भेटिँदैन ।

राजाको ‘राष्ट्रनायक’ भूमिका रहेको भनिएको तीन दशकमा देशको जनसंख्या १ करोडबाट बढेर झन्डै २ करोड पुगेको थियो । राजा महेन्द्रको शासनकालमा प्रतिवर्ष प्रतिव्यक्ति आय ५० डलरबाट बढेर ७८ डलर पुगेको थियो । राजा वीरेन्द्रका पालामा सो रकम बढेर १८५ डलर पुग्यो । अर्थात् ३० वर्ष लामो निरंकुश शासनकालमा नेपाली जनसंख्या दोब्बर हुँदा औसत आय चौबर भयो । त्यस कालखण्डको आर्थिक अवस्थालाई चित्रण गर्दै विदेशी विज्ञहरूले ‘नेपाल एक गरिब राष्ट्र हो, जुन प्रतिदिन अझ गरिब हुँदै छ’ तथा ‘नेपाल निरन्तर संकटग्रस्त राष्ट्र’ भन्ने निर्क्योल गरेका थिए । तमाम बेथिति, विकृति, विसंगति तथा माओवादीले एक दशकसम्म सञ्चालन गरेको हत्या, हिंसा, आतंक तथा लुटपाट आदिका बाबजुद पनि लोकतन्त्र स्थापनापछिको तीन दशकमा प्रतिव्यक्ति आय १ हजार २ सय ३० डलर पुग्यो । अर्थात् प्रतिव्यक्ति आय ६ गुणा बढी भयो । लोकतन्त्र पुनःस्थापनापछि नेपालले हासिल गरेको आर्थिक विकास कुनै पनि हालतमा सन्तोषजनक छैन । तर लोकतन्त्रपछि विकास प्रक्रियाले विगतमा भन्दा बढी गति लिएको छ ।

नेपालले हासिल गरेको उपलब्धि ‘म्यासाचुसेट्स इन्स्टिच्युट्स आफ टेक्नोलोजी’ का अर्थशास्त्रका सुप्रसिद्ध प्राध्यापक डारेन एसामिगुलको नेतृत्वमा ‘विकासमा लोकतन्त्रको योगदान’ का विषयमा सोधमूलक अध्ययन गरिएको थियो । १ सय ८४ मुलुकले सन् १९६०–२०१० मा हासिल गरेको प्रगतिका आधार बनाएर अध्ययनले ‘लोकतन्त्रले आर्थिक विकासको गतिलाई तीव्र तुल्याउँछ’ भन्ने निष्कर्ष निकालेको छ । यो निष्कर्ष नोबेल पुरस्कार विजेता प्राध्यापक अमर्त्य सेनले दशकौंदेखि वकालत गर्दै आएको ‘मानव विकासका निम्ति लोकतन्त्र अपरिहार्य छ’ भन्ने तर्कसँग मिल्छ ।

अथक संघर्ष गरेर लोकतन्त्र त हामीले प्राप्त गर्‍यौं, राष्ट्रलाई सही दिशातर्फ उन्मुख तुल्याउने क्षमतावान नेता भने पाउन सकेनौं । बाहुबलीय नेता (हरू) को शासनकालका भुक्तभोगीहरू राष्ट्रका निम्ति अर्को बाहुबलीय नेताको खोजीमा छन्, जुन निरर्थक एवं प्रत्युत्पादन हुने निश्चित छ । ‘द मिथ अफ अ स्ट्रङ लिडर : पोलिटिकल लिडरसिप इन मोर्डन एज’ का लेखक प्राध्यापक आर्ची ब्राउनको सल्लाह नेपालका निम्ति सान्दर्भिक हुन्छ । उनको भनाइमा देशले काँचुली फेर्न विभिन्न विषयका प्रतिभा जुटाएर तिनको विवेक सदुपयोग गर्न सक्ने नेता आवश्यक छ । त्यस्तो नेता जसले निजी तथा निहित स्वार्थ समूह हेरेर नभई राष्ट्रवासीको स्वार्थलाई सर्वोपरि ठान्छ । कान्तिपुर

 

 

प्रतिक्रिया दिनुहोस्: