Loktantra Khabar National Weekly
Ad

केबलकार बीचमै रोकिए कसरी उद्धार गर्ने?

लोकतन्त्र खबर
१५ फाल्गुन २०८०

सशस्त्र प्रहरी बलले केबलकार आपतकालीन उद्धार अभ्यास गरेको छ।

मंगलबार बिहान काठमाडौंको चन्द्रागिरिस्थित केबलकारमा सशस्त्र प्रहरी बल नम्बर ९ पशुपति बाहिनीको टोलीले आपतकालीन उद्धार अभ्यास तालिम गरेको हो।

पशुपति बाहिनीको आयोजनामा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक कमलबहादुर अधिकारी नेतृत्वको टोलीले उद्धारको अभ्यास तालिम गरेको हो।

सशस्त्र प्रहरी बलका २६ जनाको टोली र चन्द्रागिरि हिल्स लिमिटेडका ८ जना उद्धारकर्ताहरूले अभ्यास गरेका हुन्।

साढे २ किलोमिटरको रूट रहेको केबलकारमा ३८ वटा क्याबिनहरू छन्।

प्राविधिक तथा प्राकृतिक समस्याका कारण केबलकारबीचमै रोकिए कसरी उद्धार गर्ने भन्ने अभ्यास देखाइएको हो।

उद्धारका लागि सशस्त्र प्रहरीको उद्धारकर्ता सुरूमा डोरीमा फिट गर्न मिल्ने साइकलको माध्यमबाट क्याबिनसम्म पुग्ने गर्छन्। त्यहाँबाट विभिन्न डोरीको मद्दत र सडक तथा जंगलमा रहेका सशस्त्र प्रहरीसँग समन्वय गरी उद्धार गरिएको हो।

अन्तर्राष्ट्रिय अभ्यास अनुसार केबलकारमा फसेमा ३ घण्टाभित्र उद्धार गरिसक्नुपर्छ। त्यसअनुसार नै आफूहरूले तयारी गरेको बाहिनीपति डिआइजी पुरूषोत्तम थापाले जानकारी दिए।

यसरी सीप विकास गर्दा कुनै विपत्ति आए उद्धार गर्न सहज हुने उनले बताए।

यस्तै, चन्द्रागिरि हिल्स लिमिटेडका सिइओ अरूण प्रधानले पनि यो अभ्यासपछि आत्‍मबल बढेको बताए। यस अभ्यासका लागि उनले सशस्त्र प्रहरी बललाई धन्यवाद पनि ज्ञापन गरेका थिए। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: