निर्वाचन आयोगले आगामी वैशाख १५ देखि २० गतेभित्र उपनिर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ।
त्यसका लागि आइतबार साढे १२ बजे निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दैछ।
यसबीचमा निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने काम गरेको र फागुनको १७ गतेखि रूजु सुरू गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।
‘वैशाखको १५ देखि २० गतेभित्र मिति तोक्न सिफारिस गर्ने गरी प्रक्रिया अघि बढेको छ। आजै आयोग पदाधिकारीको बैठक बसेर यसबारे छलफल गर्छौं,’ उनले भने।
उनका अनुसार वैशाखको १५ अगाडि उपनिर्वाचनको मिति तोक्न कठिन छ। मतदाता नामावली अद्यावधिक र रूजु गर्न चैतको २२–२३ गतेसम्म लाग्ने र त्यसपछि निर्वाचनको प्रक्रिया सुरू गर्दा वैशाख १५ पुग्ने उनले बताए।
‘चैतको २२–२३ गतेसम्म मतदाता नामावली अद्यावधिकको काम सकिन्छ। त्यसपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना र उम्मेदवारी दर्ताको प्रक्रिया सुरू गनुपर्ने हुन्छ,’ उनले सेतोपाटीसँग भने, ‘कम्तीमा १५ दिन उम्मेदवारलाई प्रचारप्रसारको समय दिनुपर्छ, यो सबै गर्दा वैशाख गते अगाडि निर्वाचन गराउन गाह्रो छ।’
उनले यसबीच उपनिर्वाचनबारे प्रधानमन्त्रीसँग पनि परामर्श भइसकेको बताए।
‘प्रधानमन्त्रीज्यूले पनि उपयुक्त समय तोक्नूस् भनिसक्नुभएको छ,’ उनले भने।
इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ। २०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ।
प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ। त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए।
उनको दुर्घटनामा निधन भएको थियो।
स्थानीय तहतर्फ दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पद रिक्त छ। महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङको गत वर्ष निधन भएको थियो।
उनको २०७९ साल माघ २७ गते निधन भएको थियो।
यस्तै जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुख पद रिक्त छ। गत कात्तिक १७ गते जाजरकोटको बारेकोटस्थित रामिडाँडा केन्द्र गरी गएको भूकम्पमा नलगाडकी उपप्रमुख सरिता सिंहको निधन भएको थियो।
यसै गरी दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पद खाली छ। गत असार ३१ गते गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयघातका कारण निधन भएको थियो।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका पनि उपाध्यक्ष पद रिक्त छ। गत माघ ४ गते उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा निधन भएको थियो। उनी लामो समयदेखि क्यान्सरपीडित थिइन्।
कीर्तिपुर नगरपालिका–४, काठमाडौं महानगरपालिका–१६, नुवाकोटकाे ककनी गाउँपालिका–२, मकवानपुरकाे हेटौंडा उपमहानगर–१२, उदयपुरको त्रियुगा नगरपालिका–१२, रौटहटको ईशनाथ नगरपालिका–७ र रौतहटकै राजपुर नगरपालिका वडा नम्बर ६ मा पनि वडाध्यक्ष पद रिक्त छ।
त्यस्तै गोरखा नगरपालिका–५, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ र कालिकोटको तिलागुफा नगरपालिका–४ मा वडाध्यक्ष पद रिक्त छ। त्यहाँ पनि उपचुनाव गर्नुपर्ने आयोगले जनाएको छ।
गाउँपालिकातर्फ सुनसरीको गढी गाउँपालिका–६, जाजरकोटको कुशे गाउँपालिका–७ र दार्चुलाको दुहुँ गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा वडाध्यक्ष खाली छ। त्यहाँ पनि उपनिर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। सेतोपाटी