Loktantra Khabar National Weekly
Ad

बालकुमारी घटनाबारे ओलीको टिप्पणी- नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री

लोकतन्त्र खबर
८ फाल्गुन २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाको जाँचबुझ आयोगले मन्त्रीलाई दोषी किटान गर्दा समेत राजीनामा नदिएको भन्दै टिप्पणी गरेका छन्।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठक उद्घाटन गर्नेक्रममा बोल्दै बालकुमारी घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएको भन्दै आलोचना गरेका हुन्।

सरकारले नै बनाएको आयोगले घटना हुनुमा मन्त्रीलाई नै दोषी किटान गर्दै लेखेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हटाउन नसकेको पनि उनले बताए।

‘दोषी हो भनेर तोकिएको छ। सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो, मन्त्रीको गलत क्रियाकलापले गर्दा त्यहाँ मान्छे मर्ने स्थिति आयो तोकेर भनेको छ,’ उनले भने, ‘मन्त्रीमा नैतिकता भन्ने चिज नै छैन न राजीनामा गर्छ, न त प्रधानमन्त्रीसँग हटाउने हुती छ। नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री।’

आयोगले नै दोषी करार गरिसक्दा समेत पदमा बसिरहन मिल्छ? भनेर उनले प्रश्न समेत गरेका छन्।

त्यस्तै, उनले यसरी सरकारले लोकतन्त्रकै मजाक बनाइरहेको पनि टिप्पणी गरेका छन्।

‘जुन दोषका कारणले मान्छेको ज्यान गएको छ। जुन दोषका कारणले प्रहरीहरू कारबाहीमा परेका छन्। अप्रिय स्‍थिति बनेको छ, त्यस्तो मन्त्री बसिरहन मिल्छ? के हो लोकतन्त्र? लोकतन्त्रको यस्तो मजाक उडाउन मिल्छ? यो गठबन्धनले यो काम गरिरहेको छ,’ उनले भने।

गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो। त्यसपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरूणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई सदस्य थिए।

उक्त समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गरेको कमजोरीका कारण घटना भएको आयोगले जनाएको छ।

त्यस्तै, प्रहरीका फिल्ड इन्चार्ज डिएसपी उमेश लम्साल र पिएसओ बोधराज दनुवारको पनि कमजोरी भएको भन्दै विभागीय कारबाहीको सिफारिस भएको हो। त्यसबारे सरकारले निर्णय लिइसकेको छैन।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: