
मनोज यादव
सर्लाही,मंसिर ८
सर्लाही जिल्ला अदालतमा दैनिक २ देखि ३ जोडी सम्बन्ध विच्छेदको मुद्दा लिएर पुग्ने गरेका छन्। सर्लाही जिल्ला अदालतबाट मात्रै १६ महिनाको अवधिमा २ सय २८ जोडीले सम्बन्ध विच्छेद गरिसकेका छन्।
आर्थिक वर्ष २०७९/०८० मा २ सय ४१ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये १८० वटा मुद्दाको फर्छ्यौट भइसकेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले बताएको छ।
त्यस्तै आ.व २०८०/०८१ को कात्तिक मसान्तसम्ममा ८२ वटा जोडीले मुद्दा दर्ता गराएका छन् ।जसमध्ये ३८ जोडीको अदालतले सम्बन्ध विच्छेद गराइसकेको श्रेस्तेदार अधिकारीले बताएको छ।आ.व ०७९/०८० देखि ०८०/०८१ को कात्तिकसम्मको १६ महिनाको अवधीमा ३ सय २३ वटा मुद्दा दर्ता भइ २ सय २८ वटाको फर्छ्यौट गरि सकेको सर्लाही जिल्ला अदालयले जनाएको छ।
अदालतको तथ्यांक हेर्दा बर्सेनि सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गइरहेको छ।सबैभन्दा बढी महिलाहरु सम्बन्ध विच्छेदको मुद्दा लिएर पुग्ने गरेका छन् । धेरेजसो श्रीमान विदेश गएर घर आउँदा पत्नीसँग मनमुटाव भई सम्बन्ध विच्छेदका लागि आउने गरेको स्रेस्तेदार अधिकारीले बताए।
सम्बन्ध विच्छेद हुनुको मुख्य कारणहरुमा वैदेशिक रोजगारी , बेरोजगारी ,घरेलु हिंसा ,दाइजो ,प्रेम विवाह र बेमेल विवाह रहेको पाइएको छ।
चलिरहेको कानुनमा सम्बन्ध विच्छेदका लागि पुरुषले निवेदन दिए एक वर्ष कुनुपर्ने प्रावधान छ। तर, महिलाले मुद्दा हाल्नासाथ तत्काल निर्णय हुने व्यवस्था कानुनमा रहेको छ।
अहिले अदालतमा लेनदेन सम्बन्धि २२० तथा अंश सम्बन्धि १३१ वटा मुद्दाहरु चलिरहेको सर्लाही जिल्ला अदालतले जनाएको छ।