Loktantra Khabar National Weekly
Ad

पोखरामा होटलमा अचेत भेटिएकी महिलाको मृत्यु, ६ जना पक्राउ

लोकतन्त्र खबर
६ मंसिर २०८०

पोखरा मंसिर ६ , पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजेको अचेत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरी स्रोतका अनुसार २ वर्षदेखि सोही ठाउँकै शिला रेस्टुरेन्टमा काम गर्दै आएकी विकको अचेत अवस्थामा होटलबाट उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, उपचारकै क्रममा साँझ करिब साढे ७ बजे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद रहेको खुलेको छ । ‘घटना अलि शंकास्पद नै छ । हामीले अनुसन्धान गरिरहेका छौं । अहिलेलाई यति नै भनौं’, उनले भने ।

प्रहरीका अनुसार दिउँसो विक र एक जना पुरुष होटलको कोठामा प्रवेश गरेका थिए । कोठामा प्रवेश गरेको केही समयमै पुरुष बाहिरिएको र महिला साँझसम्म ननिस्किएपछि होटल सञ्चालकले खोजी गर्दा अचेत अवस्थामा फेला परेका थिइन् ।

‘होटलमा सीसीटीभी क्यामेरा पनि छैन । कोठा बुक गर्दा कुनै परिचयपत्र पनि राखिएको थिएन रहेछ’, प्रहरी स्रोतले भन्यो, ‘होटलको सुरक्षा विधि अपनाइएको छैन । यसबारे पनि अनुसन्धान हुँदैछ ।’

विकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको कास्की प्रहरीले जनाएको छ । यो घटना अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: