Loktantra Khabar National Weekly
Ad

‘उपमेयरको सम्मेलनमा भाग लिन बेलुकी सदरमुकाम गएकी थिइन्, भूकम्पमा मारिइन्’

लोकतन्त्र खबर
२३ कार्तिक २०८०

नलगाड (जाजरकोट)  कात्तिक २३ , जाजरकोट सदरमुकाम खलङ्गामा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘वर्ल्ड भिजन’ले दुईदिने ‘न्यायका निम्ति पहुँच’ कार्यक्रम आयोजना गर्दै थियो ।

जिल्लाभरिका न्यायिक समितिका प्रमुखहरुलाई बोलाएर राखेको कार्यक्रममा सहभागी हुन नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह गएको शुक्रबार (१७ कात्तिक) मै सदरमुकामतिर गएकी थिइन् ।

‘दाँतको उपचार गराउनुपर्ने छ, भोलि कार्यक्रम पनि छ । त्यसैले चाँडै जान्छु भन्नुभएको थियो’, नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर राउत सम्झन्छन्, ‘शुक्रबार अपराह्न ३ बजेसम्म म उपमेयरज्यूसँगै थिएँ, ४ बजेतिर उहाँ दल्लीबाट हिँड्नु भएको हो ।’

दल्लीमा नगरपालिकाको कार्यालय छ । ‘करिब एक घन्टामा सदरमुकाम पुगिन्छ, उहाँ ५ बजेतिर पुग्नुभयो होला’, उनले भने ।

नलगाड नगरपालिका वडा नं. २ का वडा सदस्य टिकाराम जैसीका अनुसार, कामको सिलसिलामा सदरमुकाम गइरहनुपर्ने भएकाले उपमेयर सिंहले सदरमुकाम खलङ्गामा कोठा भाडामा लिएकी थिइन् । ‘झण्डै १२/१३ वर्षदेखि नै उहाँले कोठा लिनुभएको थियो’, जैसीले भने, ‘पहिले उहाँ सहकारीमा हुनुहुन्थ्यो, त्यसबेलादेखि नै उहाँको कोठा थियो ।’

तर, शुक्रबार राति ११ः४३ बजे ६.४ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पको पहिलो झट्कामै उपमेयर बसेको घर भत्कियो । ‘बहिनी तल्लो तलामा रहिछिन्, तुरुन्तै सुरक्षाकर्मी पनि पुगेका रहेछन्’, जानकारी मावि, मैदेका शिक्षकसमेत रहेका उनका दाइ हेमप्रकाश सिंहले भने, ‘सुरक्षाकर्मीले पहिले माथिका लाई उद्दार गरे, बहिनी तल पुरिइछिन् ।’

उनका अनुसार, उपमेयर सिंहको शव ढोका नजिक भेटिएको थियो । ‘बहिनीले भूकम्प आएपछि भाग्न खोजेको हुनसक्छ, त्यही बेला ढुंगाले लागेको हुनसक्छ’, उनले अनलाइनखबरसँग भने, ‘निकालेर जिल्ला अस्पताल त पुर्याएछन्, तर चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरे ।’

सिंहको घर सदरमुकाम खलंगाबाट ४० किलोमिटर टाढा पर्छ । ‘राति सञ्चार साधनले पनि काम गरेन, सम्पर्कविहीन जस्तै भइयो, भोलिपल्ट २ बजे मात्रै उहाँ वित्नुभएको थाहा भयो’, दाइ हेमप्रकाशले थपे, ‘त्यसपछि तुरुन्तै अस्पताल पुगेका थियौं ।’

हेमप्रकाशका लागि नलगाड नगरपालिका-८, मैदेमा १४ कात्तिकमा बहिनीसँग भएको भेट नै अन्तिम बन्यो । उपमेयर सिंहसँगै उनका आफन्त हेजन सिंह पनि खलङ्गा गएका थिए । तर, हेजन पनि मृत भेटिएको खलङ्गाका रेडक्रसकर्मी चित्रबहादुर शाही बताउँछन् ।

सहकारीको पृष्ठभूमिबाट आएकी उपमेयर 

नलगाड नगरपालिकास्थित दल्लीका नविन्द्र नेपालीका अनुसार, उपमेयर सिंह सहकारीको पृष्ठभूमिबाट राजनीतिमा आएकी थिइन् । ‘उहाँले पिपल चौतारी सहकारी संस्था खोल्नुभएको थियो’, नेपालीले भने, ‘यसको कार्यालय वडा नं. ८, मैदेमा छ ।’

सिंहका अर्का दाइ जयबहादुर सिंह नेपाली कांग्रेस नलगाड नगर कार्यसमितिका सभापति समेत हुन् । उपमेयर सिंह यसअघि नेपाली कांग्रेसको भातृ संगठन महिला संघकी जिल्ला समिति सचिव पनि थिइन् । पार्टीमा अहिले जिल्ला कार्यसमिति सदस्य थिइन् ।

‘उपमेयरज्यूले अहिले सहकारी त छोडिसक्नुभएको थियो, तर सहकारीसँग सम्बन्धित विषयमा उहाँको धेरै चासो हुन्थ्यो’, नेपाली सम्झन्छन्, ‘गाउँमा एकदमै राम्रो काम गर्दै हुनुहुन्थ्यो, उहाँको कार्यशैलीप्रति कसैको गुनासो सुनिएको थिएन ।’

सदरमुकाम खलङ्गा पर्ने भेरी नगरपालिकाकी उपमेयर सीता जैसी नलगाडकी उपप्रमुख सिंहलाई सामाजिक कार्यमा लामो समयदेखि सक्रिय इमान्दार व्यक्तित्वका रुपमा सम्झन्छिन् । ‘राजनीतिक रुपमा एउटै पार्टीमा भएपनि पहिले त धेरै संगत थिएन, पालिकामा आइसकेपछि धेरै कार्यक्रममा सँगै हुँदा नजिक भइयो’, उनले भनिन्, ‘अहिले मेरो दिमागमा जतिबेलै उहाँकै मात्र तस्वीर झल्झली आइरहेको छ ।’

महिलाको हक, हितका लागि उनले गरेको काम अनुकरणीय भएको उनी बताउँछिन् । नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर राउत उपमेयर सिंहको निधनले नगरपालिकाले अभिभावक गुमाएको बताए । ‘फरक पार्टी भएपनि हामीले एउटै गठबन्धनबाट चुनाव जितेका थियौं’, उनले भने, ‘म बाहिर हुँदा पनि उहाँले यो विषयमा के गरौं भनेर नियमित सल्लाह गरिराख्नुहुन्थ्यो, उहाँ हुनुहुन्छ भनेर म ढुक्क हुन्थेँ । त्यसैले मैले नलगाड नगरपालिकाले अभिभावक गुमाएको महसुस गरेको छु ।’

उपमेयर सिंहले समन्वय र सहकार्यमा सधैँ ध्यान पुर्याउने गरेको भन्दै उनले एउटा जिम्मेवार व्यक्तिको निधन भएको बताए । ‘हितेरी-मितेरी नाताले मेरो छोरी पर्ने हो, राजनीतिक नाताले हेर्दा म मेयर, उहाँ उपमेयर हुनुहुन्थ्यो’, उनले भने, ‘राजनीतिक हिसाबले उहाँ र म फरक पार्टीको भएपनि हाम्रो अहिलेसम्म कुनै असहजता आएन ।’

अहिलेसम्म कसैले कुनै विषयमा ‘नोट अफ डिसेन्ट’ पनि नल्याएको बताउँदै उनले भने, ‘उहाँले त्यसका लागि संयोजन गर्नुहुन्थ्यो, सहमति बनाउनुहुन्थ्यो । उहाँ नहुँदा मैले आफूलाई एक्लो महसुस गरेको छु ।’

गाउँका समस्यालाई राष्ट्रिय स्तरमा सम्बोधन गराउन पनि उनले भूमिका खेल्थिन् । ‘जहाँ विकास भएको छैन, त्यहाँको विषय लिएर म कहाँ आउनुहुन्थ्यो, मलाई अलिकति सन्तुष्टि लाग्थ्यो’, उनले भने, ‘मैले गर्ने काम पनि उहाँले भनिरहनु भएको हुन्थ्यो, त्यसो हुँदा थप हल्का भएको महसुस हुन्थ्यो ।’

नलगाडमा प्राथमिक स्वास्थ्य चौकी छ । अहिले त्यसलाई स्तरोन्नति गरेर अस्पताल बनाइएको छ । अस्पतालको समस्याबारे उनी केन्द्रीय सरकारलाई पनि झक्झक्याइराख्थिन् । १० कात्तिकमा मात्रै उनले काठमाडौं आएर स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर नगर अस्पताललाई स्वास्थ्य उपकरण व्यवस्था गरिदिन भन्दै ज्ञापन पत्र बुझाएकी थिइन् ।

अस्पतालमा राम्रो एक्स-रे र युसिजी मेसिन पनि छैन । अस्पतालले जिल्ला अस्पताल जाजरकोटमा सिफारिस गर्ने हो । तर, जिल्ला अस्पतालमा झन् बढी समस्या छ । ‘त्यसैले उहाँले यसको समाधानका लागि केन्द्रसम्मै पहल गरिरहनु भएको थियो’, मेयर रावत भन्छन् ।

नगरपालिकामाथि प्रश्न उठ्नसक्ने विषयहरुमा पनि उपमेयर सिंहले आफूलाई पहिल्यै सचेत गराउने गरेको मेयर रावत बताउँछन् । उनी सम्झन्छन्, ‘बाहिरबाट आउनसक्ने गुनासो र आलोचनाका विषयमा उहाँ निकै ध्यान दिनुहुन्थ्यो, त्यसैले महिलाको एक-दुई पटक हामी त्यस्ता समस्या, गुनासाबारे मात्र छलफल गर्थ्यौं ।’ अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: