Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा यसवर्ष धान उत्पादनमा कमि, किसान चिन्तित,गत वर्षको तुलनामा यसवर्ष १५ प्रतिशत उत्पादन घट्ने अनुमान

लोकतन्त्र खबर
२२ कार्तिक २०८०

मनोज यादव
सर्लाही,कात्तिक २२ गते

अन्नको भण्डारको रुपमा चिनिने सर्लाही जिल्लामा यसवर्ष पानी तथा मलको अभावका कारण उत्पादनमा कमी आएको छ। जम्मा ४६ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने यस जिल्लामा यसवर्ष ८५-९० प्रतिशत रोपाई भएपनि खडेरीले गर्दा उत्पादनमा कमि आएको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ।

मंसीर महिनालाई किसाले वर्षभरी गरेको मेहनत उठाउने खुशीको महिनाका रुपमा लिइन्छ तर सर्लाहीका किसान यो वर्ष खुशी भने छैनन ।धान उत्पादनको लागी राम्रो क्षेत्र मानिएको यस जिल्लामा धानको उत्पादन घटने भएपछि किसान चिन्तित छन ।

यस सिजनको लागि रोपाई सम्पन्न भएको सुरुवाति अवस्थामा मल तथा सिंचाईको लागी आकाशे पानीको भर पर्दा धानको उत्पादन घटेको ब्रम्हपुरी गाउँपालिकाका किसान गगनदेव ठाकुर हजामले बताए। उब्जनी बढाउन जत्ति सुकै मेहनत गरेता पनि समयमा नै मल तथा सिचाईको लागि पानिको व्यवस्था नहुँदा उत्पादनमा कमि आएको ठाकुरको गुनासो छ।

धान राम्रोसँग नफल्दा काट्ने जाँगर समेत नलागेको अर्का किसान अबध ठाकुर हजामले बताए । आफ्नो खेत हुँदाहुँदै पनि अरुको खेतमा मजदुरी गर्नुपर्ने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गरे।

यस जिल्लामा बागमती सिंचाइ आयोजना र मनुष्मारा सिंचाइ आयोजनाले खेतीको लागि पानी उपलब्ध गराउँदै आएको छ। सिंचाइको राम्रो व्यवस्था भएको झिम नदी भन्दा पश्चिम उत्पादन राम्रो भएको भएपनि आकाशे पानीको भरमा खेती हुने झिम नदी भन्दा पुर्व उत्पादन कम भएको कृषि ज्ञान केन्द्र सर्लाहीका कृषि अधिकृत सिताराम यादवले बताए । जलवायु परिवर्तनका कारण समयमा पानी नपरिदिंदा उत्पादनमा कमि आएको यादवले बताएका छन् ।

सर्लाहीको उत्तरी चुरे भेगका अधिकांश किसानले धानबाली काटेर भित्र्याइसकेका छन् ।केही किसानले दशै अघिनै धान भित्र्याइसकेका छन् भने बाँकीले दशै सक्किए लगत्तै धान काट्न सुरु गरेका छन् ।आकाशे पानीको भरमा खेती हुने सो भेगका किसानले छिटो पाक्ने धान रोपेका थिए।
सिंचाइको सुविधा रहेको दक्षिण -पश्चिम भेगका किसानले ढिलो गरि रोपाइँ गरेकाले काटेर राखेको धान बल्ल सुक्न थालेको छ।यस क्षेत्रमा पनि छिटो गरि रोपेको धान किसानहरुले भित्र्याउन थालेका छन् ।

सर्लाही जिल्लामा उत्पादन भएको धानले यहाँका जनतालाई बाह्रैं महिना खान पुग्ने अबस्था कमै रहेकोले छिमेकी जिल्ला र भारतबाट धान तथा चामल किनेर ल्याउनु परेको छ।

गत वर्ष जिल्लामा १ लाख ६४ हजार १ सय ४५ मेट्रिक टन धान खेती भएको थियो।यसवर्ष भने उत्पादन १० देखि १५ प्रतिशतले घट्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: