Loktantra Khabar National Weekly
Ad

म्याक्सवेलले सम्झाए कपिल देवको १७५ रनको इनिङ्स

लोकतन्त्र खबर
२२ कार्तिक २०८०

काठमाडौं  कात्तिक २२, यो यस्तो महान एकदिवसीय इनिङ्स थियो, जसलाई केहीले मात्र देख्न पाए । त्यसैले यसलाई ‘कसैले देख्न पाएको महान इनिङ्स’ पनि भनिन्छ ।

साँच्चै यसलाई कोही कसैले पनि दोहोर्‍याएर देख्न पनि पाउने छैन् । हामी कुरा गरिरहेका छौं, सन् १९८३ को विश्वकपमा भारतका लागि कपिल देवले जिम्बावेविरुद्ध बनाएको १७५ रनको इनिङ्स  ।

प्रश्न हुन सक्छ- अहिले यति बेला यसको चर्चा किन त ?

खासमा ग्लेन म्याक्सवेलले कपिल देवको त्यो इनिङ्सलाई सम्झाउन बाध्य पारेका हुन् ।

यी अस्ट्रेलियाली ब्याटरले अफगानिस्तानविरुद्ध नटआउट २०१ रनको सर्वकालीन महान इनिङ्स खेले, सबैले ठ्याक्कै सम्झन चाहेको भनेको त्यही कपिल देवको १७५ नै हो ।

म्याक्सवेलको त्यो असाधारण ब्याटिङले अहिले धेरै भन्दा धेरेले कपिल देवलाई नै सम्झिरहेका छन् ।

के तपाईँले सन् २०२१ मा रिलिज भएको ८३ सिनेमा हेर्नु भएको छ ?

छैन् भने अहिले विश्वकप चलिरहेको छ, हेर्दा मज्जै आउँछ ।

कबिर खानले निर्देशन गरेको यो सिनेमा कपिल देवको जीवनीमा आधारित छ ।

अनि यससँग भारतीय टिम त जोडिन्छ नै ।

कपिल देवको भूमिकामा छन्, रणवीर सिंह । व्यापारिक रूपमा यो खासै सफल भने रहेन । तर खेल प्रेमीका लागि यो हेर्न लायक नै छ ।

यसमा पनि मज्जाले चर्चा गरिएको छ, त्यही कपिलदेवको १७५ रनको ।

खासमा भएको के थियो भन्दा सन् १९८३ को त्यस विश्वकपमा भारत र जिम्बावेबीच टनब्रिज वेल्समा यो खेल भएको थियो ।

दर्शक खासै थिएनन्, सायद सयको संख्यामा । नभए त्यो भन्दा केही बढी । जति थिए, तिनीहरू भाग्यमानी रहे ।

उनीहरूले देख्न पाए, एकदिवसीय क्रिकेटकै सबैभन्दा महान एक अर्को इनिङ्स ।

दिन थियो, जुनको १८ । भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

यसक्रममा खराव सुरुवात गरेको भारतले १७ रन बनाउँदासम्म पाँच विकेट गुमाइसकेको थियो ।

अझ चार विकेट गुमाउँदा त स्कोर बोर्डमा नौ रन मात्रै चढेको थियो । पछि यो स्कोर सात विकेट गुमाएर ७८ रन पनि भयो ।

यही स्थितिमा मैदानमा आए, कपिल देव । उनले दायाँ हेरेनन, बायाँ हेरेनन्, खालि एकपछि अर्को बलमा रन मात्र बटुले ।

उनले १ सय ३८ बलको मात्र सामना गरे र यसमै १६ चौका र छ छक्का प्रहार गरे ।

अन्त्यमा नटआउट पनि रहे । उनले बनाएको १७५ रन त्यो समयको स्कोर हो, जुन बेला प्रति ओभर चार रन बनाउनु पनि ठूलै थियो ।

त्यो समयको क्रिकेट बेग्लै थियो । एकदिवसीय त्रिकेट पनि ६० ओभरको थियो । यसरी भारतले आठ विकेटमा २ सय ६६ रन बनायो । पछि जवाफमा जिम्बावेले २३५ रन बनाएर अलआउट भयो, भारत ३१ रनले विजयी रह्यो ।

आखिरमा भारतले नै यो विश्वकप जित्यो, फाइनलमा वेस्ट इन्डिजलाई हराएर ।

यसैपछि त हो, भारतमा क्रिकेटले गति लिएको । अनि अहिलेको व्यावसायिक भारतीय क्रिकेटको जग बसेको ।

पछि यी कपिल देव विश्व क्रिकेटकै एक महान अलराउन्डर कहिलिए । सर्वाधिक टेस्ट विकेटको कीर्तिमान लामै समय उनको नाममा रह्यो ।

तर यहाँनिर एउटा ठूलै समस्या के रह्यो भने कपिल देवको त्यो इनिङ्सको भिडियो रेकर्डिङ छैन् ।

त्यो दिन बीबीसीका कामदार हड्तालमा थिए । त्यसैले यो खेलको प्रतक्ष प्रशारण पनि भएन् । न त अभिलेखकै लागि भनेर खिचियो ।

भनेपछि यो खेल मैदानमै रहेकाले जति हेरे, त्यति मात्रै हो । अरू कसैले दोहर्‍याएर हेर्न पाएनन् ।

त्यसैले त यसलाई भन्ने गरिन्छ, ‘कसैले देख्न पाएको महान इनिङ्स’ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: