Loktantra Khabar National Weekly
Ad

धनुषाबाट सुन तस्करी बढ्यो, नाम चलेका सुन व्यवसायीहरुको संलग्नता

लोकतन्त्र खबर
२१ कार्तिक २०८०

धनुषा जिल्लाबाट केही दिन यता सुन तस्करी बढेको छ । जनकपुरधामका केही नाम चलेका सुन व्यवसायीहरुकै संलग्नतामा दिनहुँ पाँच किलो भन्दा बढी सुन नेपालबाट भारत पठाउने गरिएको स्रोतहरुले जनाएका छन् ।

जनकपुरधाम बजारमा दैनिक दुई देखि तीन किलोसम्म सुन बिक्री हुने गरेको छ । तर, नेपाल राष्ट्र बैंकले प्रत्येक दिन जनकपुरधाम बजारका लागि आधा किलो सुन मात्रै उपलब्ध गराउँदै आएको छ । केही दिन यता भारतीय व्यवसायीहरुको संलग्नतामा स्थानीय व्यवसायीहरु सुन तस्करीमा सक्रिय भएका छन् ।

यहाँबाट दैनिक पाँच किलो सुन भारत पठाउने गरिएको बताइएको छ । हुन त सुन तस्करीको धन्धा पुरानो नै हो । नेपालमा सुन काण्डहरु भइरहँदा पनि जनकपुरधामबाट सुन तस्करी भने रोकिएको छैन् । नेपाली बजारमा भारतीय रुपैयाँको अवमूल्यन हुनुको कारण पनि सुन तस्करी नै रहेको बजार विश्लेषकहरु बताउँछन् ।

भारतीय व्यवसायीहरु अहिले सीमा क्षेत्रमा बट्टा तिरेर नेपाली रुपैयाँ लिने गरेका छन् । सीमा क्षेत्रका बजारहरुमा पनि नेपाली रुपैयाँमै कारोबार हुने गरेको छ । जनकपुरधामका एक व्यवसायीका अनुसार पहिला सीमा क्षेत्रका बजारमा मात्रै नेपाली रुपैयाँले कारोबार हुने गरेको थियो । अहिले सीतामढीदेखि मुजफ्फरपुरसम्म नेपाली रुपैयाँमा कारोबार हुने गरेको छ । कारण सुन कारोबार नै रहेको ती व्यवसायीको दाबी छ । भारतीय तस्करहरु जनकपुरधामका केही व्यवसायीहरुलाई सीमित प्रतिशतमा आफ्ना बिचौलिया बनाएर राखेका छन् ।

जनकपुरधामका व्यवसायीहरुलाई एक प्रतिशतदेखि पाँच प्रतिशतसम्म तस्करीका सुन राख्नका लागि तिर्ने गरेका छन् । तस्करहरु अहिले चीनबाट सुन ल्याउने गरेको ती व्यवसायीको दाबी छ । सुन अवैध रुपमा नेपाल भित्र्यिाएपछि सरकारलाई कर जोगिने र सिधा भारत निकासा गर्दा भारत सरकारलाई तिर्नुपर्ने कर छलिने भएकाले तस्करहरुलाई त्यसबाट भारी फाइदा हुने गरेको स्रोतको दाबी छ । उनले भने–‘सुन चीनबाट तस्करी भएर आउने गरेको छ । नेपाल छिर्ने बितिक्कै भारतीय व्यवसायीकै मान्छे सो सुन जनकपुरधामसम्म पुर् याउने गरेका छन् । जनकपुरधाममा एक दिन होल्ड गरेर फेरि ती व्यवसायीकै भारतीय भरिया आएर जटही, मधवापुर, जलेश्वर मनराशिसवालगायतका खुल्ला नाकाबाट गन्तव्यतर्फ लगिने गर्छन् ।’ नेपाल र भारतबीच खुल्ला सीमा रहेका कारण सुरक्षा निकायलाई प्रभावमा पारेर सहज ढंगले तस्करी भइरहेको छ । सुन तस्करी धन्धामा जनकपुरधामका ठूला र नाम चलेका व्यवसायीहरु संलग्न रहेका कारण उनीहरुमाथि शंका पनि गरिदैन्, स्रोतले भने–‘ जनकपुरधामका सटरहरु खाली हुने क्रममा रहेको बेला तस्करीमा संलग्नहरुको आर्थिक अवस्था सुदृढ भइरहेको छ ।’

प्रहरीले बिना स्रोतको रकम बरामद गर्न थाले पनि त्यो सीमावर्ती भारतीय बजारमा नेपालीले गर्ने कारोबारको रकम हो । महोत्तरी प्रहरीले सीमा नाकाका विभिन्न क्षेत्रबाट गत भदौमा मात्र ७२ लाख भन्दा बढी रकम बरामद गरेको छ । त्यो सुन तस्करीको रकम रहेको प्रहरीको अनुसन्धानमा देखाइएको छ ।

खुल्ला सीमा नाका र नेपाली बजार कन्ट्रोलमा नरहेका कारण नेपाली रुपैयाँ भारतीय बजारमा पुगेको बताइन्छ । भारत र नेपाली बजारमा एउटा सामानको मूल्यमा दोब्बर फरक रहने गरेका कारण नेपाली रुपैयाँ भारतीय बजारमा पुग्ने गरेको र ती रुपैयाँबाट अवैध कारोबार हुने गरेको छ ।

दैनिक पाँच किलो सुन धनुषाको विभिन्न नाकाबाट भारततर्फ लगिए पनि अहिलेसम्म प्रहरीले सुन तस्करलाई समात्न सकेको छैन् । धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले भारतबाट तस्करी गरेर ल्याएका सामान बरामद गरेको बताए ।‘ भारतबाट नेपाल भित्रिएको बिना स्रोतको रकम बरामद गरेका छौ ’ एसपी खड् काले भने, तर सुन बरामद गर्न सकेका छैनौ ।’ धनुषाका प्रहरी दिनहुँ जसो भारतबाट नेपाल भित्रिने सामानहरु बरामद गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: