Loktantra Khabar National Weekly
Ad

सरकारी कर्मचारीसहित २ जना पक्राउ

लोकतन्त्र खबर
२१ कार्तिक २०८०

लागू औषधसहित ३८ दिन अघि समातिएका एक सरकारी कर्मचारीको अनुसन्धानका क्रममा सप्तरी प्रहरीले सोही कार्यमा संलग्न रहेको आरोपमा सोमबार थप एक सरकारी कर्मचारीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बोदेबर्साइन नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक ४५ वर्षीय बैजनाथ साह र बोदेबर्साइन नगरपालिका–५ का ३५ वर्षीय मो.जमामुद्धिन इराकी रहेका छन् । बोदेबर्साइन नगरपालिका–५ का स्वास्थ्य शाखा सह–संयोजक साह र सोही वडाका इराकी समेतको लागू औषधको उक्त घटनामा संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ । यस अघि गत असोज १२ गते बोदेवर्साइन नगरपालिकाको स्वास्थ्य शाखा संयोजक राजनारायण ठाकुरलाई प्रहरीले प्रतिबन्धित लागू औषधसहित पक्राउ गरेको थियो ।

स्वास्थ्य शाखा संयोजक ठाकुर चढेको लु ५५ प ५४३९ नम्बरको मोटरसाइकलबाट स्थानीय शत्रुघन चोकमा चेकजाँचको क्रममा प्रहरीले प्रतिबन्धित लागू औषध नाइट्राभेट ट् याबलेट २७ र एस्पासमो ट्याबलेट १५ वटा बरामद गरेको थियो । प्रहरीले सप्तरी जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गराइ ठाकुरलाइ हिरासतमा राखेर थप अनुसन्धान गर्दै जाँदा बोदेबर्साइन नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक साह र अर्का स्थानीयवासी इराकीकोसमेत संलग्नता देखिएपछि दुबै जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।

पक्राउ परेका दुबै जनालाई हिरासतमा राखिएको तथा मंगलवार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: