Loktantra Khabar National Weekly
Ad

सेयर बजारको ओरालो यात्रामा अझै लागेन ‘ब्रेक’, होटल क्षेत्रमा देखियो सुधार

लोकतन्त्र खबर
१६ कार्तिक २०८०

काठमाडौं  कात्तिक १६, साता कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजारको गिरावटले निरन्तरता पायो । १०. ८६ अंकले घटेर नेप्से १८४७ विन्दुमा अडियो । दशैंपछि मात्रै बजार ५६ अंक घटिसकेको छ । दशैंअघि १९०३ अंकमा सेयर बजार अडिएको थियो ।

बिहीबार होटल तथा पर्यटन उपसमूह भने ४ अंक बढ्यो । चन्द्रागिरि हिल्स, सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, सिटी होटल लगायत कम्पनीको मूल्य बढेकाले यो उपसमूह बढ्न टेवा पुग्यो । चन्द्रागिरि हिल्सको सबैभन्दा धेरै ६ प्रतिशत मूल्य बढ्यो । सोल्टीको ४.७७, तारागाउँको ४.१७, ओरियन्टल होटलको ३.८१ र सिटीको २.५ प्रतिशत मूल्य बढ्यो ।

अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएको समाचार बाहिरिएपछि होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित कम्पनीको सेयरमा केही सुधार देखिएको हो । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

होटलबाहेक म्युचुअल फण्ड सामान्य ०.०७ अंक हरियो रह्यो । अरु सबै उपसमूह घटे । बैंकिङ १०, विकास बैंक १२, फाइनान्स १७, जलविद्युत् २१, जीवन बीमा ३७, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा ९०, अन्य ९ र ब्यापार उपसमूह ८१ अंक घटे ।

दिनभर कुल ४० कम्पनीको मूल्य बढ्यो भने १९० को घट्यो । लघुवित्ततर्फ हिमालयन लघुवित्तको मूल्य ५ प्रतिशत बढ्यो । यस दिन धेरै गुमाउनेमा जलविद्युत् कम्पनीहरु अगाडि रहे । सयपत्री हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । रावा इनर्जीको ७.४, बुद्धभूमि नेपालको ५.९, सामलिङ पावरको ४.८, सुपर माइ हाइड्रोको मूल्य ४.७ प्रतिशत घट्यो ।

धेरै कारोबार हुने कम्पनीहरुमा आशा लघुवित्त संस्थापक, प्राइम कमर्सियल बैंक संस्थापक, सोना सिमेन्ट, सोल्टी होटल र हाथवे इन्भेस्टमेन्ट क्रमशः अगाडि रहे । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: