Loktantra Khabar National Weekly
Ad

परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेश मन्त्री ब्लिन्केनबीच भेटवार्ता

लोकतन्त्र खबर
१४ कार्तिक २०८०

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनबीच वासिङ्टन डिसीमा भेटवार्ता भएको छ। अमेरिका भ्रमणमा रहेका साउद र ब्लिन्केनबीच गएराति भएको भेटवार्तामा दुई पक्षीय सम्बन्ध, एमसीसी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार परराष्ट्रमन्त्री साउदले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएको सन्दर्भमा विकासका प्राथमिकताहरूलाई जोड दिँदै व्यापार तथा लगानी, बजार पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोग गर्न आह्वान गरे।

प्रजातान्त्रिक शासनको सुदृढीकरणमा नेपालको प्रगतिको प्रशंसा गर्दै मन्त्री ब्लिन्केनले अमेरिकी सरकार नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रुपमा हेर्न चाहेको बताए। मन्त्री ब्लिन्केनले परराष्ट्रमन्त्रीलाई नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग जारी राख्ने आश्वासन दिए।

अमेरिकी विदेश मन्त्रालयका अनुसार भेटमा उनीहरुले नेपाल–अमेरिका साझेदारीको सुदृढीकरणमा जोड दिएका छन्। मन्त्री साउदले युएसएआईडी र एमसीसीमार्फत हालै अमेरिकी सहयोगलगायत नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिए। दुबै पक्षले एमसीसी अन्तर्गतका आयोजनाहरुको समयमै कार्यान्वयनको महत्वमा जोड दिए। मन्त्री साउदले नेपालको आर्थिक र सामाजिक विकासका थप सहयोगका लागि आग्रहसमेत गरेका छन्।

उनीहरूले नेपालमा विस्तारित विकास वित्त निगमको लगानी, साना तथा मझौला उद्यमहरूलाई ऋण उपलब्ध गराउन नेपाली बैंकलाई १२ करोड ५० लाख अमेरिकी डलरको नयाँ ऋण दिनेलगायतका विषयमा छलफल गरेका थिए।

मन्त्री ब्लिन्केनले अक्टोबर ७ इजरायलमा हमासको आतंकवादी हमलामा परी नेपाली विद्यार्थीको ज्यान गएको र बेपत्ता रहेका विपिन जोशीप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन्।

भेटका क्रममा साउदले ब्लिन्केनलाई नेपाल भ्रमणका निमित्त औपचारिक निम्तो दिएका छन्। द्विपक्षीय भेटमा मन्त्री साउदका साथमा राजदूत श्रीधर खत्रीलगायत मन्त्रालय र दूतावासका उच्च अधिकारीहरु सहभागी थिए। मन्त्री ब्लिन्केनका साथमा नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसन र विदेश मन्त्रालयका उच्च अधिकारी पनि थिए।

अमेरिकामा मन्त्री साउदले युएसएआइडीकी प्रमुख सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र अमेरिकी सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। मन्त्री साउदले अमेरिका भ्रमणका क्रममा युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस र नेपाली-अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया गर्नेछन्। मन्त्री साउद कात्तिक १९ गते स्वदेश फर्किनेछन्। 

प्रतिक्रिया दिनुहोस्: