Loktantra Khabar National Weekly
Ad

इजरायलले मानेन गाजामा युद्धविरामका लागि राष्ट्रसंघले गरेको आह्वान

लोकतन्त्र खबर
१२ कार्तिक २०८०

हमासविरूद्ध दोस्रो चरणको युद्ध सुरू भएको इजरायलका प्रधानमन्त्री नेतन्याहुको घोषणा

इजरायलले गाजामा आकाश, जमिन र समूद्रबाट आक्रमण जारी राखेको छ।

गाजामा मानवीय सहायतका लागि संयुक्त राष्ट्रसंघले गरेको युद्धविरामको आह्वानलाई खारेज गर्दै इजरायलले गाजापट्टीमा आक्रमणलाई अझै सशक्त बनाएको छ।

गाजामा युद्धविराम गरी मानवीय सहायता लैजानका लागि संयुक्त राष्ट्रसंघको आइतबारको महासभामा जोर्डनले प्रस्ताव राखेको थियो। उक्त प्रस्तावलाई नेपालसहित १२० देशले समर्थन गरेका थिए। अमेरिकासहित १४ देश उक्त प्रस्तावको विपक्षमा उभिएका थिए भने ४५ देश मतदानमा सहभागी भएनन्।

गाजामा हवाइ आक्रमण गरिरहेको इजरायलले शुक्रबारदेखि जमिन र समुद्रबाट पनि आक्रमण सुरू गरेको हो।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले यसलाई हमासविरूद्धको दोस्रो चरणको युद्ध भनेका छन्।

इजरायली सेनाहरु जमीनबाटै गाजा पट्टीमा प्रवेश गरी त्यहाँ आक्रमण गरिएको भिडिओहरु विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले प्रसारण गरिरहेका छन्।

प्रधानमन्त्री नेतन्याहूले शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा गाजा पट्टीमा शुक्रबारदेखि नै इजरायली सैनिक प्रवेश गरिसकेको बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

गाजामा इजरायलले जमिनबाटै आक्रमण सुरू गरेको बारे सञ्चारमाध्यहरूले उल्लेख गरेको भएपनी इजरायलले शनिबार अपराह्नसम्म त्यसबारेमा कुनैपनि आधिकारिक विवरण सार्वजनिक गरेको थिएन।

गाजामा इजरायलले सुरू गरेको आक्रमणलाई हमास-इजरायल लडाइँको तीन साता यताकै भयानक भनिएको छ। इजरायली सैनिक जमिनबाटै प्रवेश गरेपछि गाजाका नागरिकहरू थप आतंकित भएका छन्।

अन्तर्राष्ट्रिय संघ संस्थाहरूले गाजाका नागरिकहरूको मानवअधिकार हनन भएको बताउँदै युद्ध रोक्न आह्वान गरेपनि इजरायलले गाजामाथिको आक्रमण रोकेको छैन झन् बढाएको छ।

इजरायल-हमास युद्धको तीन साता बितिसक्दा गाजामा साढे सात हजार मानिसहरू मारिएका छन्। इजरायलले जमिनबाट आक्रमण सुरू गरेयता मात्रै ३७७ नागरिक मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै एपीले लेखेको छ।

गाजामा अहिलेसम्म मारिएका मध्ये  करिब ३ हजार महिला र बालबालिका मात्रै रहेको बताइएको छ।

हमासले गरेको आक्रमणमा इजरायलमा १ हजार ४ सय जनाको मृत्यु भएको थियो। हमासले २ सय जनाभन्दा बढीलाई इजरायलबाट बन्धक बनाएको बताइएको छ।

नेतन्याहुले इजरायलीको अस्तित्व जोगाउन र बन्धकमा परेकालाई छुटाउन हमासमाथि आक्रमण जारी राख्ने बताएका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: