Loktantra Khabar National Weekly
Ad

इजरायलको खुँखार जासुस संयन्त्र छिचोल्दै हमासको आश्चर्यजनक हमला

लोकतन्त्र खबर
२२ आश्विन २०८०

काठमाडौं  असोज २२, यहुदी धर्ममा हप्ताको सातौं दिन अर्थात् शनिबार विश्रामको दिन हुन्छ । अझ यसपटक त यहुदीहरूको पवित्र धार्मिक चाड पनि थियो । परिवारसँग चाड मनाउने तयारी गरिरहँदा इजरायली आकाशमा अप्रत्याशित रूपमा रकेटहरू देखापरे । अझ भनौं, हमला सुरु हुँदा धेरै इजरायली निद्रामा थिए ।

इजरायलले वर्षौंदेखि आफ्नो रक्षा संयन्त्र गाजा क्षेत्रमा केन्द्रित गरेको छ । ऊसँग विश्वकै खतरा जासुसी संयन्त्र मोसाद छ भने रकेट रोक्नका लागि अत्याधुनिक प्रविधि । विभिन्न तनाव, टकराव र द्वन्द्वकाबीच इजरायल सुरक्षित रहेको धेरैको विश्लेषण थियो ।

तर हमासले बिजुली गतिमा कसैले नसोचेको हमला गरेपछि इजरायली सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न उठेका छन् । उसको सैन्य रणनीतिमा राम्रै त्रुटि रहेको व्यवहारले नै पुष्टि गरेको छ ।

खुँखार जासुसी संयन्त्र सहितको अत्याधुनिक प्रतिरक्षा प्रणालीलाई चक्मा खुवाउने गरी हमासले गरेको हमलामा ६ सय बढी इजरायलीको ज्यान गइसकेको छ ।

हमासको सैन्य तयारी

मिसाइल आक्रमणलाई निष्प्रभावी बनाउने इजरायली रक्षा प्रणालीले समेत हमासको रकेट हमलालाई रोक्न सकेन । इजरायललाई तर्साउन परेमा हमासले बेलाबखत इजरायली आकाशमा रकेट छोड्थ्यो । यसपटक उसले पाँच हजारभन्दा बढी सङ्ख्यामा रकेट प्रहार गर्‍यो । हमासको आक्रमणको रणनीति हेर्दा उसले लामै समयदेखि योजना बनाइरहेको प्रस्ट हुने विज्ञहरू बताउँछन् ।

आकाशमा रकेट पड्किरहेको समयमा हमासका सशस्त्र सेना गाजामा इजरायलले लगाएको तारबार तथा पर्खाललाई तोड्दै भित्र छिरेको दृश्यहरूमा देख्न सकिन्छ ।

इजरायलको घरेलु गुप्तचर निकाय सीन बेट, बाह्य गुप्तचर निकाय मोसाद तथा इजरेली रक्षा बलहरूको शक्ति एवं संयुक्त प्रयासले यसलाई रोक्न सकेन ।

सीमामा हुनसक्ने संभावित टकराव र भिडन्तलाई मध्येनजर गर्दै इजरायलले उसको नियन्त्रणमा रहेको गाजामा सेन्सर तथा क्यामेरा लगाएको छ । तर केही घण्टामै त्यस्ता प्रविधिले समेत सुइँको नपाउनेगरी हमासका लडाकु बाक्लो सङ्ख्यामा इजरायली भूमिमा प्रवेश गरे । केही हमास लडाकु प्याराग्लाइडरबाट पसेको दृश्य पनि सार्वजनिक भएका छन् । इजरायली रक्षा बलले त्यसरी प्रवेश गर्न खोजेका हमासका दुई लडाकुलाई छिर्न नदिइएको दाबी गरेको छ ।

इजरायली सेनाको प्रयासका बाबजदुत हमास इजरायली इलाकाभित्रै प्रवेश गरेर हमला गरेको हो । हमासका लडाकु इजरायलीले लगाएको तारबारलाई काटेर मोटरसाइकलमा भित्र छिरेको दृश्य पनि सार्वजनिक भएका छन् । पाँच वटा मोटरसाइकलमा हमास लडाकु भित्र छिरेको केहीबेरमा त्यहाँ डोजरले तारबार भत्काएको थियो ।

त्यहाँबाट प्रवेश गरिसकेपछि बुलेटप्रुफ ज्याकेट लगाएर आठ जना हमासका लडाकु इजरायली सैनिकतर्फ अघि बढ्छन् र इजरायली सैनिकमाथि आक्रमण पनि गर्छन् । हमास लडाकुको आक्रमणको दृश्य हेर्दा उनीहरू तालिमप्राप्त देखिन्छन् ।

गाजा क्षेत्रमा सातवटा आधिकारिक क्रसिङ छन् । जसमा ६ वटा इजरायल र एउटा इजिप्टको नियन्त्रणमा छन् । केही घण्टामै हमासका लडाकु ६ वटै क्रसिङमा भेलमा हुन्छन् । हमासका लडाकुले गाजालाई पूर्ण रूपमा घेर्न सफल भएका देखिन्छन् । उनीहरूलाई धपाउनका लागि इजरायलले २७ स्थानबाट हमला जारी राखेको छ ।

रेइममको सांगीतिक महोत्समा सशस्त्र समूहले हमला गरेदा धेरै युवा हताहती भएका छन् । प्रत्यक्षदर्शीका अनुसार हमासका लडाकु हतियार लोड गरिएका गाडीमा तीव्र गतिमा हुँइकिँदै इजरायलीमाथि अन्धाधुन्द आक्रमण समेत गरिरहेका छन् ।

इजरायली सैनिक तथा नागरिक नियन्त्रणमा

हमासले इजारयली सैनिक तथा निहत्था नागरिकलाई नियन्त्रणमा लिएको छ । इजरायलका अनुसार हमासले १०० जना भन्दा बढीलाई अपहरण गरेको छ ।

हमासले इजरायली सैनिक तथा नागरिकलाई नियन्त्रणमा लिएको दृश्य पनि देख्न सकिन्छ । इजरायली आकाशमा रकेट देखिएको केही घण्टामै सयौँ इजरायलीले ज्यान गुमाए । हमासबाट यो तहको हमला कसैले पनि संभव सोचेका थिएनन् ।

इजरायली सेनालाई प्रतिरक्षाकालका लागि केही समय लागेको थियो । सो अवधिमा हमासले गाजामा आफ्नो दबदबा बढाइसकेको थियो । हमासको त्यो गतिको आक्रमणले इजरायल अचम्ममा परेको छ। अन्तर्राष्ट्रिय समुदायहरूले पनि अकल्पनीय भनेका छन् ।

इजरायलले वर्षौसम्म हमासको हमलालाई लिएर प्रश्न खेप्नुपर्नेछ । तर अहिलेको स्थिति बारे प्रधानमन्त्री बेन्जामिन नेतान्याह्युले प्रस्ट शब्दमा भनेका छन्, ‘हामी अहिले युद्धको स्थितिमा छौं ।’

युद्धका लागि हमासले रोजेको समय संयोग थियो वा नियोजित भन्ने पनि क्रमशः खुल्दै जाला । किनभने अरब र इजरायलबीच पहिलो युद्ध ६ अक्टोबर १९७३ मा भएको थियो, यो मिति इतिहास भइसक्यो । संयोग २०२३ को अक्टोबरमा युद्ध जारी छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: