Loktantra Khabar National Weekly
Ad

स्मार्टफोनको फिंगरप्रिन्टले काम गरेन ? यसरी समाधान गर्नुहोस्

लोकतन्त्र खबर
२१ आश्विन २०८०

स्मार्टफोनमा सेक्योरिटीका लागि हामी प्राय पासवर्ड तथा फिंगरप्रिन्ट लकको प्रयोग गर्दछौं । यसमध्ये फोनका डाटा सुरक्षित राख्नका लागि फिंगरप्रिन्ट लकलाई सबैभन्दा सुरक्षित तरिका मानिन्छ ।

यद्यपि फिंगरप्रिन्टबाट फोनलाई सबैभन्दा छिटो र सजिलोसँग अनलक पनि गर्न सकिन्छ तथापि कहिलेकाहीँ फोनको स्रक्रिनमा आफ्नो फिंगरप्रिन्ट राख्दा पनि काम नगर्ने समस्या आउँदछ ।

स्मार्टफोनको फिंगरप्रिन्ट स्क्यानरले राम्रोसँग काम नगर्दा फोन अनलक गर्न मुश्किल हुन्छ । त्यस्तो अवस्थामा फोनको फिंगरप्रिन्ट स्क्यानरको समस्या समाधान गर्नका लागि यी पाँचवटा ट्रिक उपयोगी हुन सक्दछन् :

1  स्क्रिन तथा फिंगरप्रिन्ट सेन्सरलाई सफा गर्नुहोस् : स्क्रिन तथा फिंगरप्रिन्ट सेन्सरलाई सफा गर्नका लागि एउटा माइक्रोफाइबर कपडाको प्रयोग गर्न सकिन्छ । यदि तपाईंको फोनमा पछाडिको भागमा फिंगरप्रिन्ट स्क्यानर छ र फोनमा खोल हालेको छ भने त्यसलाई हटाएर मात्रै फिंगरप्रिन्ट स्क्यान गर्नुहोस् । किनकि फोनकेा खोलले फिंगरप्रिन्ट सेन्सरलाई छेक्न सक्दछ ।

2  फिंगरप्रिन्टको स्थानलाई ख्याल गर्नुहोस् : कहिलेकाहीँ हामी हतारमा फिंगरप्रिन्ट स्क्यानरको छेउछाउमा आफ्नो औंला राख्दछौं, जुन सही तरिका होइन । यसो गर्दा स्क्यानरले सही ढंगले औंलाको औंठाछाप पत्ता लगाउन सक्दैन र जसका कारण फोन अनलक हुँदैन । त्यसैले फोनलाई फटाफट अनलक गर्नका लागि औंलालाई सही तरिकाले स्मार्टफोनको फिंगरप्रिन्ट स्क्यानरमा राख्नुहोस् । त्यसो गर्दा आफ्नो औंला सफा तथा स्थिर पनि हुनुपर्दछ । औंलालाई धेरै दबाउने कोसिस पनि नगर्नुहोस् । यदि स्क्यानरले तपाईंको फिंगरप्रिन्ट पहिचान गर्नमा पटक पटक समस्या आएको छ भने त्यो तपाइँले आफ्नो फिंगरप्रिन्ट सही तरिकाले सेट नगरेकाले हुनसक्छ । त्यस्तोमा तपाईंले फोनको फिंगरप्रिन्ट सेटिंग्समा गएर पुनः आफ्नो फिंगरप्रिन्ट लक सेट गर्न सक्नुहुन्छ ।

3  वैकल्पिक फिंगरप्रिन्ट सेट गर्नुहोस् : कुनै कुनै मोडलका स्मार्टफोनहरुमा दुई वा सोभन्दा धेरै फिंगरप्रिन्ट सेट गर्न सकिने सुविधा हुन्छ । यस्तोमा तपाईंले फिंगरप्रिन्ट सेट गर्दा वैकल्पिक औंलाको औठाछाप पनि राख्न सक्नुहुन्छ ।

4  आफ्नो फोनको अपरेटिङ सिस्टम तथा सेक्योरिटी प्याचलाई अपडेट गर्नुहोस् । किनकि कहिलेकाहीँ सफ्टवेयर अपडेट गर्दापनि फिंगरप्रिन्ट सेन्सरमा देखिएका कतिपय सामान्य समस्याहरु समाधान हुन सक्दछन् ।

5  आफ्नो फोनलाई रि-बूट गर्नुहोस् : यदि फिंगरप्रिन्ट स्क्यानरले काम गरिरहेको छैन र माथि उल्लेखित सबै उपायहरु अपनाउँदा पनि समस्या समाधान भएन भने तपाईंले आफ्नो फोनलाई रि-बूट गर्न सक्नुहुन्छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: